• ११ असोज २०८१, शुक्रबार

घटाइयो करका दर

blog

नवराज कट्टेल

विराटनगर, भदौ २५ गते । सरकारले चालू आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका केही वस्तुको करका दर घटाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले जीआई वायर, सेनेटरी प्याड, एमएस बिलेट र खानेतेलको करको दर घटाउने निर्णय गरेको हो । बजेटमा यी वस्तुमा करको दर वृद्धि गरिएपछि विराटनगरका उद्योगीले विरोध जनाएका थिए । सरकारले चालू आर्थिक वर्षको बजेटमा एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घिउतेलमा वृद्धि गरेको करको दर संशोधन गरेपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले खुसी व्यक्त गरेका छन् ।

जीआई वायरको कच्चा एमएस रडमा १० प्रतिशत कायम गरिएको भन्सार महसुललाई पाँच प्रतिशत र सेनेटरी प्याडको कच्चापदार्थमा शतप्रतिशत भन्सार महसुल घटाइएकोप्रति उद्योगीले सकारात्मक टिप्पणी गरेका हुन् । 

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले बजेटमा भएको त्रुटि सच्याउनु सकारात्मक भएको बताउँदै निजी क्षेत्र र सरकार सधैँ एकअर्काको सहयोगी बन्नुपर्ने धारणा राख्नुभयो ।

प्रिमियर वायर इन्डस्ट्रिजका सञ्चालक एवं मोरङ व्यापार सङ्घका पूर्वअध्यक्ष पवन सारडाले बन्द हुन लागेका उद्योग सञ्चालनको बाटो सरकारले खोलेको प्रतिक्रिया दिनुभयो । उहाँले एमएस वायर रडको अन्तःशुल्कमा हेरफेर नभएको भन्दै त्यसले निर्यातका लागि सहयोग नपु-याउने बताउनुभयो । बजेटमा एमएस वायरको अन्तःशुल्क प्रतिकेजी दुई रुपियाँ ५० पैसाबाट बढाएर चार रुपियाँ ५० पैसा कायम गरिएको थियो, संशोधनमा त्यसको सम्बोधन नभएको सारडाले बताउनुभयो । 

करको दर घटाएपछि खानेतेलको मूल्य प्रतिलिटर १५ रुपिँयाले घट्ने उद्योगीले बताएका छन् । सरकारले संशोधन गरेको करका दरमा सेनेटरी प्याड उत्पादन गर्ने उद्योगको कच्चापदार्थ पीई फिल्म र पर्फोरेटेड पीई फिल्म आयात गर्दा अन्तःशुल्क नलाग्ने भएको छ । यस्तै कच्चा भटमास, कच्चा पाम र कच्चा सूर्यमुखी आयात गर्दा ९० प्रतिशत भन्सार महसुल छुट हुने गरी संशोधन भएको छ । 

मोरङ व्यापार सङ्घका सचिव एवं पायनियर वायरका सञ्चालक अनिल सारडाले करका दर घटाउँदा भारतमा निर्यात प्रतिस्पर्धा हुन नसके पनि स्वदेशमा स्वच्छ प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना भएको बताउनुभयो । 

उहाँले तयारी वस्तु जीआई वायर आयात गर्दा साफ्टाअन्तर्गत छ प्रतिशत महसुलमा प्रतिकिलो १० रुपियाँ अन्तःशुल्क लाग्ने बताउनुभयो । एमएस वायर आयात गर्दा पाँच प्रतिशत भन्सार महसुल र प्रतिकेजी ४.५० रुपियाँ अन्तःशुल्क बुझाउँदा तयारी र कच्चापदार्थ आयातमा पाँच प्रतिशतको अन्तर हुने उहाँले जानकारी दिनुभयो । 

सारडाले वायरको कच्चापदार्थमा अन्तःशुल्क लिने प्रावधान सच्याउनुपर्ने माग गर्दै अन्तःशुल्क तयारी वस्तुमा मात्रै लिनुपर्ने भए पनि नेपालमा कच्चामै लिने गरिएको गुनासो गर्नुभयो । 

यसैगरी सेनेटरी प्याड उत्पादन गर्दै आएको जस्मिन आइजिनका सञ्चालक पुनित सारडाले नयाँ व्यवस्थाले स्थापित भइसकेका ब्रान्डलाई प्रतिस्पर्धामा उत्रन सहज भएको बताउनुभयो । 

नयाँ व्यवस्थाले सेनेटरी प्याडका कच्चापदार्थको आयातमा लाग्ने सबैखाले अन्तःशुल्क हटाएको छ र कच्चापदार्थको आयातमा एक प्रतिशत भन्सार महसुल तोकेको छ ।