• ११ असोज २०८१, शुक्रबार

एकै दिन करेन्ट लागेर ३ जनाको मृत्यु, तत्काल तार व्यवस्थित गर्न प्राधिकरणलाई निर्देशन

blog

जिल्ला प्रशासन कार्यालय झापाको कार्यालय भवन ।

दमक, भदौ २७ गते । झापामा विद्युतीय तथा अन्य विभिन्न अव्यवस्थित तारले मानवीय तथा भौतिक क्षतिहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय झापाले यसलाई व्यवस्थित गर्नका लागि बिद्युत प्राधिकरणका कार्यालयहरूलाई निर्देशन दिएको छ । शनिबार एकै दिन करेन्ट लागेर झापामा ३ जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय झापाले यस्तो निर्देशन दिएको पाइएको छ ।

विगत केही दिनदेखि झापा जिल्लाका विभिन्न स्थानहरूमा बिजुलीको करेन्ट लागेर दुर्घटना हुँदा दैनिक रूपमा मानिसहरूको मृत्यु भइरहेको घटनाप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख जिल्ला अधिकारी छवि रिजालले भन्नुभएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न सरोकारवाला सबै पक्षलाई आग्रह पनि गरेको छ ।

भवन तथा अन्य संरचनाहरू निर्माण गर्दा कामदारहरूले सावधानी नअपनाउने, खुल्ला रूपमा रहेका बिजुलीका नाङ्गा तारहरू, विद्युतीय उपकरणहरूको असावधानीपूर्ण प्रयोग, खोलानाला तथा नहरहरूमा करेन्ट लगाई माछा मार्ने चलन एवं लत्रिएका तारहरूको व्यवस्थापन उचित नहुनु जस्ता कुराहरू यस्तो दुर्घटनाका मुख्य कारणहरू देखिएका छन्, प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।

लत्रिएका तारहरूलाई नेपाल विद्युत् प्राधिकरणका सम्बन्धित कार्यालयले यथाशीघ्र उचित व्यवस्थापन गर्न जिल्लास्थित सबै विद्युत् प्राधिकरणका युनिटहरूलाई भनिएको छ, रिजालले भन्नुभयो ।  करेन्टको प्रयोग गरी माछा मार्ने, भवन लगायतका संरचनाहरू निर्माण गर्दा कमसल विद्युतीय सामग्रीको प्रयोग गर्ने, विद्युतीय उपकरणहरूको प्रयोग गर्दा सावधानी नअपनाउने जस्ता कार्यलाई सम्बद्ध सबै निकायबाट निषेध गर्दै जानुपर्ने देखिन्छ, आइतबार जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर निर्देशन गरेको छ ।

यस प्रकारका कार्यहरू हुन नदिन जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू, सम्बन्धित स्थानीय तह, स्थानीय तहका वडा समितिहरू, टोल विकास संस्था, सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील गैरसरकारी सङ्घ/संस्थाहरू, नागरिक समाज, पत्रकार, बुद्धिजीवी, समाजसेवी सबैको तर्फबाट निगरानी गर्ने र सचेतना बढाउने कार्यका लागि अनुरोध गरिएको पनि रिजालले बताउनु भयो ।

झापाको मेचीनगर नगरपालिका, बुद्ध शान्ति र हाल्दिबारी गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा ३ जनाको मृत्यु भएको थियो । यसै साता बिर्तामोड नगरपालिकाको चार पानेमा लत्रिएको तारमा परेर दुर्घटना हुँदा केही मानिसहरू गम्भीर घाइते बनेर अस्पताल भर्ना हुनु भएको थियो ।

Author

विष्णुप्रसाद पोखरेल