• १३ साउन २०८१, आइतबार

ग्रामीण भेगमा बढ्दै मधुमेहका बिरामी

blog

रेडक्रस उपशाखाले बुधवार आयोजना गरेको निःशुल्क स्वास्थ शिविरमा मधुमेह परीक्षण गराउँदै स्थानीय नागरिक । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ २२ गते । सहरी र सम्पन्नको रोगको पहिचान बनाएको मधुमेह (डाइविटिज) पछिल्लो समय ग्रामीण भेगमा पनि तीव्र रूपले वृद्धि भएको देखिएको छ । बर्दिबास रेडक्रस उपशाखाले बुधवार बर्दिबासमा आयोजना गरेको स्वास्थ्य शिविरमा परीक्षण गराएका ४ सय १० जनामध्ये २ सय १७ जनामा मधुमेह पोजेटिभ देखिएको छ । 

यो सङ्ख्या परीक्षण गरिएको सङ्ख्याको तुलनामा ५४ प्रतिशत बढी हो । पहिचान भएकामध्ये १ सय १० जना महिला छन् । शिविरमा ग्लूको मिटरले परीक्षण गरिएको थियो । 

रोटरी क्लब बर्दिबास, कर्मचारी मिलन केन्द्र, र जनसेवा अस्पतालको सहयोगमा रेडक्रसले आयोजना गरेको सो शिविरमा १ सय ३० जनाको आँखासमेत परीक्षण गरिएको थियो । जसमध्ये डाइविटिजका कारण १ सय २१ जनाको आँखामा असर भएको पाइएको छ । ९ जना मोतीबिन्दुका बिरामी फेला परेको रेडक्रसले जनाएको छ । 

रेडक्रसकर्मी मुकुन्द पौडेलका अनुसार पहिचान गरिएका डाइविटिजका बिरामीलाई बिहीबारदेखि प्रत्येक दिन बिहान १० जनाको दरले जनसेवा अस्पतालमा विशेषज्ञ परामर्श, ल्याब टेस्ट र एक महिना निःशुल्क औषधी समेत व्यवस्था मिलाइएको छ । 

एक दिने स्वास्थ्य शिविरमा सहयोगी जनसेवा अस्पतालका इमरजेन्सी विशेषज्ञ डा. गणेश श्रेष्ठ, डा. सुमन सिंहलगायत २५ जना स्वयंसेवीले सेवा प्रदान गर्नुभयो ।