• १३ साउन २०८१, आइतबार

सीमामा कडाइ गर्न व्यवसायीको माग

blog

बर्दिया समाचारदाता

बर्दिया, भदौ २१ गते । सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्रिने सामानमा रोक लगाउन व्यवसायीले माग गरेका छन् । 

सीमाबाट निर्बाध रूपमा नेपाल भित्रिने सामानका कारण आफ्नो व्यापार व्यवसाय ठप्प भएको भन्दै व्यवसायीले सीमामा कडाइ गर्न माग गरेका हुन् । बर्दियाको सीमासँग जोडिएका सीमावर्ती भारतीय बजार लौकाही, चित्लहवा, बठनिया, तिकुनिया र बलैमा दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली उपभोक्ता जाने र निर्बाध रूपमा सामान ल्याउने गरेका कारण नेपाली बजार सुक्दै गएको व्यवसायीको गुनासो छ । 

यस जिल्लाका गुलरिया, मैनापोखर, बाँसगढी, मधुवन, राजापुर, जयनगरलगायतका मुख्य बजार क्षेत्रमा दशँै, तिहारजस्ता चाडपर्व आउन लाग्दासमेत व्यापार बढेको छैन ।

चाडपर्वको समय सुरु हुँदासमेत स्थानीय बजारमा चहलपहल नहुनु तर सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको लर्को लाग्न थालेपछि सीमामा कडाइ गर्न माग गरिएको उद्योग वाणिज्य सङ्घ, जिल्ला समन्वय समिति बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताउनुभयो ।

सीमावर्ती भारतीय बजारका कारण स्थानीय व्यापार बन्द हुने अवस्था आएको बताउँदै अध्यक्ष पाण्डेले यो समस्याको दीर्घकालीन समाधान गर्न योजना तयार गरी अवैध आयात निरुत्साहित गर्दै सीमामा कडाइ गर्नुपर्ने बताउनुभयो । उहाँले सीमामा भन्सार कार्यालय अविलम्ब स्थापना गर्न माग गर्नुभयो ।

भारतीय सीमा क्षेत्र नजिक सञ्चालनमा रहेका भारतीय बजार जाने नाकामा छोटी भन्सार स्थापना गर्नुपर्ने तथा घरायसी उपभोगको नाममा दैनिक रूपमा हुने अवैध सामान ओसारपसार कार्य रोक्न माग गर्दै जिल्लाका आठवटै स्थानीय तहमा रहेका उद्योग वाणिज्य सङ्घले समेत संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका छन् ।