शेरबहादुर राई
ओखलढुङ्गा, भदौ २४ गते । मानेभन्ज्याङ गाउँपालिका –८ काभ्रेटारका आकेश राई सुनकोशी गाउँपालिका –३ सिस्नेरीको पञ्चकन्या माध्यमिक विद्यालयको कक्षा ४ मा पढ्छन् । अर्का कमल राई सोही विद्यालयको कक्षा ८ मा पढ्छन् । उनीहरुलाई घरबाट विद्यालय पुग्न पैदल दुई घण्टाभन्दा बढी समय लाग्छ ।
उनीहरु हिउँद बर्खा दैनिक घर नजिकैको मोलुङ खोला तरेर विद्यालय जानुपर्छ । उनीहरुसँगै उक्त गाउँका करिब १० जना बालबालिका पठनपाठनका लागि गाउँ नजिकैको मोलुङ खोला तरेर विद्यालय जान्छन् ।
उनीहरुलाई मोलुङखोला पार गर्न सजिलो छैन । खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तर्न समस्या परेको हो । स्थानीयले बनाएको काठेपुल खोलाले बगाएपछि बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठामा जोखिम मोलेर खोला तर्नु उनीहरुको दैनिकी हो । पुलको फलामे लठ्ठामा झुण्डिएर खोला तर्नुको विद्यार्थीसँग विकल्प छैन ।
उनीहरुसँगै काभ्रेटारका करिब १४ घर परिवारका स्थानीयलाई मोलुङखोला तर्न यो जीर्ण काठेपुलको विकल्प छैन । २०७५ मा खोलाले बगाएर बाँकी रहेको दुई तीन वटा फलामको लठ्ठाको भरमा खोला वारपार गर्ने गरिएको स्थानीय नवराज राईले बताउनुभयो । बालबालिकाले विद्यालय जान, अत्यावश्यक सामानका लागि बजार जान यही जीर्ण पुल तर्नुपर्छ ।
कलिला बालबालिका, गर्भवती तथा बृद्धबृद्धालाई खोला वारिपारि गर्न असाध्यै समस्या भएको राईले जानकारी दिनुभयो । कोही बिरामी परेमा अस्तपाल लैजान समस्या रहेको राईले बताउनुभयो । स्थानीय, प्रदेश तथा सङ्घ सरकारसँग पुलको माग गरे पनि सुनुवाइ नभएको राईले गुनासो गर्नुभयो ।
काभ्रेटारका स्थानीयले २०७० मा खोला तर्न आफ्नै खर्चमा फलामको लठ्ठा र काठ खरिद गरी पुल बनाएका थिए । दुई–तीन पटक खोलाले बगाएर बनाउँदा आजित भएका स्थानीहरुले चार वर्षदेखि त्यही जीर्ण पुलबाट खोला वारपार गरिरहेको स्थानीय प्रदीप राईले जानकारी दिनुभयो ।
गाउँदेखि करिब डेढ घण्टा टाढा भालुखोलामा झोलुङ्गे पुल भए पनि छिटोका लागि जोखिम मोलेरै भए पनि स्थानीयले यही पुल तर्नेगरेको राईको भनाइ छ । काभ्रेटार मानेभञ्ज्याङ गाउँपालिका –८ को एकान्तमा पर्छ । यहाँ बसोबास गर्नेहरु अधिकांश सुनकोशी गाउँपालिका –३ र ४ बाट बसाइँ सरी आएका हुन् ।