• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचक ११.९७ अङ्कले गिरावट

blog

काठमाडौं, भदौ २२ गते । पछिल्लो एक सातादेखि निरन्तर रूपमा ओरालो लागेको नेप्से परिसूचक बुधवार पनि घटेर कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक ११.९७ अङ्क घटेर १९३९.८८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.७० अङ्क, फ्लोट इन्डेक्स ०.८० अङ्क र सेन्सेटिभ फ्लोट ०.५२ अङ्क घटेको छ ।

कारोबारमा आएका २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता शेयर ८२ करोड ६२ लाख ३० हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । पछिल्लो समय नेप्से परिसूचकसँगै कारोबार रकम समेत गिरावट हुँदै आएको छ । मङ्गलवार एक अर्ब १९ करोड सात लाख ६५ हजार रुपियाँ बराबरको खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक बाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ । तर व्यापार उपसमूहको परिसूचक २.४३ प्रतिशत घटेको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि सनराइज फस्ट म्यु्चुअल फण्डको इकाई मूल्य ७.७२ प्रतिशत बढेको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको शेयर मूल्य ६.३८ प्रतिशत बढेको छ । यता, प्राइम कमर्सियल बैङ्कको ऋणपत्रको मूल्य  ५.८८ प्रतिशत घटेको छ । त्यस्तै, उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य यस दिन ५ प्रतिशत घटेको छ । आज नेपाल टेलिकमको  ५ करोड १५ लाख ६० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।