• ८ मंसिर २०८१, शनिबार

सडक पुगे पनि कोदोले बजार पाएन

blog

गोकर्ण दयाल 

बैतडी, भदौ २४ गते  । बैतडीको विभिन्न क्षेत्रमा कोदो उत्पादन हुने भए पनि किसानलाई बिक्री गर्न समस्या छ । बैतडीको तल्लो स्वराड क्षेत्रका मेलौली, पञ्चेश्वर, शिवनाथ, च्वाँगढ क्षेत्रको सिगास, पुरचौडी र डिलासैनी क्षेत्रमा प्रशस्त फल्ने कोदोले बजार पाउन नसकेको हो । 

गाउँमा फलेको कोदोको केही स्थानीय परिकार माँणा, हलुवा र आँखडी (कोदोको पिठो र चामलको परिकार) खाने चलन भए पनि बचेको कोदोले बजार नपाउँदा किसानले बस्तुभाउलाई खुवाउने गरेका छन् । 

आफ्नो क्षेत्रमा कहाँ र कति कोदो खेती हुन्छ भन्ने तथ्याङ्क गाउँपालिकासँग पनि छैन, न त कोदोको बिक्रीमा कुनै योजना नै । पाँच वर्षअघि शिवनाथ गाउँपालिकाले सुत्केरीलाई ‘उपाध्यक्षको कोसेली कार्यक्रम’मा कोदोको पिठो र घिउ वितरण गरिएको भए पनि स्थानीय तहको दोस्रो निर्वाचनपछि आएको नेतृत्वले यो कार्यक्रम बन्द गरेको शिवनाथ गाउँपालिकाका कृषि शाखा प्रमुख मानबहादुर चौधरीले जानकारी दिनुभयो ।

यो कार्यक्रम अहिले बन्द भएकोमा दुःख लागेको शिवनाथ गाउँपालिकाका पूर्वउपाध्यक्ष कुश्मा चन्दले बताउनुभयो । कोदोलाई स्थानीय सरकारले प्राथमिकता दिनुपर्ने विषयमा गाउँपालिकासँग छलफल गर्ने उहाँले बताउनुभयो ।

गाउँमा सडक पुगेपछि चाउचाउ, कोकाकोला र मदिरा मात्रै जथाभावी भित्रिएको मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र विष्टले बताउनुभयो । गाउँपालिकाले कोदोको बजारीकरण र ब्रान्डिङका लागि पहल गरे कोदोले बजार पाउने वडाध्यक्ष विष्टले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “कार्यपालिकाको बैठकको खाजा नास्ता र खानामा स्थानीय परिकारलाई जोड दिनुपर्ने ठाउँमा बजारु खानाले प्रवेश पाउने गरेको छ । काठमाडौँलगायतका सहर गएका बेला कोदोको ढिँडो र केक खान मनपराउने हामी, गाउँमा कोदोको परिकारलाई महत्त्व दिदैनौँ । स्थानीय बजारमा चाउमिन पाइन्छ, कोदोको परिकार पाइँदैन ।”

जिल्लाका ग्रामीण भेगमा अहिले पनि कोदोको रोटी र सुत्केरीलाई हलुवा खुवाउने चलन छ । आधुनिकतासँगै गाउँमा पत्रुखाना (जङ्कफुड) चाउचाउ÷चाउमिन र पालिस गरेको चामल भित्रिएपछि खानपिनमा समेत परिवर्तन आएको छ ।

बाँदरबाट सुरक्षित 

पछिल्लो समय बैतडीमा बाँदरले मकैलगायतका धेरै बाली सखाप गरेपछि शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका किसानले विकल्पका रूपमा कोदो खेती गर्न थालेका छन् । बाँदरले कोदो नखाने भएकाले धेरै किसान कोदो लगाउन थालेको पञ्चेश्वरका वीरेन्द्र चन्दले बताउनुभयो । 

बैतडी सदरमुकामको दरशथचन्द नगरपालिका र छिमेकी दोगडाकेदार गाउँपालिकामा बाँदरका कारण किसानले मकै र गहुँ खेती गर्न छाडेका छन् तर कोदो खेती गर्न सकेका छैनन् ।

कोदोलाई रुखो जमिनको बालीका रूपमा चिनिन्छ । त्यसैले किसानले अरू बाली नहुने रुखो जमिनमा नै कोदोको खेती गर्छन् । दशरथचन्द नगरपालिकाको महाकाली किनारका शेरा, तिरखडेनी, बुड्डा र दोगडाकेदार गाउँपालिका–४, पीपलकोट क्षेत्र धान, गहुँ र मकैका लागि उर्वर जमिन भएकाले कोदो लगाउने चलन कम रहेको स्थानीय हरिशर भट्टले बताउनुभयो । बाँदरका कारण जमिन बाँझो राख्नुभन्दा त कोदो खेती गर्न स्थानीय सरकारले किसानलाई प्रोत्साहन गरेर बजारीकरण गरिदिने हो भने किसानले कोदो लगाउने उहाँले बताउनुभयो ।