• ९ मंसिर २०८१, आइतबार

१९ औं निजामती सेवा दिवस

कर्मचारीको सहयोग विना देश अघि बढ्न सक्दैन : प्रम देउवा

blog

निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्बिर : कविता थापा

काठमाडौं, भदौ २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । बुधबार निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगविना देशको विकास हुन नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताउनुभयो । देश किन विकसित हुन सकेन भन्ने बारेमा व्यापक छलफल हुन जरुरी रहेको उहाँको भनाइ छ ।


प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको विकास हुँदैन । सत्य कुरा हो । अस्थायी सरकार हो यो । अब जनताले भोट दियो भने अर्को आउँछ । यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोकेरेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ । पाँच वर्षका लागि हार्ने हार्छ र जित्ने आउने हो । तपाईँहरू त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, दुर्गति छ, देशको । यसको व्यापक छलफल हुन जरुरी छ । बाटो बन्छ तर कर्मचारी जाँदैनन्, साइन गर्छ फर्किहाल्छ । बस्दै बस्दैनन् । त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ ।’’

प्रधानमन्त्रीले कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको बताउनुभयो । उहाँले स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको गुनासो गर्नुभयो ।


उहाँले थप्दै भन्नुभयो, ‘‘देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन २५ वर्ष लाग्छ । बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने, पैसा दिन सरकार तयार छ । देशभरको अवस्था त्यस्तै छ । पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोकेरेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोकेरेसी छ । स्थानीय, प्रदेश र केन्द्रीय ब्युरोकेरेसी छ, तैपनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ ।’’

उहाँले कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गर्ने हो भने विकास हुन समय नलाग्ने धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्नुहुँदै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने बताउनुभयो । अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको प्रधानमन्त्री देउवाको भनाइ छ ।


प्रधानमन्त्रीले भन्नुभयो, ‘‘तपाईँहरू नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन, के गर्ने ? कसरी देश अघि बढ्न सक्छ । पैसा नै छैन, कति विदेशबाट माग्ने, हुँदाहुँदै कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो । काम हुनुपर्छ । देशको आम्दानी हुनुपर्छ । ब्युरोकेरेसीको सहयोगविना कुनै पनि देश अघि बढ्दैन । जनताको सेवा गर्ने पहिलो माध्यम ब्युरोकेरेसी हो । उसले गर्दैन, कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ, फर्किहाल्छ । कर्मचारीको सहयोग नभईकन देश अघि बढ्दैन ।  सबै जिम्मेवार हुनुपर्छ । तपाईँहरू काम गर्नुहोस् । के सुविधा चाहिन्छ, हामी दिन तयार छौँ ।’’

प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले देश विकासका लागि काम गर्न कर्मचारीहरूलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उल्लेख गर्नुभयो ।