• १३ साउन २०८१, आइतबार

अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुँदैन : डा. कोइराला

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेता कोइराला । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, भदौ २३ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभएको छ । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले बिहीबार जनकपुरधाममा आयोजना गरेको बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो । 

प्रेस स्वतन्त्रता लोकतन्त्रको लागि अति महत्वपूर्ण हुन्छ, उहाँले भन्नुभयो, ‘‘जतिसुकै भन्नुस, जुन देशमा प्रेस स्वतन्त्रता छैन, त्यो देश डेमोक्रेसी हुनै सक्तैन, त्यहाँ डेमोक्रेसी आउन सक्तैन ।’’

उहाँले भन्नुभयो, “हाम्रा नेताले आवधिक निर्वाचन हुनुलाई नै लोकतन्त्रको आधार मान्छन तर, जबसम्म सुशासन हुदैन, पारदर्शिता हुँदैन, तबसम्म लोकतन्त्र हुन सक्तैन । यसका लागि प्रेस अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ ।”

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा रहेको चर्चा गर्नुहुँदै नेता कोइरालाले थप्नुभयो, “यो गठबन्धन पवित्र हो कि अपवित्र, त्यो अहिले भन्न सकिने अवस्था छैन ।” बहुमत आउनेगरी कमभन्दा कम एक सय सिट लिएर चुनावमा जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।  

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले पार्टीको मुखपत्र नभइ सिद्धान्त, विचारबाट विचलनतर्फ उन्मुख देखिएमा समालोचनात्मक समाचार लेख्नु पर्ने बताउनुभयो । 

बीपी कोइराला निर्भिक, निडर र साहसी रहनुभएको प्रसंग उल्लेख गर्दै पत्रकारले बीपीबाट पाठ सिकेर निर्भिक र निडर भइ निष्पक्ष रुपमा कलम चलाउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बीपी आफैमा विश्वविद्यालय भएको बताउनुभयो । बीपीको विचार राजनीतिभन्दा पनि समग्र जीवनशैली भएकाले उहाँको विचारलाई सबैले आत्मसात गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो । 

नेपाल प्रेस युनियका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण यादव, चन्द्रमोहन यादव, पूर्व केन्द्रीय सदस्य रामकृष्ण यादव, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, युनियनका सल्लाहकार अनिता बिन्दु, दामोदर दवाडी, युनियनका रामजी दहाल लगायतले बीपीको राजनीतिक जीवन संङ्घर्ष र विचारबारे चर्चा गर्नुभयो ।