• ११ असोज २०८१, शुक्रबार

धनकुटामा चुनावी चहलपहल बढ्यो

blog

आफ्ना कार्यकर्तासँग भेटघाट गर्नुहुँदै नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापा । तस्बिर : कबिराज

कविराज घिमिरे

हिले, भदौ २४ गते । धनकुटामा गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रतिनिधिसभाका लागि टिकट दाबी गरिरहेका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा गठबन्धनमा रहेका अन्य दल भने यो दौडमा देखिँदैनन्। 

तीन दलले भने धनकुटालाई प्रतिष्ठासँग जोडेर हेर्न थालेका छन् । धनकुटामा प्रतिनिधिसभा सदस्यको लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य सुनिलबहादुर थापा, नेकपा माओवादी केन्द्रले पोलिटब्युरो सदस्य हेमराज भण्डारी र जनता समाजवादी पार्टीले रकम चेम्जोङ्गलाई एकल सिफारिस गरिसकेको छ । तीनै नेताले धनकुटा आफूहरुले पाउने दाबी गर्दै आउनुभएको छ । 

जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ्ग धनकुटा आफूले पाउने र यो आफ्नो दरिलो माग रहेको बताउँदै आउनुभएको छ । अघिल्लो पटकको निर्वाचनमा पनि अरुलाई नै सघाएकाले यो पटक आफूले पाउने दाबी उहाँको छ । 

यता नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा युवा नेता हेमराज भण्डारी यो पटक माओवादी केन्द्रले धनकुटा नछाड्ने बताउनुहुन्छ । 

नेपाली कांग्रेस भने गठबन्धनमा राम्रो पकड आफ्नो भएकाले धनकुटा आफूले  पाउनेमा ढुक्क छ । चुनावको बेला सबैले आआफ्नै दाबी प्रस्तुत गर्ने सामान्य प्रक्रिया रहेको नेपाली कांग्रेसका नेता सुनिलबहादुर थापाको भनाइ छ । ‘‘दाबी प्रस्तुत गर्न त सबैले पाइन्छ । तर, धनकुटा कांग्रेसकै भागमा पर्छ”, नेता थापा भन्नुहुन्छ । 

सङ्घतर्फ विवाद रहे पनि प्रदेशमा भने अहिलेसम्म कुनै समस्या देखिएको छैन । गठबन्धन भएको खण्डमा सबै दल प्रदेश अरुलाई दिएर सङ्घ आफ्नो पक्षमा पार्ने दाउमा छन् । यता गठबन्धन भित्रकै अर्को दल नेकपा समाजवादी केन्द्रको निर्णय पर्खिएर बसेको छ । गठबन्धन पूर्णरुपमा कार्यान्वयन भएमा केन्द्रको निर्णय अनुसार अगाडि बढ्ने समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईको भनाइ छ ।

गठबन्धनमा सिट भागबण्डा मिलाउन केन्द्रीय नेता छलफलमा छन् । त्यसैको सामान्य झल्को धनकुटामा देख्न पाइन्छ  । गठबन्धनमा रहेका मध्ये मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी धनकुटा आफूले पाउने भन्दै उमेद्वार घोषणादेखि कार्यकर्ता रिझाउनसम्म लागेका छन् ।  

सबैले आआफ्ना कार्यकतामाझ पुगेर चुनावको तयारी भने सुरु गरिसकेका छन् । नेपाली कांग्रेसले जनतासँग नेपाली कांग्रेस कार्यक्रम स्थानीय तहमा सकेर अब वडा र टोल केन्द्रित गर्ने जनाएको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी फोरमसमेत टोल टोलमा आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिन व्यस्त छन्।