• १३ साउन २०८१, आइतबार

चिन्ताजनक रूपमा फैलिँदो डेङ्गु

blog

बर्दिबास समाचारदाता

बर्दिबास, भदौ २७ गते । बर्दिबासमा भाइरल ज्वरोपछि डेङ्गुको प्रकोप देखा परेको छ। ‘आडेस’ नामक लामखुट्टेको टोकाइबाट हुने डेङ्गुका बिरामी भदौ महिनादेखि चिन्ताजनक रूपमा बढ्न थालेको बर्दिबास अस्पतालले जनाएको छ। आइतबारसम्म १४ जनामा डेङ्गुको सङ्क्रमण देखा परेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णा महर्जनले जानकारी दिनुभयो। 

यसमध्ये गम्भीर प्रकृतिका तीन जना बिरामीलाई काठमाडौँ प्रेषण गरिएको छ। बर्दिबासको वडा नम्बर १, २ , ३ र ८ मा १३ जना र छिमेकी नगरपालिका औरही–७ की एक महिलामा सङ्क्रमण देखा परेको अस्पतालले जनाएको छ। डा. महर्जनका अनुसार बर्दिबासमा गत साउनमा दुई जनामा डेङ्गु देखा परेको थियो। डेङ्गु सङ्क्रमण भदौ तेस्रो सातासम्म बढेर १४ पुगेको छ। तीन साताभित्र उक्त सङ्ख्यामा बिरामी फेला पर्नु चिन्ताजनक भएको डा. महर्जनले बताउनुभयो। डेङ्गु पहिचान भएका ८ देखि ९१ वर्ष उमेर समूहका आठ पुरुष र छ महिला रहेको अस्पतालले जनाएको छ। निजी अस्पतालमा पनि डेङ्गुका बिरामी फेला परेका छन्। बर्दिबासको शुभस्वस्तिक अस्पतालका ल्याब प्रमुख मेघबहादुर खपाङ्गीका अनुसार छिमेकी धनुषा जिल्लास्थित मिथिला नगरपालिका–६ की एक ४० वर्षीया महिलामा डेङ्गु पहिचान गरिएको छ। योसमेत बर्दिबासमा पहिचान भएको डेङ्गु सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ। 

नगर क्षेत्रमा डेङ्गुको प्रकोप बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सुरक्षा, सतर्कता र सचेतना कार्यक्रम सञ्चालन गरेको छ। नगरप्रमुख प्रह्लाद क्षेत्रीले सबै वडामा लामखुट्टेविरुद्धको औषधि छर्न सुरु गरिएको जानकारी दिनुभयो। नगरका १४ वटै वडाध्यक्षको संयोजकत्वमा डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान नष्ट गर्न र घर, सडक, सार्वजनिक स्थलमा सफाइ कार्यक्रमलाई अभियानका रूपमा लागू गरिएको छ। नगरप्रमुख क्षेत्री आफैँ र उपप्रमुख तारादेवी महतो पनि झाडु समाएर नगर सफाइ गर्न अघि सर्नुभएको छ। 

२०७४ सालको असोज तेस्रो साता बर्दिबासमा पहिलो पल्ट देखा परेको डेङ्गुबाट एक महिनाको अवधिमा आठ सय ४७ जना सङ्क्रमित भएका थिए। त्यसयता हरेक वर्ष बर्दिबास क्षेत्रमा डेङ्गुको साना ठूला प्रकोप देखा पर्दै आएका छन्। स्वास्थ्यकर्मीका अनुसार भौगोलिक रूपले धनुषा र सर्लाहीसँग जोडिएको बर्दिबास यो वर्ष पनि डेङ्गुको ‘उच्च जोखिम’ मा रहेको छ। नगरपालिकाका जनस्वास्थ्य प्रमुख सुरेश पासवानले सानो लापरबाहीले पनि प्रकोप बढ्ने हुँदा यसप्रति सबै सचेत रहनुपर्ने बताउनुभयो।