• १३ साउन २०८१, आइतबार

भेरी अस्पतालमा दुई जना डेंगु बिरामीको मृत्यु

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २३ गते । भेरी अस्पताल नेपालगन्जमा दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना बाहिरी जिल्लाका हुनुहुन्छ । उपचारका लागि भेरी अस्पतालको आइसियुमा भर्ना हुनुभएका कैलाली र बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बढैयाताल गाउँपालिका –८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका -६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधवार भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड शाखाका प्रमुख अरुणदेव खनालले बताउनुभयो । 

दुवैको अवस्था निकै बिग्रिएपछि थप उपचरका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।  केही दिनयता विभिन्न जिल्लाबाट डेंगुका बिरामी उपचारका लागि आउने क्रम बढेको खनालले बताउनुभयो । 

उहाँका अनुसार अहिले पनि डोटीका एक जना बिरामीको भेरी अस्पतालमा उपचार भइरहेको छ । बाँकेमा डेंगुका बिरामीहरू देखिने क्रम सुरु भएपछि सो रोग नियन्त्रणका लागि विभिन्न उपाय अपनाउन थालिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

जिल्लामा ११ जनामा डेंगु रोग देखिएपछि अहिले नगर भरी सचेतना अभियान र सफाई अभियान सञ्चालन गरेर लामखुट्टेका लार्भा मार्ने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताउनुभयो ।