यसपालिको पितृपक्ष सोह्रश्राद्ध आजबाट सुरु हुँदैछ। तिथि घटबढका कारण सुरुको दिन नै प्रतिपदा र द्वितीया श्राद्ध एकै दिन परेको छ। छोरा हुनेले यसपालि परेको त्रयोदशी भनौँ असोज ७ गते गरिने श्राद्ध अन्य दिनमा गर्नुपर्ने हुन्छ, छोरा हुनेले मघा नक्षत्रमा श्राद्ध गर्नु हुन्न। ८ गते शनिबार चतुर्दशी श्राद्ध पनि शस्त्रहरूबाट दिवङ्गत हुनेहरूका लागि मात्र हो, अरूको सो दिन श्राद्ध गरिँदैन । दिवङ्गत सबै पितृको उद्देश्य राखेर पिण्डदान गर्ने पर्व नै सोह्र श्राद्ध हो। सूर्य कन्याराशिमा प्रवेश गर्दा यो पर्व हुन्छ भने कन्या राशिमा सूर्य सरेको बखत दिवङ्गत पितृहरूलाई पिण्डदान नगर्ने पुत्र पापी हुन्, कृतध्न हुन् भनेर शास्त्रले बताएको छ।
सूर्ये कन्या गते श्राद्धं यो न कूर्यात् गृहाश्रमी।
धनपुत्राः कुतस्तस्य पितृनिश्वास पीडनात्।
अर्थात् गृहस्थी भएर आश्विनको पितृपक्षमा श्राद्ध नगर्ने, उसका धन र सम्पत्ति, वैभव एवं उसका सन्तति निरर्थक हुन्छन्, पितृहरूको श्वासप्रश्वास रोकेर उनीहरूलाई हुने पीडाले परिवारको भरणपोषण मात्र खोज्नु राम्रो हुँदैन। यो १५ दिनको पक्षभित्र जहिले श्राद्ध गरे पनि हुन्छ किन्तु बाबुको या नसके बाजेको तिथि पारी महालय श्राद्ध गर्नुपर्छ।
सूतक, जूठो वा असर्धो समय परे एकादशी या औँसीमा गरिनुपर्छ। रोकिएकाले नगर्ने भन्ने होइन, यो १५ दिन नै रोकिएमा लक्ष्मीपूजाको औँसीमा गर्ने गरेको पनि पाइन्छ। यसमा खासगरी स्वाहा स्वधा दुवैको आवाहन गरिन्छ। देवऋषिहरू, पितृऋषिहरू स्थापना गरी स्वाहा र स्वधा मंत्रले पूजा गरिन्छ। एकातिर जनै सव्य गरेर सांहिली औंलाले पूजा गरिन्छ भने अर्कोतिर अपसव्य, चोरी औँलाले पूजा गरिन्छ। दिवङ्गत सबैजसोका लागि पिण्ड दिइन्छ। कसैले १६ वटा पिण्ड पु¥याउँछन् भने कसैको सोभन्दा बढी हुन्छ भने कसैले छवटा मात्र दिने गरेको पनि देखिन्छ, यो चलनको कुरा हो।
श्राद्ध के हो ? किन गरिन्छ ? कसरी गरिन्छ ? कहिले गरिन्छ ? यी मूल प्रश्न छन् हाम्रासामु। आश्विन कृष्णपक्ष पूरै १५ दिन पितृपक्ष हो। यसलाई सोह्रश्राद्ध भनिन्छ। पूर्णिमासमेतको गिन्तीले यो १६ दिनको भए पनि वास्तवमा १६ सोह्रै दिन पूरा हुन्न। चतुर्दशी, मघायुक्तका कारण यो जम्माजम्मी १३ दिनको हुन्छ र एकदिन मघायुक्त तिथि पर्नाले छोरा हुनेले पितृपक्ष भए पनि त्यो दिन पिण्डदान गर्दैनन्। मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति। अर्थात् मघामा पिण्डदान गर्नाले जेठो छोरोलाई हानि हुन्छ। छोरा हुनेले मघातिथिको साटो अन्यतिथि खोजी सोह्र श्राद्ध गर्छन् वा औँसी, एकादशीमा गर्छन् वा सिदा तर्पणबाटै विसर्जन गर्छन् पितृहरूलाई।
श्राद्धको परिचय गर्नु पर्दा मूलतः श्राद्ध भनेको श्रद्धा नै हो। आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरू प्रतिको समर्पणभाव र उनीहरू प्रतिको दयाभाव हो। आफ्ना पिता, माता र पुर्खा बिना यस धर्तीमा उदय असम्भव भएको र उनीहरूकै प्रेरणा पाएर, उनीहरूकै लालन, पालन, उचित शिक्षाको प्रबन्ध भएरै सन्ततिले प्रगति गरेका हुन्छन्। इतिहास र पूर्वजको संस्मरण बिना आजको सुख र भविष्यको समुन्नत समृद्धिको कल्पना निरर्थक हुन्छ।
दिवङ्गत पितृहरूले जीवमा ८४ लाखमध्ये कुनै न कुनै प्राणीमा उनीहरूले देह धारण गरेका हुन्छन् र तत्तत् योनिका खाना पाएर आआफ्ना दिवंगत पितृ तृप्त हुन्छन् र देवत्वमा प्राप्त गरेका पितृहरूले पनि आफ्नो सन्ततिबाट पठाइएका विषय अमृतको रूपमा ग्रहण गर्छन्। त्यसैले समय र स्थान विशेष परिवर्तन र वातावरण अनुकूल नभएकै कारण देखाई पुत्रहरूले पितृप्रति गरिने कर्म लोप गर्न मिल्दैन। आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ।
अघिल्लो दिन एकभक्तिमा बसेर, श्राद्धको दिन सर्वप्रथम तर्पणको आरम्भ गरिन्छ। पु नामक नरकबाट तार्नेको नाम पुत्र भएकाले भावी र विगतका पिँढीहरूका लागि छोराको कर्तव्य किञ्चित् बढी तोकिएको छ। लालना, पालना र कर्मको खातिर बाबुले, आमाले गरेको अथक प्रयास र सो ऋणत्राट चुक्ता हुने गतिलो साधन भनेको वर्षभरि मरेका पितृहरूका नाममा गरिने तर्पण नै हो। शास्त्रीयप्रमाण खासगरी ब्रह्मपुराण, नारदपुराण, भविष्यपुराण, हेमाद्री, मनुस्मृति याज्ञबल्क्य आदि र अन्य संहितालाई आधार बनाएर तर्पणको क्रममा हरेक बिहान तर्पण सम्भव नदेखिँदा हिजोआज एकैदिन श्राद्धकै दिन अघि वा पछाडि गर्ने चलन छ। जौ तिल कुशले प्रतिज्ञा गरी जलदान गर्ने काम नै तर्पण हो। यसमा सर्वप्रथम ब्रह्मादि तीन देवतालाई जनै सव्यले जलदान गरिन्छ।
पूर्व फर्केर प्रजापति, देव, ऋषि, गन्धर्व, देवी, अप्सरा, नाग, यक्ष, पिशाच, भूत, पशु, मनुष्य, वनस्पति, औषधि, अत्रि, मरीचि, आदि ऋषिहरू, भृगु, वशिष्ठ सबैलाई तिल कुशले जलदान गरिन्छ। त्यसपछि जनैलाई माला लगाएर दुई–दुईपटक सात मनुष्य र पितृहरूलाई जलदान गरिन्छ। पछि अपसव्य भएर खगौतोबाट मोटक, तिलसहित दिव्य पितृहरूलाई तर्पण गरिन्छ। त्यसपछि आफ्ना पिता पुर्खा, मावली, बन्धुबान्धवलगायत दिवङ्गत सबै पितृलाई तर्पणदान गरिन्छ। सन्तति नभएर पिण्ड पानी नपाउनेका लागि पछाडि छुट्टै तर्पण गरिन्छ, जनैलाई जलमा चोपेर। पिशाचले खान पाउने जल भनेको स्नान गर्दा लगाएको कपडा निचोरेको जल हो। जनै निचरेर दिनु भनेको सङ्केत त्यही हो। पछि सूर्यलाई अध्र्य दिई दसै दिशा नमस्कारपश्चात् तर्पणको विधि पूरा हुन्छ।
हाम्रो ३६५ दिनको एक वर्ष हुन्छ भने पितृहरूको हाम्रो हुने एक वर्ष उनीहरूको एकदिन हो। त्यसैले दिनदिनै पुत्रसन्ततिबाट उनीहरूको आत्मा तृप्त हुने विश्वासअनुरूप हरेक वर्ष दिवङ्गत भएको तिथि पारेर निष्ठापूर्वक एउटा उद्देश्य लिएर गरिने श्राद्ध भने एकोद्विष्टश्राद्ध हो। पितृपक्षमा एकोद्विष्ट पर्न गए एकापार्वणको रूपमा श्राद्ध गरिन्छ भने देवब्राह्मण र पितृब्राह्मण स्थापना गरी एकोद्विष्ट श्राद्ध एकापार्वणको विधिले सम्पन्न गर्नुपर्ने हुन्छ।
देवता खुसी हुन्छन्, भक्तिभावले, आँसुभाव, समर्पणभाबाट देवता खुसी पार्ने माध्यम हो। भजन किर्तन, पुकार आदिमा शब्दको ख्याल नगर्दा पनि हुन्छ। यतिबेला जसले जसरी जान्दछ, सक्दछ उसैगरी पुकार गर्दा हुन्छ भने पितृभावमा यति सजिलो छैन। वाक्यशुद्धि हुनुपर्छ, वचन, विभक्ति, कारक, पुरुष, सबै मिल्नु पर्छ। पितृहरूले आफूले दिएको वस्तु प्राप्त गर्न वाक्यशुद्धि हुनु जरुरी हुन्छ, अन्यथा कर्म निस्फल हुन्छ। एउटै पितृको उद्देश्यमा एकोद्विष्ट हुन्छ भने यसको समय पनि निर्धारण गरिएको छ। एकोद्विष्ट श्राद्ध मध्याह्न कालमा गर्नुपर्ने हुन्छ।
श्राद्धकर्ताको पत्नीको हातबाट तयार गरिएको पिण्डदान गर्नाले एक वर्षसम्म पितृहरू खुसी रहन्छन्। त्यसैले कुलाचारअनुसार विवाह गरेर सोअनुसार सन्तति प्राप्त गर्नुपर्ने भनिएको हो। त्रेतायुगमा स्वयं श्रीरामले वनवासमा आफ्ना पिता दशरथको देहान्तको खबर सुनेर बालुवाकै भए पनि सर सामान सीताबाट तयार पारी श्रीरामले पिण्डदान गर्दा स्वयं दशरथ उपस्थित भई आफूले तृप्ति पाएको रामायणको भनाइ छ। मूल कुरा विश्वास र धारणाको कुरा हो। हाम्रो सभ्यता विश्वासमै अडेको छ र विश्वासकै कारण सूर्य, चन्द्र, धर्ती, आकाश, आदि सबै अडेका छन्। विभक्ति प्रयोग गर्दा आसनका लागि षष्ठी विभक्ति प्रयोग गरिन्छ भने आवाहनमा द्वितीया विभक्ति, अन्नदानमा चतुर्थी विभक्ति प्रयोग गरिन्छ।
हेमाद्रीमा उल्लेख भएअनुसार पितृश्राद्धको दिन पिण्डदान नभएसम्म हवनकार्य, योगीलाई अन्नदान, देवपूजा, ब्रह्मचारी तपस्वीलाई कुनै दान दिनु हुन्न भनौँ पितृकार्यबाहेकको अन्यकार्य पिण्डदान अघि निषेध छ। स्वलक्ष्यमा हुन्छन् पितृहरू त्यो लक्ष्य पूरा नभएसम्म अन्य क्रिया कर्म निषेध गरिएको हो।
पत्नी रजस्वला भए पिण्डदान (पार्वण) गर्न नहुने, पतीत व्यक्तिलाई आमन्त्रण गर्नु नहुने, अन्य गोत्रजहरूलाई पनि खासमा प्रसाद निषेध गरिएको, बन्धुवान्धव, इष्टभित्र, ज्वाइँ, भान्जा, असल पुरोहित आदि आमन्त्रण गरिएर गरिने यो पर्वमा धूमधाम बाजागाजा राखी घन्टशङ्ख आवाज र भीड भने गर्नु हुँदैन। पार्वण श्राद्ध खासगरी अपराह्न समयमा गरिन्छ। श्राद्धमा तुलसी, भृंगराज, सयपत्री, अगस्त्यपुष्प आदि ग्राह्य छन् र केतकी, करवीर, वकुल, कुन्दक र रातो अन्य पूmल निषेध छ।