कसलाई भन्ने पत्रकार ? सर्वप्रथम पत्रकारको परिभाषा खोजौँ। सैद्धान्तिक परिभाषाअनुसार समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण कार्यमा प्रत्यक्ष सहभागी वा सक्रिय हुने व्यक्तिलाई पत्रकार भनिन्छ। अर्थात् समाचार माध्यमबाट समाचार एवं समाचार सामग्री सम्प्रेषण गर्ने व्यक्ति नै पत्रकार हो। अक्सफोर्ड एड्भान्स लर्नर डिक्सनरीका अनुसार पत्रपत्रिका र म्यागेजिन, टीभी र रेडियोका लागि सामग्री सङ्कलन, लेखन, सम्पादन र प्रकाशन गर्ने कार्यलाई पत्रकारिता भनिन्छ। उक्त डिक्सनरीले पनि समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण (वितरण र प्रसारण वा प्रकाशन) कार्यमा सक्रिय व्यक्तिलाई पत्रकार भने पनि अनलाइन समाचार माध्यमसम्ममा समाचार सङ्कलन, लेखन, सम्पादन, सम्प्रेषण गर्ने व्यक्तिलाई पत्रकार भन्न सकेको छैन।
नेपाल पत्रकार महासङ्घको विधान २०६० (पाँचाँै संशोधन २०७५) मा पत्रकारको परिभाषा दिँदै लेखिएको छ, पत्रकार भन्नाले छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आबद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार सङ्कलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन÷पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रव्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ।
प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) मा पनि झन्डै झन्डै महासङ्घको विधानको जस्तै परिभाषा दिइएको छ। यसअनुसार पत्रकार भन्नाले सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथा प्रशासकीय अधिकार प्राप्त गरेको व्यक्तिबाहेक सञ्चारसम्बन्धी व्यावसाय वा सेवालाई प्रमुख व्यावसाय अपनाई पारिश्रमिक लिई सञ्चार प्रतिष्ठानमा पूर्ण वा आंशिक समय काम गर्ने व्यक्ति सम्झनुपर्दछ र सो शब्दले सञ्चार प्रतिष्ठानमा समाचार सामग्री सङ्कलन, उत्पादन, सम्पादन वा सम्प्रेषण गर्ने प्रधानसम्पादक, सम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचार वाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्ग्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादकजस्ता समाचार तथा समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्तिसमेतलाई सम्झनुपर्दछ।
यी परिभाषालाई आलोचनात्मक रूपमा हेर्न आवश्यक छ। यी परिभाषामा स्तम्भ लेखक, कार्टुनिष्ट (व्यङ्ग्य चित्रकार), प्रेस क्यामरापर्सन, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा दृश्य सम्पादक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा गर्ने, प्राविधिक पक्ष हेर्ने व्यक्तिलाई समेत पत्रकार भनिएको छ। जबकि समाचार सङ्कलन, लेखन, सम्पादन, सम्प्रेषण गर्नेबाहेक अन्य व्यक्तिलाई खास पत्रकार भन्न सकिँदैन। यी त प्राविधिक पक्षमा मात्र काम गर्ने व्यक्ति हुन्। शुद्धाशुद्धि मात्र हेर्ने, तस्बिर मात्र खिच्ने, कोठैमा बसेर समीक्षा गर्ने, स्तम्भ लेख्ने, कार्टुनचित्र मात्र बनाउने व्यक्तिलाई कसरी पत्रकार भन्ने ? हो, यस्ता व्यक्ति समाचार सङ्कलन, लेखन, सम्पादन र सम्प्रेषण गर्ने कार्यमा सामेल हुने गरेको भए यिनीहरूलाई पत्रकार भन्न सकिन्छ। बरु यी प्राविधिक पक्षमा मात्र काम गर्ने व्यक्ति भए पनि सञ्चारकर्ममा नै संलग्न भएकोले यस्ता व्यक्तिलाई सञ्चारकर्मीसम्म भन्न सकिन्छ।
अभिलेखन र वर्गीकरण किन ?
परिभाषा यकिन भइसकेपछि श्रमजीवी पत्रकारको अभिलेखन गर्नुपर्दछ। नेपाल बार काउन्सिलले कानुन व्यवसायी, मेडिकल काउन्सिलले चिकित्सकको अभिलेख राखेजस्तै प्रेस काउन्सिल नेपाल वा पछि बन्ने मिडिया काउन्सिलले पत्रकारको अभिलेख राख्नुपर्दछ। पत्रकारको अभिलेखन भएपछि मात्र पत्रकारको वर्गीकरण गर्न सजिलो हुन्छ। अभिलेखनपछि वर्गीकरण गर्नुपर्दछ। भर्खर पत्रकारितामा प्रवेश गरेका र लामो समयदेखि पत्रकारितामा आबद्ध पत्रकारलाई उही दर्जामा राख्नुहुँदैन।
नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्तालाई वरिष्ठ अधिवक्ता र अधिवक्ता भनेर वर्गीकरण गरेजस्तै पत्रकारलाई पनि वरिष्ठ पत्रकार र पत्रकार भन्न सकिन्छ। यसले कालान्तारमा धेरै सजिलो बनाउँछ। पत्रकारको शुद्धीकरण हुन्छ। श्रमजीवी पत्रकारको पहिचान हुने हुँदा यससम्बन्धी ऐन लागू गर्न सजिलो हुन्छ। पत्रकारको वास्तविक सङ्ख्या निकाल्न व्यावहारिक रूपमा जटिल नै छ। किनकि पत्रकारिता नै नगरेका र पत्रकारको परिभाषामा नै नपर्ने धेरै व्यक्तिले नेपाल महासङ्घको सदस्यता लिएका छन्। विभिन्न राजनीतिक पार्टीमा सक्रिय र पत्रकारिता पृष्ठभूमिबाट नै राजनीतिक पार्टीको नीतिगत तहमा पुगेका व्यक्तिले समेत पत्रकारको सदस्यता लिएका छन्। यसका लागि यो कार्य गर्ने अधिकार पाउने निकायलाई सरोकारवाला सबैले साथ दिनैपर्छ, सहयोग गर्नैपर्छ।
यद्यपि सञ्चार प्रतिष्ठानमा प्रशिक्षार्थी संवाददाता, सहायक संवाददाता, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधि, वरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादक, उपसम्पादक, वरिष्ठ भाषा सम्पादक, वरिष्ठ फोटो पत्रकार, प्रमुख समाचारदाता, समाचार संयोजक, सहसम्पादक, कार्यकारी सम्पादक, श्रव्य दृश्य, फोटो सम्पादक, डेस्क सम्पादक, सम्पादक, प्रधानसम्पादक भनेर श्रमजीवी पत्रकारको तहगत वर्गीकरण गरेको पाइन्छ। यो पनि सञ्चार प्रतिष्ठानअनुसार फरक फरक छ। यो निजी वा सरकारी सञ्चार प्रतिष्ठान आफैँले गरेको वर्गीकरण हो।
कसले तोक्ने ? कसरी तोक्ने ?
कानुनले स्पष्ट रूपमा नतोके पनि व्यवहारमा बढी समय पत्रकारिता गरेको व्यक्तिलाई वरिष्ठ पत्रकार भन्ने चलन छ। नयाँ र पुराना पत्रकार सम्मिलित कार्यक्रममा आयोजक वा सञ्चालकले आफ्नो सजिलोका लागि दाह्री, जुङ्गा फुलेका पत्रकारलाई वरिष्ठ भनेर सम्बोधन गरिदिन्छन्। यस्तै हाम्रो विभाजित समाजमा आआफ्नो पक्षका पत्रकारलाई वरिष्ठ भनिदिने र फरक विचार, पार्टी वा पक्षका पत्रकारलाई समान योगदान र हैसियत भए पनि वरिष्ठ सम्बोधन नगर्नेसमेत गरिन्छ। हुन त पत्रकारिता पेसा अन्य पेसा, व्यवसायभन्दा भिन्न र यसमा समाचारको प्रस्तुतिमार्फत दिनहुँ पाठक दर्शक श्रोता (अडियन्स) का अगाडि परीक्षा दिइरहनुपर्ने भएकाले को वरिष्ठ को कनिष्ठ छुट्याइरहनै पर्दैन भन्ने मत पनि छ।
जसले खटेर प्रभावकारी तरिकाले सूचना विचार प्रवाह गर्छ त्यो नै वरिष्ठ पत्रकार हो भनिन्छ तर आजको अवस्थामा यो सोचमा मात्र अल्झेर बस्ने हो भने पत्रकारिता कहिल्यै मर्यादित, अनुशासित, जिम्मेवार बन्दैन। पत्रकारिताको आवरणमा मौलाउँदै गएको विकृति, विसङ्गति हेर्दा नेपालको पत्रकारिता सङ्लो हुन धेरै समय लाग्ने देखिन्छ। बेथिति झन् बढ्दै जाने देखिन्छ।
नेपालमा वरिष्ठ र कनिष्ठ भनेर कानुनमा स्पष्ट वर्गीकरण नगरिएको भए पनि व्यवहारमा यसको अभ्यास गरिएको अवस्था छ। नेपाल सरकारले कानुनतः यसको व्यवस्था नगरे पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानलाई व्यवस्थित गर्ने कार्यविधि, २०७२ मार्फत यसको अभ्यास गरिसकिएको छ। उक्त कार्यविधिको प्रस्तावनामा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान वितरण गर्ने कार्यलाई व्यवस्थित गर्न कार्यविधि बनाई लागू गर्न वाञ्छनीय भएकाले सूचना तथा सञ्चार मन्त्रालयले यस्तो कार्यविधि बनाएर जारी गरेको उल्लेख छ। यस कार्यविधिअनुसार नै नेपाल सरकारले वरिष्ठ पत्रकार सम्मानका नाममा कम्तीमा २० वर्ष पत्रकारिताको क्षेत्रमा काम गरेको ४५ वर्ष उमेर पुगेका दुई जना वरिष्ठ पत्रकारलाई प्रत्येक वर्ष जनही दुई, दुई लाख रुपियाँ र कदरपत्र प्रदान गर्दै आएको छ। जबकि यो कार्यविधि बनाउनुअघि नै २०६६ सालमा नै वरिष्ठ पत्रकारलाई सम्मान गर्न एक वरिष्ठ पत्रकार सम्मान अक्षय कोष स्थापना र सञ्चालन मापदण्ड तयार गरिएको थियो।
प्रेस काउन्सिल नेपालले सात वर्षअघि नै पत्रकारको अभिलेख राखी वर्गीकरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो। हालै प्रतिनिधि सभामा पुनः पेस भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पनि पत्रकारको अभिलेख अद्यावधिक गरी राख्ने प्रावधान राखिएको छ। कतिपय निजी सञ्चार प्रतिष्ठानले आफ्ना पत्रकारलाई वरिष्ठ पत्रकारको हैसियतमा सोहीअनुसारको जिम्मेवारी, तलब, सेवा, सुविधा दिँदै आएका छन् तर कानुनी र व्यवस्थित रूपमा नै पत्रकारको वर्गीकरण र वरिष्ठता तोक्ने कुरा हुन सकेको छैन। प्रेस काउन्सिल नेपालले २०७२ मा गठन गरेको एक अध्ययन कार्यदलको प्रतिवेदनमा पत्रकारको वर्गीकरण गरी निरन्तर १५ वर्ष पत्रकारिता गरेको सक्रिय पत्रकारलाई वरिष्ठ पत्रकारको उपाधि दिन उपयुक्त हुने सुझाव दिएको थियो।