• १३ साउन २०८१, आइतबार

सडक खाली गराउने अभियान

blog

जलेश्वर समाचारदाता 

जलेश्वर, भदौ २७ गते । मनरासिस्वा नगरपालिकाले नगर क्षेत्रभित्र रहेको सडकमा सहज आवागमन बनाउन सडक खाली गराउने अभियान चलाएको छ। स्थानीयले सडकमा जथाभावी सरसामान थुपार्नुका साथै घरपालुवा जनावरसमेत सडकमै बाँध्ने गर्नाले आवागमनमा कठिनाइ हुँदै आएको गुनासोपछि नगरप्रमुख मोहन पाण्डेयको नेतृत्वमा सडक खाली गराउने अभियान सुरु गरिएको हो। नगरपालिकाले एक साताअघि सार्वजनिक सूचना जारी गरी नगर क्षेत्रभित्रका सडक खाली गर्न गराउन अनुरोध गरेका थिए।

नगरपालिकाको सूचनाको अटेर गरी स्थानीयले सडक खाली नगरेपछि नगरप्रमुख पाण्डेयले नगरपालिकाको १० जना कर्मचारी, सम्बन्धित वडाका वडा अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली बनाई सडक खाली गराउने अभियान सुुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले बताउनुभयो। 

“सूचना प्रकाशनपछि कानुनको पालना बराबर किसिमले हुनुपर्छ, त्यसका लागि सम्पूर्ण नगरवासीलाई सडक खाली गरेर कानुनको पालना गर्नका लागि समय पनि दिइएको थियो।” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भन्नुभयो, “दिइएको समयमा स्थानीयले सडक खाली नगरेपछि नगर प्रमुख पाण्डेयको नेतृत्वमा भदौ २४ गतेदेखि नगरभरिका सार्वजनिक सडक खाली गराउने अभियान सुरु गरिएको छ।”

अधिकृत चौधरीका अनुसार अभियानअन्तर्गत नगरपालिका–६ सरपल्लोस्थित सम्पूर्ण सडक खाली गराइएको हो। सरपल्लो गाउँभरिको सडकमै थुपारिएर राखिएको घरायसी सरसामान, टायर गाडा, ट्याक्टर, पशु, ब्राखा, गाईबस्तु हटाई सडक खाली गराइएको अधिकृत चौधरीले बताउनुभयो। 

नगरपालिकाका दुईवटा ट्याक्टर, जेसीबी प्रयोग गरेर सडक मिचेर बनाइएको संरचना खाली गराउने काम पनि सँगसँगै भइरहेको उहाँले बताउनुभयो। १० वटा वडा रहेको मनरासिस्वा नगरपालिकामा प्रत्येक वडामा पहिलो चरणमा दुई दिने अभियान सुरु गरिएको जनाइएको छ। “यो अभियान हाम्रो नगरपालिकाभित्रको १० वटै वडामा सञ्चालन हुन्छ र एक पटक हटाइसकेका सामानलगायत गाईबस्तु फेरि दोहो¥याएर सडकमा राखेको पाइएमा त्यस्ता सामान र गाईबस्तु नगरपालिकाले जफत गर्नेछ,” मनरासिस्वा नगरपालिकाको नगरप्रमुख पाण्डेयले भन्नुभयो। उहाँले कानुनको पालना गर्दै नगरपालिकाभित्र रहेका सार्वजनिक सडकबाट आ–आफ्नो सरसामान टायर गाडा, ट्याक्टर, चार पाङ्ग्रे सवारीसाधन, पशु र पराल हटाएर सहयोग गर्न आग्रह गर्नुभयो। यो अभियान नियमित रूपमा सञ्चालन हुने नगरप्रमुख पाण्डेयले बताउनुभयो।