• १३ साउन २०८१, आइतबार

मिर्गौला प्रत्यारोपणमा हुँदैछ स्वदेशकै भर

blog

नेपालमा मानव अङ्ग प्रत्यारोपणको इतिहास धेरै लामो छैन । सन् २००८ मा वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएपछि नियमित रूपमा अङ्ग प्रत्यारोपण हुन थालेको हो । वीर अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण भएपछि सरकारले मानव अङ्ग प्रत्यारोपण गर्ने उद्देश्यले भक्तपुरको दूधपाटीमा ‘मानव अङ्ग प्रत्यारोपण केन्द्र’ ( हाल ः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र) को स्थापना ग-यो । 

सुरुमा मिर्गौला प्रत्यारोपणलगायत सेवा दिन धेरै कठिन थियो । बिरामीहरू अस्पतालमा आउँदैनथे । कुनै पनि बिरामीलाई केन्द्रमा मिर्गौलासम्बन्धी उपचार हुन्छ भन्ने जानकारी नै थिएन । विस्तारै मिर्गौला प्रत्यारोपण, डाइलासिसका लागि मानिसहरू आउन थाले । अहिले नेपालबाट मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तानबाट समेत बिरामीहरू केन्द्रमा मिर्गौलाको उपचार तथा प्रत्यारोपणका लागि आउने गरेका छन् । विदेशबाट नेपालमा मिर्गौलाको प्रत्यारोपण सहज, सुलभ र गुणस्तरीय हुन्छ भनेर आउनु नै केन्द्रप्रतिको ठूलो विश्वास हो । 

केन्द्रमा यो सेवाले अपेक्षित गति लिन नसक्नुको प्रमुख कारणमध्ये अङ्ग अभाव पनि एक हो । २०५५ सालमा बनेको नेपालको प्रत्यारोपण कानुनमा अङ्गदानसम्बन्धी व्यवस्था ज्यादै साँघुरो थियो । त्यसैले यो कानुनको संशोधन गर्न‘पर्ने आवश्यकता महसुस गरियो । त्यसका लागि प्रक्रिया अगाडि बढ्यो । संंसद्मा घनिभूत छलफल, विभिन्न पदाधिकारीसँगको अन्तक्र्रिया, कार्यशाला गोष्ठी र सेमिनार आदिबाट आठ वर्षको अथक प्रयासमा अङ्गदानसम्बन्धी नयाँ कानुन बन्यो । 


प्रत्यारोपण ऐनमा २०७२ साल फागुन १३ गते भएको संशोधनबाट अङ्गदानको दायरा व्यापक फराकिलो भई नाता पर्ने जति सबैबाट अङ्गदान हुन सक्ने व्यवस्था भयो । आफ्नो नाताभित्र अङ्ग ‘म्याच’ हुन नसके त्यस्तै समस्या भएको अर्को परिवारको सदस्यबाट अङ्ग साटासाट गरी प्रत्यारोपण गर्ने बाटो पनि खुल्यो । सबैभन्दा महत्वपूर्ण उपलब्धि त मस्तिष्क मृत्यु भएकाहरूबाट हुने अङ्गदान र प्रत्यारोपणसम्बन्धी व्यवस्था हो । ऐन र नियमावली संशोधन भएपश्चात् यस केन्द्रमा २०७४ साल वैशाख २८ मा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट पहिलो पटक मिर्गौला प्राप्त गरी दुई जनामा प्रत्यारोपण गरिएको थियो । यसरी आठ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । केन्द्रलाई कान्तिपुर अस्पताल, गणेशमान सिंह अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, अन्नपूर्ण न्यूरो अस्पतालले मस्तिष्क मृत्यु भएको अङ्गदाता उपलब्ध गराएका छन् ।

केन्द्रमा २०७३ साल साउन १२ गते पहिलो गैरनातेदार परिवारबीच साटासाट गरी पहिलो पटक मिर्गौला प्रत्यारोपण गरियो । ३८ जोडीले साटासाट गरी मिर्गौला प्रत्यारोपण गराइसकेका छन् । 

मिर्गौला प्रत्यारोपण सेवा देशभर

सरकारले मिर्गौला प्रत्यारोपणमा अङ्गदान तथा मस्तिष्क मृत्यु भएकाबाट हुने अङ्गदानलाई विशेष प्राथमिकतामा राखेको छ । केन्द्रलाई तीन सय शøयादेखि पाँच सय शøया क्षमतामा पु¥याउने योजना पनि छ । अहिले केन्द्रमा डाइलासिसका लागि पाँच सय जनाको माग छ । डाइलासिस मात्र गर्ने बिरामी पालो कुरिरहेका छन् । नेपाल सरकारले २० वटा डाइलासिस गर्ने मेसिन दिइसकेको छ । ३० वटा मेसिन दिन बाँकी छ । अहिले केन्द्रमा ७२ वटा मेसिन चालू अवस्थामा छन् । दैनिक डाइलासिस सय जनाभन्दा बढीको हुन्छ । अब एक सय शøयाको डाइलासिस केन्द्र बनाउने योजना छ । तीनदेखि छ महिनाभित्र यो केन्द्र नवनिर्मित भवनमा नै सञ्चालन गरिने छ । एक सय शøयाको डाइलासिस केन्द्र भएपछि दैनिक चारसय जनाको डाइलासिस गर्न सकिन्छ जुन डाइलासिसका लागि पर्खाइमा बस्ने बिरामीहरूका लागि ठूलो राहत हुनेछ । डाइलासिस सेवा नयाँ भवनबाट भए पछि हाल भइरहेको भवनमा मुटु, मिर्गौला, कलेजो उपचारका लागि क्षमता वृद्धि गर्न सकिनेछ । अहिले वार्षिक दुई सय जनाको मिर्गौला प्रत्यारोपण गर्न सकिएको छ । नयाँ भवन बनेपछि वार्षिक ३५० देखि चार सय जनाको मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । यहाँ मुटुको सेवा पनि प्राप्त गर्न सकिन्छ छ । एनजिओग्राम, एनजीओग्राफी, इकोलगायत मुटुसम्बन्धी सेवा पनि उपलब्ध छ । मुटुको शल्यक्रिया सेवाले गति लिन सकेको छैन । त्यसका लागि आवश्यक जनशक्ति मन्त्रालयसँग माग गरिएको छ । 

पाँच सय जनाभन्दा बढी प्रत्यारोपणका लागि प्रतिक्षारत वर्तमान अवस्थामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र थेग्न नसक्ने हुँदा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस केन्द्रलाई देशको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्न जिम्मा दिएको छ ।

यस वर्ष केन्द्रका लागि नेपाल सरकारले मुख्य दुई वटा कार्यक्रम घोषणा गरेको छ । पहिलो कार्यक्रम हो, सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने । यस कार्यक्रमअन्तर्गत पोखरामा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको छ भने सुर्खेतका लागि इजाजतको प्रक्रिया चलिरहेको छ । सुर्खेतबाट सात जनालाई काठमाडाँै ल्याएर तालिम पनि दिन थालिएको छ । सुर्खेत अस्पतालले अङ्ग प्रत्यारोपण विकास समितिबाट मिर्गौला प्रत्यारोपण गर्न इजाजत पाउनेबित्तिकै त्यहाँ मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन हुने छ । 

मृत्युपछि पनि मानिसले अङ्गदान गर्नुपर्छ भन्ने चेतना विस्तार गर्नुपर्छ । अङ्गदानजस्तो महादान अरू केही होइन भन्ने कुरो समाजमा स्थापित गर्नुपर्छ । सुर्खेतपछि कैलाली र हेटौँडा अस्पतालमा मिर्गौला प्र्रत्यारोपण सेवा सञ्चालन गर्ने योजना छ । त्यस्तै भरतपुर अस्पताल र कोसी अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सञ्चालन गर्ने लक्ष्य रहेको छ । मधेश प्रदेशमा जनकपुर, राजविराज र वीरगञ्जमा रहेका मध्ये एउटा अस्पतालबाट यो सेवा सञ्चालन गर्ने योजना छ । 

अर्को कार्यक्रम हो, केन्द्रलाई प्रत्यारोपण कार्यका लागि उच्च जनशक्ति उत्पादन गर्ने प्रतिष्ठान नै बनाउने । यो कार्य स्वास्थ्य मन्त्रालयले अगाडि बढाइसकेको छ । प्रतिष्ठान स्थापना नहुँदासम्म चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धन लिएर कार्यक्रम सुरु गर्ने प्रस्ताव पनि गरिसकिएको छ । चिकित्सा शिक्षा आयोगबाट अनुगमन पनि भइसकेको छ । त्यसैले निकट भविष्यमा नेफ्रोलोजी सेवाका लागि उच्चस्तरको जनशक्ति उत्पादन गरेर देशको सातवटै प्रदेशमा यो सेवा विस्तार गर्ने योजना अगाडि बढाइने छ । 

मिर्गौला प्रत्यारोपणका लागि अङ्गदान दिनैपर्छ । अहिले दुई किसिमबाट अङ्गदान हुने गरेको छ । एउटा स्वस्थ व्यक्तिबाट हुन्छ भने अर्को मस्तिष्क मृत्यु भएका व्यक्तिबाट । स्वस्थ व्यक्तिले अङ्गदान गर्नका लागि नातेदारभित्रको व्यक्ति हुनुपर्दछ । नातेदारले दिन चाहेन भने अङ्ग प्रत्यारोपण नहुन सक्छ तर मस्तिष्क मृत्यु भएको मानिसको अङ्ग जुनसुकै मानिसमा पनि प्र्रत्यारोपण गर्न सकिन्छ । धेरै जना सडक दुर्घटनामा परिरहेका हुन्छन् । ती व्यक्तिको मस्तिष्क मृत्यु भएको हुन सक्छ । यस्ता व्यक्तिको खरानी हुने अङ्गबाट आठ जनाको ज्यान बचाउन सकिन्छ । दुईवटा मिर्गौला, दुईवटा फोक्सो, एक–एकवटा मुटु, कलेजो, सानो आन्द्रा र प्याङ्क्रियाजको प्रत्यारोपण गरेर आठ जनासम्मको ज्यान बचाउन सकिन्छ । नेपाल सरकारले यो कार्यक्रमलाई विशेष प्राथमिकताका साथ राखेको छ । अङ्ग प्रत्यारोपणका लागि केन्द्रले महìवपूर्ण भूमिका पाएको छ ।

नेपालमा अङ्ग प्रत्यारोपणमा लैङ्गिक विभेद रहेको छ । एक सय जनाको मिर्गौला प्रत्यारोपण गर्दा ९० प्रतिशत मिर्गौला लिने (ग्रहणकर्ता) पुरुष र ८० प्रतिशत मिर्गौला दिने (दाता) महिला छन् । पुरुषले अङ्ग लिने र महिलाले दिने अवस्था छ । अङ्गदानमा पनि महिलाउपर शोषण भइरहेको छ । यसमा हाल केही सुधार भएको छ । लैङ्गिक रूपमा लिने र दिने ५०–५० प्रतिशत हुनु पर्दछ । केही हदसम्म यसमा सुधार हुँदै गएको छ । उदाहरणका लागि अहिले ग्रहणकर्ता पुरुष ८० प्रतिशतमा झरेको छ । ग्रहणकर्ता महिला २० प्रतिशतमा पुगेको छ । मिर्गौलादातामा पहिले ८० प्रतिशत अङ्गदाता महिला थिए भने अहिले अङ्गदाता महिलाको सङ्ख्या ७० प्रतिशत झरेको छ । अङ्गदान गर्ने पुरुष २० बाट ३० प्रतिशतमा पुगेको छ । 

एक सय जनाको मिर्गौला प्रत्यारोपण गर्दा ९० प्रतिशत मिर्गौला लिने (ग्रहणकर्ता) पुरुष र ८० प्रतिशत मिर्गौला दिने (दाता) महिला छन् । पुरुषले अङ्ग लिने र महिलाले दिने अवस्था छ । अङ्गदानमा पनि महिलाउपर शोषण भइरहेको छ । यसमा हाल केही सुधार भएको छ । लैङ्गिक रूपमा लिने र दिने ५०–५० प्रतिशत हुनु पर्दछ ।

मिर्गौला रोगको अवस्था

वार्षिक तीन हजार जनाको मिर्गौला बिग्रने गरेको छ । यसमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुई सय र अन्य अस्पतालमा एक सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । छिमेकी देशमा दुई सय जना मिर्गौला प्रत्यारोपणका लागि जाने गरेका छन् । स्वदेश र विदेशमा गरी वार्षिक पाँच सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । दुई हजार पाँच सय जना भने डाइलासिसमा वार्षिक थपिँदै जान्छन् । डाइलासिसमा बसेर केही उपलब्धि हुँदैन । अन्ततः प्रत्यारोपणमा जानैपर्छ । डाइलासिसले बिरामीको जीवनस्तर पनि खस्किँदै जान्छ । बिरामीले मन परेको खान पाउँदैन । व्यापार, व्यवसाय तथा रोजगारीका लागि पनि सक्षम हुन सक्दैन । डाइलासिस गर्नेको आयु पनि कम हुन्छ । परिवारले पनि डाइलासिसका लागि समय छुट्याउनुपर्ने हुन्छ । सधैँभरि अस्पताल जाने, आउने गर्नुपर्छ । आर्थिक रूपमा धेरै क्षति हुन्छ । त्यसैले मिर्गौला प्रत्यारोपण गर्नु नै सबभन्दा राम्रो उपाय हो । प्रत्यारोपणपछि व्यक्ति सक्षम बन्न सक्छ । आर्थिक रूपले पनि सक्षम बन्न सक्छ । उसको आयु पनि लामो हुन्छ । डाइलासिसमा परिवारले जति समय दिनुपर्ने हुन्छ, प्रत्यारोपणमा त्यति समय दिनु पनि पर्दैन । त्यसैले प्रत्यारोपणमा जोड दिनुपर्छ । प्रत्यारोपणको विकल्प डाइलासिस कहिल्यै पनि हुन सक्दैन । बिरामी, परिवार र राष्ट्रका लागि प्रत्यारोपण धेरै फाइदाजनक छ । केन्द्रमा हाल दैनिक १५० जना आउने गरेका छन् । आकस्मिक कक्षमा ३० देखि ५० जनासम्म आउने गरेका छन् । मिर्गौला, मुटु, कलेजो, पत्थरीका समस्या भएका बिरामीहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आउने गरेका छन् तर मुख्य रूपमा मिर्गौला बिग्रिएका बिरामी धेरै आउने गरेका छन् । 

पूर्वाधारतर्फ केन्द्रमा हाल उच्च प्रविधियुक्त २५६ स्लाइसको सिटीस्क्यान मेसिन र अत्याधुनिक क्याथ ल्याबको व्यवस्था गरिएको छ । प्याथोलोजी सेवामा पनि इम्युनोहिस्टोलोजी, एचएलए÷ड्रग लेभेल मोनिटरिङको सुविधासमेत उपलब्ध छन् जुन सुविधा अन्त विरलै पाइन्छ । पेटको उपचारका लागि अत्याधुनिक इन्डोस्कोपिक अल्ट्रासाउन्ड उपलब्ध छ भने मुटुको शल्यक्रियाका लागि पनि पूर्ण रूपमा सुविधा उपलब्ध छ । 

अङ्गदान र प्रत्यारोपण कार्य प्रवद्र्धनका लागि यस संस्थाले स्थापना कालदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको छ । प्रत्येक वर्ष विश्व मिर्गौला दिवसका अवसरमा प्रत्यारोपण खेलकुद, निःशुल्क स्वास्थ्य शिविर, अन्तत्र्रिmया कार्यक्रम, कार्यशाला गोष्ठी, सेमिनार तथा सम्मेलन आयोजनामा नेतृत्वदायी भूमिका खेल्दै आएको छ । २०७८ साल फागुन २६ गते विश्व मिर्गौला दिवसका दिन प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँको मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले मृत्युपश्चात् अङ्गदानको घोषणा गर्नु भएको हुँदा जनमानसमा अङ्गदानको चेतना पैmलिने अपेक्षा गरिएको छ । 

वर्षको अधिकतम दुई सय जनासम्मको मिर्गौला प्रत्यारोपण गर्न सक्ने यस केन्द्रको क्षमता रहेको कुरा माथि नै भनियो तर पाँच सय जनाभन्दा बढी प्रत्यारोपणका लागि प्रतिक्षारत वर्तमान अवस्थामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र थेग्न नसक्ने हुँदा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस केन्द्रलाई देशको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्न जिम्मा दिएको छ । यस केन्द्रलाई नेपालको पहिलो राष्ट्रिय प्रत्यारोपण प्रतिष्ठान बनाउने घोषणा पनि गरिएको छ । प्रतिष्ठान भएमा मिर्गौलासम्बन्धी अति सक्षम जनशक्ति ठूलो सङ्ख्यामा उत्पादन हुन्छन् । मिर्गौलाको सर्जन, युरोलोजिस्ट, नेफ्रोलोजिस्ट, ट्रान्स्प्लान्ट सर्जन, एनेस्थेसिया, क्रिटिकल केयर विज्ञ तथा प्याथोलोजी, रेडियोलोजी, नर्सिङका जनशक्ति, ट्रान्सप्लान्ट कोअर्डिनेटरजस्ता अनुभवी विशेषज्ञ यहीँबाट उत्पादित हुन्छन् । उत्पादित यी जनशिक्तिलाई विभिन्न प्रदेशमा खटाउन सकिन्छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको नीतिअनुरूप अहिले यहाँबाट उत्पादित थोरै जनशक्तिलाई पनि काठमाडौँमा मात्र केन्द्रित नगरी विभिन्न प्रदेशमा पठाएर यो सेवा विस्तार गर्ने क्रम जारी छ । देशलाई मिर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्य भइरहेको छ ।

(श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला प्रत्यारोपणविद् हुनुहुन्छ )