• १३ साउन २०८१, आइतबार

झिसिमिसेदेखि नै लाग्नुपर्छ लाम

राष्ट्रिय परिचयपत्र पाउन सास्ती

blog

राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा लाम लागेका सेवाग्राही । तस्बिर : महेशकुमार दास

महेशकुमार दास  

जलेश्वर, भदौ २३ गते । पिपरा गाउँपालिका वडा नं.–६ रतौलीका संजिव ठाकुरको  विहानै ४ बजे निद्रा खुल्यो । निद्रा खुले लगतै हातमा काजगको मुठो बोकेर जलेश्वर तिर हानिए । ठाकुरलाई जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय महोत्तरी कति चाँडै पुग्नु पर्ने हत्तार थियो । 

घाम उदाउनुभन्दा पहिले नै जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रवेशद्वारमा  नपुगे परिचय पत्रको काम समयमै नहुने हो कि चिन्ताले सताएर होला अँध्यारोमै हत्तार हत्तार जलेश्वर आइपुगे । 

ढिलो गरी पुगे लामो लाममा लाग्नुपर्ने हो कि ? पालो अर्कोले उच्छिदिने हो कि ? जस्ता कुरा मनमा खेलाउँदै ठाकुर जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रवेशद्वारमा पुग्नुभन्दा अगावैदेखि राष्ट्रिय परिचय पत्र बनाउनेहरुको ठुलो लाम लागि सकेको थियो । 


विहान ५ बजे नै जिल्ला प्रशासन कार्यालय गेटमा पुगेका ठाकुरभन्दा पहिल्यै नै सय जनाभन्दा बढी सेवाग्राही लामबद्ध देखेर काम हुने नहुने चिन्ताले मनमा छटपटी लागेको उनको अनुहार बाटै प्रस्ट देखिन्थ्यो । 

झिसमिसेदेखि लाम लागेका ठाकुर साझसम्म पनि काम हुन्छ भनेमा विश्वस्त थिएनन् ।

बिहानै उठेर घरबाट हिँडेको, यहाँ आइपुग्दा म भन्दा पनि अगाडिदेखि नै ठुलो लामा लागेको रहेछ, उहाँले बताउनु भयो । 

संजिव ठाकुरले भन्नुभयो “राज्यले राष्ट्रिय परिचय पत्रको नाउँमा सास्ती दिने काम गरेको महसुस भइरहेको छ । ”

ठाकुर जस्तै मटिहानी नगरपालिका–७ का विकास मण्डल पनि राष्ट्रिय परिचय पत्र बनाउनैका लागि विहानै ४ बजे जिल्ला प्रशासन कार्यालय महोत्तरीको गेटमा लाम लाग्न आइपुगेको बताउनु भयो ।

बिहानै लाममा लागेका मण्डल खाना खान पनि लाम छाडेर कतै गएन, किनभने लाम छाडेर गए फेरि अर्कोले पालो उच्छिदिने डरले भोक भौकै बसेर पनि लाम बसिरहेको मण्डलले सुनाउनु भयो ।  

जिल्ला प्रशासन कार्यालय १० बजे खुले पनि बिहानै ५ बजेदेखि लाम नलागे परिचय पत्र नबन्ने अवस्थाका कारण सेवाग्राही दिनहँु यसरी सास्ती खेप्न बाध्य छन् । 

ठाकुर र मण्डलजस्तै सयौँको संख्यामा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भीड अचेल दिनहुँ जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि लाग्ने गरेको स्थानीय प्रह्लाद साहले बताउनु भयो ।  

“जिल्ला प्रशासन कार्यालय महोत्तरी राष्ट्रिय परिचय पत्र लिनलाई सर्वसाधारणलाई खेप्नुपर्ने सास्तीको चाङ नै छ ।” यस्तै, अर्का सेवाग्राहीले भन्नुभयो, “कर्मचारी थपेर सेवाग्राहीको काम छिटोछरितो तवरले गरे मात्र समस्या समाधान हुने हो तर त्यसतर्फ कोही गम्भीर देखिँदैन ।” 

“एका बिहानै जोखिम उठाएर एक त जलेश्वर पुग्नुपर्ने बाध्यता छ त्यसमाथि घण्टौसम्म भोक भोकै लाम लाग्नुपर्ने बाध्यता छ ।” पिपरा गाउँपालिका–६ रतौलिका रामलखन साहले भन्नुभयो “राज्यले हामीलाई सहज तरिकाबाट राष्ट्रिय परिचय पत्र दिनु पर्ने होइन र ? तर यहाँ महोत्तरीमा त्यहि काम असहज र सास्ती खेपेर गराउनु पर्ने बाध्यता छ ।”    

एका बिहानैदेखि लाममा लागे पनि काम भने १० बजेपछि मात्र शुरु हुन्छ । कतिपय सेवाग्राही आफ्नो पालो पर्खिंदा पर्खिदै समय सकिएपछि रित्तो हात नै घर फर्कनु पर्ने बाध्यता पनि रहेको सेवाग्राहीहरुले सुनाउनु भयो ।   

जिल्ला प्रशासन कार्यालय महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकाले परिचयपत्र बनाउनेहरुको भीड बढी हुने गरेको स्वीकार्नु भयो । 

परिचय पत्र बनाउनेको चाप बढेकाले बिहानैदेखि सेवाग्राहीहरु गेटमा लाम लाग्ने गरेको सहायक प्रजिअ न्यौपानेले बताउनु भयो । 

“राष्ट्रिय परिचय पत्र सबैलाई चाहियो, अहिले राहदानीका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ, त्यही भएर परिचय पत्र बनाउनेहरुको चाप बढेको छ ।” सहायक प्रजिअ न्यौपानेले भन्नुभयो, “राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागले राष्ट्रिय परिचय पत्रका लागि दुईजना कम्प्युटर अपरेटर तोकेको छ । हामीले जनशक्ति थप्न नमिल्ने हो । जनशक्ति थप्ने नथप्ने वा अर्को कुनै उपाय लगाउने निर्णय पञ्जीकरण विभागले नै गर्ने हो ।” 

दिनहुँ १५० जनाभन्दा बढी सेवाग्राहीहरुको काम हुने गरेको र सेवाग्राहीको सुविधाकै लागि पालिकाअनुसार सात दिनमा फरक फरक पालिकाको भाग लगाएका छौं कहिले काहीँ बढी हुन्छ कहिले काहीँ कमै पनि हुन्छ । सहायक प्रजिअ न्यौपानेले भन्नुभयो ।  

महोत्तरीभन्दा धनुषामा यसको चाप बढी रहेको बताउनु हुँदै सहायक प्रजिअ न्यौपानेले भन्नुभयो “धनुषामा राष्ट्रिय परिचय पत्रका लागि कात्तिकसम्मको टोकन गइसक्केको छ तर यहाँ हामी आजैको आज सेवा दिदैं आएका छौं ।”

राष्ट्रिय परिचय पत्र अभियान गाउँ गाउँमा प्रत्येक पालिकामा पञ्जीकरण टोली कात्तिकबाट खटाइने तयारी भइरहेको उहाँले बताउनु भयो । 

‘‘अहिले राष्ट्रिय परिचयपत्र राहदानीसँग मात्र जोडिएको छ तर ग्रामीण क्षेत्रतिर केसम्म भ्रम सिर्जना भएको छ भने भारतमा पहिचान पत्रको आधारमा राशन कार्ड पाएजस्तै नेपालमा पनि यही परिचय पत्रको आधारमा सरकारी सुविधाहरु पाउने भएकाले तत्काल अत्यावश्यक नभएको बूढापाकाहरुले पनि दुःख गरेर पनि बिहानै देखि लाममा बसेर परिचय पत्र लिन आउने गरेकोले चाप बढी भएको हो ।’’ लाम लागि सकेकालाई हामी फर्काउन मिल्दैन सहायक प्रजिअ न्यौपानेले थप्नु भयो । 

चुनाव सकिए पछाडि गाउँ गाउँमै यो अभियान जान्छ । अहिले जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागबाट तोकिएको दुईजना अपरेटरले काम गरिरहेको र सक्दो तीव्र गतिमा काम भइरहेको उहाँले बताउनु भयो ।  

काममा ढिलाइ हुनुमा केही प्राविधिक समस्याहरु पनि रहेको उहाँले सुनाउनु भयो । यहाँ जतिको गतिमा काहिँ पनि काम भइरहेको छैन, अनलाइन, अफलाइन समस्या छ कहिले आईडी नआउने, कहिले मेसिने बिग्रने, क्यामेरा र इन्टरनेट बिग्रेर पनि काम गर्न समस्या हुने गरेको उहाँले बताउनु भयो । महोत्तरीमा २०७६ साउनदेखि राष्ट्रिय परिचपत्रका लागि नामावली संकल्न हुँदै आएको उहाँले बताउनु भयो ।