• १३ साउन २०८१, आइतबार

बाल विकासमा अभिभावक शिक्षा

blog

मानवको गर्भावस्थादेखि आठ वर्षसम्मको समय बालविकास उमेर हो। यो अवस्था मानव विकासको जग निर्माण हुने संवेदनशील र महत्त्वपूर्ण अवस्था हो। मानव जीवनका यी सुरुवाती वर्षमा बालबालिकाको मस्तिष्क निर्माण र बौद्धिक विकास तीव्र हुन्छ भन्ने तथ्य विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको छ। यो उमेरमा सिकेका र अनुभव गरेका आधारभूत ज्ञान, सीप, व्यवहार र बानी नै भावी जीवनका आधारशिलाका रूपमा स्थापित हुने गर्दछन्। व्यक्तित्व विकासको समग्र स्वरूप नै यही समयमा निर्धारण हुने भएकाले यस समयमा गरिने लगानी र पु-याइने हेरविचार मानव जीवनका लागि महत्त्वपूर्ण तथा यसको प्रतिफल उच्च हुने कुरा प्रमाणित भइसकेको छ। त्यसैले यस अवस्थामा उपयुक्त वातावरण दिन सकेमा बालबालिकाको सर्वाङ्गीण विकास समुचित ढङ्गले हुन्छ। अनि मात्र हरेक अभिभावकले आफ्ना सन्ततिका बारेमा देखेको सपना साकार हुन सक्छ। 

गर्भमा रहेको शिशुमा गर्भवती आमाको स्वास्थ्य, पोषण र मनोवैज्ञानिक अवस्थाको प्रत्यक्ष प्रभाव पर्ने भएकाले गर्भावस्थामा पोसिलो खाना, यथेष्ट आराम, बेलाबेला गर्भ जाँच र खोप, हौसला र आत्मबल वृद्धि हुने किसिमको व्यवहार र मानसिक तनावबाट पूर्णतया मुक्तिको सुनिश्चित अपरिहार्य हुन्छ। शिशु जन्मिएपछि सुत्केरी आमालाई पर्याप्त पोसिलो खाना दिने एवं नवजात शिशुको सरसफाइ, खोप आदिमा विशेष ध्यान दिनु आवश्यक हुन्छ। 

तीव्र वृद्धि हुँदै गरेको शिशु छ महिनाको भएपछि आमाको दूधले मात्र नपुग्ने हुँदा उसलाई पूरक खानाको आवश्यक पर्छ। यसका लागि सबै पोषक तत्व मिलाएर पूरक खाना तयार गर्ने र खुवाउने व्यवस्था गर्नुपर्छ। जब शिशु ठूलो हुँदै जान्छ उसका लागि शारीरिक विकास र मनोरञ्जनमा प्रत्यक्ष उपयोगी हुने खालका खेलौना र खेल सामग्रीको व्यवस्था गरिदिने तथा दुर्घटना र खतराबाट बचावटका उपाय क्रमशः सुझाउँदै जानुपर्छ। यस बेलादेखि नै उसको शारीरिक, बौद्धिक, सामाजिक र संवेगात्मक पक्षको विकास प्रक्रियालाई समष्टिगत र सन्तुलित रूपमा सँगसँगै लैजानुपर्ने हुन्छ, जसलाई सर्वाङ्गीण विकास भनिन्छ। 

चार वर्ष पूरा भएपछि बाल विकास केन्द्र÷ पूर्वप्राथमिक कक्षामा भर्ना गराउनुपर्छ। घरमा हेरविचार, विकास र सिकाइसम्बन्धी उपयुक्त प्रबन्ध गर्न नसकिने अवस्थामा चार वर्षमुनिका बालबालिकालाई पनि शिशु विकास केन्द्रमा राख्न सकिन्छ। 

प्रारम्भिक बालविकाससम्बन्धी हकलाई नेपालको संविधानले नै मौलिक हकका रूपमा अङ्गीकार गरेको छ। यसलाई कार्यान्वयन गर्न बनेको बालबालिकासम्बन्धी ऐन,२०७५ र निःशुल्क तथा अनिवार्य शिक्षासम्बन्धी ऐन,२०७५ ले प्रारम्भिक बालविकास र शिक्षालाई विद्यालय शिक्षाको जगको रूपमा लिइन्छ। त्यस्तै चालू पन्ध्रौँ योजना र विद्यालय शिक्षासम्बन्धी क्षेत्रगत योजनाले पनि प्रारम्भिक बालविकास र शिक्षालाई महìवपूर्ण अवयवका रूपमा समेटेका छन्। 

बालबालिकाको विकास र सिकाइका दृष्टिले घर पहिलो विद्यालय र अभिभावक पहिलो गुरु हुन्। त्यसैले अभिभावकमा बालबालिकाको सर्वाङ्गीण विकास बारेको आधारभूत जानकारी र निभाउनुपर्ने भूमिका हुन्छ। उनीहरूको क्षमता विकास तथा सचेतना अभिवृद्धि गर्न आवश्यक हुन्छ। बालबालिकाको पालनपोषण, स्याहारसुसार, सरसफाइ, सुरक्षा, स्वास्थ्य, उत्प्रेरणा र सिकाइ आदिका माध्यमबाट बालबालिकाको विकासमा ध्यान दिनुपर्ने कुरा र खेल्नुपर्ने भूमिकाबारे अभिभावकको क्षमता अभिवृद्धिका लागि दिइने शिक्षा नै अभिभावक शिक्षा हो। यो नागरिक शिक्षाको एक अभिन्न अङ्ग हो। सक्षम र सचेत नागरिक बन्न नागरिक शिक्षा भएजस्तै सक्षम र सचेत अभिभावक बन्न अभिभावक शिक्षा आवश्यक हुन्छ। प्रारम्भिक बालविकास बहुआयामिक र अन्तरसम्बन्धित विषय हो। यससम्बन्धी सञ्चालन हुने कार्यक्रम र प्रवाह गरिने सेवा विभिन्न निकायसँग सम्बन्धित हुने भएकाले यससँग सम्बन्धित अभिभावक सशक्तीकरणका विभिन्न कार्यक्रम, विभिन्न सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाबाट कुनै न कुनै रूपमा हुँदै आएका छन्। यसमा रेडियो, टेलिभिजन, पत्रपत्रिका जस्ता सञ्चारमाध्यम र विभिन्न मुद्रित सामग्रीका माध्यमबाट अभिभावकको चेतना अभिवृद्धि गर्ने काम पनि भएका छन्। गर्भावस्थाको स्याहार, जन्मपछि पोषण, सरसफाइ, सुरक्षा, सिकाइ र सर्वाङ्गीण विकाससम्बन्धी समष्टिगत विषयवस्तु समावेश गरी एकीकृत रूपमा अभिभावक शिक्षा कार्यक्रमका नामबाट समुदायस्तरमा नै अभिमुखीकरण गर्ने कार्यक्रम तत्कालीन शिक्षा विभागबाट सुरु भएको हो। 

विभिन्न गैरसरकारी सङ्घसंस्थासँगको सहयोग तथा सहकार्यमा मुलुकका विभिन्न जिल्लामा अभिभावक शिक्षाका कक्षा सञ्चालन हुँदै आएका छन्। यससम्बन्धी तालिम सामग्री, सन्दर्भ सामग्री विकास र सामयिक परिमार्जन तथा प्रकाशन हुँदै आएका छन्। बालबालिकाको सर्वाङ्गीण विकास र अभिभावकको जीवनस्तर उकास्नसमेत उपयोगी हुने अभिभावक शिक्षाले अपेक्षित रूपमा व्यापकता र निरन्तरता पाउन भने सकेको देखिँदैन।

शिक्षा र सचेतनाका दृष्टिले विविधतापूर्ण रहेको हाम्रो समाजमा अझ त्यसमा पनि ग्रामीण क्षेत्रका र निरक्षर अभिभावकमा प्रारम्भिक उमेरका बालबालिकाको विभिन्न विकासात्मक चरणका सिकाइ र विकास सम्बन्धमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा अझै यथोचित जानकारी रहेको पाइँदैन भने शिक्षित अभिभावकमा पनि यस बारेको पर्याप्त र सही जानकारी भएको पाइँदैन। जसले बालबालिकाको विकास र सिकाइको बारेमा अभिभावकमा सही बुझाइ र सही गराइ हुन नसक्दा बालबालिकामा अन्तरनिहित प्रतिभा र सम्भावनाको समुचित ढङ्गले पहिचान, प्रस्फुटन र विकास हुन सकेको देखिँदैन। यसमा बालविकाससम्बन्धी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्नु, यससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने विभिन्न सरकारी निकाय र गैरसरकारी सङ्घसंस्थाबीच आवश्यक समन्वय नहुनु, यो विषय कुनै पनि तहका सरकारी निकायको प्राथमिकतामा नपर्नु, व्यापक रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने तर सोका लागि आवश्यक स्रोतसाधनको अभाव हुनुजस्ता समस्या छन्। 

साथै स्थानीय स्रोतसाधनको पहिचान र उपयोग हुन नसक्नु, गैरसरकारी सङ्घसंस्था सहरी क्षेत्र र सुगम ठाउँमा केन्द्रित हुन खोज्नु र सरोकारवालामा यसको महìवबोध गराउन नसक्नु पनि चुनौतीका रूपमा रहेका छन्। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सबल र सक्षम जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो। यसका लागि गर्भावस्थादेखि नै उचित स्याहार र जन्मपछि विकास तथा सिकाइको समुचित अवसर प्रदान गरी सर्वाङ्गीण विकासमा माध्यमबाट व्यक्तिमा अन्तरनिहित प्रतिभा र सम्भावनाको प्रस्फुटन हुने समुचित वातावरण प्रदान गर्नुपर्छ। यस अवस्थामा घरपरिवार र अभिभावकको महìवपूर्ण भूमिका रहने भएकाले अभिभावक शिक्षालाई व्यापक र निरन्तर रूपमा सञ्चालन गर्नुपर्छ। यसका लागि सर्वप्रथम प्रारम्भिक बालविकास राष्ट्रिय रणनीतिले परिकल्पना गरेका कानुनी एवं संरचागत व्यवस्था क्रियाशील एवं प्रभावकारी बनाउनुपर्छ। यसमा स्थानीय तहको भूमिका नै अग्रणी हुने भएकाले प्रत्येक स्थानीय तहले अभिभावक शिक्षा कार्यक्रमका लागि नियमित रूपमा निश्चित बजेटको व्यवस्था गर्ने, स्थानीय तहका विभिन्न महाशाखा÷शाखाबाट सञ्चालन हुने अभिभावक शिक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा सम्बन्धित कार्यक्रमलाई एकद्वार प्रणालीबाट सञ्चालन, अनुगमन र नियमनको व्यवस्था गर्नुपर्छ। नागरिक सशक्तीकरण र शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी सङ्घसंस्थालाई पनि आ–आफ्नो कार्यक्षेत्रमा निश्चित साधन र स्रोत अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा लगानी गर्न लगाउने तथा आवश्यक समन्वय, सहयोग र सहजीकरण पनि गर्नुपर्छ। 

त्यस्तै सञ्चारमाध्यम सहकारी र निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वअन्तर्गत अभिभावक शिक्षाका लागि केही साधन, स्रोत, जनशक्ति र प्रविधिको उपयोग गर्न प्रोत्साहन गर्ने, माध्यमिक तहमा शिक्षा र स्वास्थ्य शारीरिक ऐच्छिक विषय लिई अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कार्यका रूपमा अभिभावक शिक्षा कार्यक्रमको निश्चित अवधिको कक्षा सञ्चालनमा लगाउने, स्थानीयस्तरमा सञ्चालन भएका पुस्तकालय, वाचनालय र सामुदायिक सिकाइ केन्द्रमार्फत अभिभावक शिक्षाका सामग्री सर्वसाधारणको पहुँचमा पु¥याउने, आमा समूह, कृषक समूहलगायत सामुदायिक सङ्घसंस्था र सेवानिवृत्त राष्ट्रसेवकलाई अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा स्वयंसेवा गर्न प्रोत्साहन गरेर अभिभावक शिक्षालाई व्यापक रूपमा सञ्चालन गर्न सकिन्छ। यसबाट बालबालिकाको सर्वाङ्गीण विकास, अभिभावकको जीवनस्तरमा सुधार र अन्ततः राष्ट्रिय समृद्धिमा नै टेवा पुग्नेछ।