दिवाकर पोखरेल
देउखुरी, भदौ २३ गते । दाङ जिल्लाको लमही बजारको पूर्वीक्षेत्र बाक्लो बस्ती र अग्ला घरले भरिएको छ । बाँकी रहेको खाली जग्गा पनि घरहरूले भरिँदै जान थालेको छ ।
यसरी घर तथा भवन निर्माण गर्न थालिएको जग्गा कसको हो ? कसले किनबेच गरिरहेको छ ? बन्दै गरेका घरको नक्सा पास कुन निकायले गरिरहेको छ ? यी कुराको मतलब न त घर बनाउनेलाई छ न त जग्गा बिक्री गर्नेलाई नै छ । यो जग्गा सरकारी वा व्यक्तिगत कोही कसैको होइन, प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी आश्रम गुठीको हो ।
लमही नगरपालिकाको अर्नहवा क्षेत्रमा मात्रै आश्रमका नाममा ४० बिघा जमिन छ । लमही बजारसँगै रहेको सो जग्गाको मूल्य करोडौँको छ तर पनि आश्रमको जग्गा भित्रभित्रै सुटुक्क किनबेच हुने गरेको छ । प्रशस्त धान फल्ने जग्गा सुटुक्क किनबेच हुन थालेसँगै घर तथा भवन बन्दै गर्दा स्वर्गद्वारी आश्रम गुठीको जग्गाको नामनिसाना नै हराउने चिन्ता बढेको छ । आश्रमको मुख्य आम्दानीको स्रोत रहेको जग्गा नै हराउन थालेपछि आयआर्जनमा समस्या थपिएको छ ।
घोराही र लमहीको वनगाउँमा रहेको आश्रममा पालिएका गाईलाई दानापानी पु¥याउन धौधौ पर्ने गरेको छ । आश्रमका वटुकको खर्च धान्न ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ । स्वर्गद्वारी र सहायक आश्रम वनगाउँ घोराहीमा गरी सात सय गाई छन् । तिनलाई आवश्यक पराल पु¥याउन पनि गाह्रो छ । स्वर्गद्वारी आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले गाईका लागि वार्षिक ९० लाख रुपियाँको पराल किन्नु परेको जानकारी दिनुभयो ।
लमही बजारसँगै रहेको जग्गाको मूल्य करोडौँको छ तर पनि आश्रमको जग्गा भित्रभित्रै सुटुक्क किनबेच हुने गरेको छ ।
उहाँका अनुसार स्वर्गद्वारी आश्रमका नाममा २६ हजार रोपनी जग्गा छ । कोचिबाङमा १४० रोपनी खेत, रोल्पाको रुन्टीमा १३ रोपनी, दाङमा ९३४ बिघा जग्गा छ । त्यसमध्ये ३० बिघा जमिनको आय मात्रै आश्रमलाई प्राप्त हुन्छ । बाँकी जग्गा व्यक्तिहरूले कब्जा गरिरहेका छन् । उक्त जग्गा भोगचलन गरिरहेका किसानसँग वार्षिक दुईदेखि पाँच क्विन्टलसम्म अन्न दिने सम्झौता भएको बताइएको छ । धेरैजसो जग्गा लमही, घोराही, रामपुर र टरिगाउँमा छ । २०२८ सालमा मोहीलाई केही जग्गा नामसारी गरिएको थियो । आश्रमको नाममा अझै पनि जिल्ला भूमिसुधार कार्यालयको फिल्ड बुकमा २१७ जना किसान मोही रहेको उल्लेख छ ।
स्वर्गद्वारी आश्रमको तथ्याङ्क अनुसार आठ सयभन्दा बढी व्यक्तिले जग्गा अतिक्रमण गरेका छन् । गुठीको जग्गा अतिक्रमणकारीलाई राजनीतिक दलका नेता तथा कार्यकर्ताको संरक्षण रहेको छ । त्यसैले ती जग्गा खाली गराउन कठिन भइरहेको आश्रमका अधिकारी बताउँछन् । आश्रममा १०९ वटुकले अध्ययन गरिरहेका छन् । आर्थिक अभावका कारण विद्यार्थीलाई दिइने सेवासुविधासमेत कटौती गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
आश्रमको नाममा करोडौँ मूल्यको जग्गा भए पनि उपयोग गर्न नसक्दा आर्थिक अभाव खट्किँदै गएको छ । अचेल आश्रमको मुख्य आम्दानी स्रोत भनेकै भक्तजनको भेटी भएको छ ।