• १३ साउन २०८१, आइतबार

न्यायोचित ढङ्गले टिकट वितरण हुनुपर्छ : डा. कोइराला

blog

विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेता कोइराला । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, भदौ २२ गते । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले प्रतिनिधि सभा सदस्यको लागि गठबन्धनमा न्यूनतम एकसय सिटभन्दा कम लिन नहुने बताउनुभयो । जनकपुरधामस्थित विमानस्थलमा बुधबार सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो । 

अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसले गठबन्धनमा सय सिटभन्दा कम लियो भने समानुपातिकतर्फ पनि कम भोट आउने उहाँले दाबी गर्नुभयो । 

“प्रतिनिधि सभा सदस्यका लागि कांग्रेसभित्र आकाङ्क्षीहरू धरै छन्, उहाँहरूलाई व्यवस्थापन गर्न पनि सय सिट चाहिन्छ । त्योभन्दा कम सिट लियो भने कांग्रेसभित्र विद्रोह हुने सम्भावना रहन्छ” नेता कोइरालाले भन्नुभयो, “कांग्रेसभित्र न्यायोचित सिट वितरण गर्न पनि कम्तीमा एक सय सिट चाहिन्छ, त्यो भन्दा तलमाथि गर्नु हुन्न ।”

नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिले जनकपुरधाममा बिहीबार आयोजना गरिने बैठकअघि बीपी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधाम आइपुग्नुभएका नेता कोइरालाले कांग्रेसभित्र पनि न्यायोचित ढङ्गले टिकट वितरण गर्नुपर्ने उहाँको भनाइ छ ।  

पत्रकारको एक जिज्ञासामा उहाँले भन्नुभयो, “गठबन्धन गर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने कांग्रेसको केन्द्रीय समितिले निर्णय गरेको छ । त्यसलाई मूर्तरूप दिन पनि कांग्रेसलाई सय सिट चाहिन्छ ।” गठबन्धन दलले जित्ने नेतालाई मात्र उम्मेदवार बनाउन उहाँले सुझाव दिनुभयो ।   

गठबन्धन दलले प्रतिनिधि सभा सदस्यमा सिट सङ्ख्याको टुङ्गो लगाएपछि प्रदेश सभा सदस्यको सिट सङ्ख्या टुङ्ग्याउने उहाँले बताउनुभयो । नेता कोइरालाले आज धनुषाको विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।