• १३ साउन २०८१, आइतबार

दुःख दिने कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २४ गते । राजस्व अनुसन्धान विभागका महानिर्देशक झलकराम अधिकारीले अवैध तरिकाले व्यापार व्यवसाय गर्नेविरुद्ध कडा कारबाही गर्ने बताउनुभएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले यहाँ बुधबार आयोजना गरेको अन्तक्र्रियामा महानिर्देशक अधिकारीले व्यापारका नाममा अवैध माल मगाउने, भण्डारण गर्ने र पैठारी गर्नेसँग राजस्व अनुसन्धान विभाग कठोर रूपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । 

उद्यमीको गुनासो सुनेपछि महानिर्देशक अधिकारीले भन्नुभयो, “कतैबाट राजस्व चुहावटको सूचना आयो भने हामी त्यसको विश्लेषण गर्छौं । लिखित अनुमतिबिना कुनै पनि कर्मचारीले व्यवसायीको घरमा पस्न पाउँदैन ।” कुनै पनि कर्मचारीले अनावश्यक सताउन खोजे आफूलाई फोनमार्फत खबर गर्न आग्रह गर्दै महानिर्देशक अधिकारीले त्यस्ता कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो । 

कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यापार व्यवसाय खस्किरहेका बेला सरकारले सहयोग गर्नुपर्नेमा सरकारी कर्मचारीबाटै अनेक निहुँ बनाएर व्यापारीलाई दुःख दिने काम भइरहेको गुनासो गर्नुभयो । 

यस्तै सङ्घका महासचिव चिरञ्जीवी ओलीले राजस्व अनुसन्धान विभागले कतिपय अवस्थामा व्यावहारिक पक्षलाई पनि हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

सो अवसरमा सङ्घका प्रवक्ता टङ्कबहादुर धामी, नेपाल जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्मा, सुनचाँदी व्यवसायी सङ्घ, लुम्बिनी प्रदेशका बुद्धिबहादुर सुनारलगायतले पनि यस्तै गुनासो गर्नुभएको थियो ।