• १३ साउन २०८१, आइतबार

दुई लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय सर्लाही ।

जनार्जन खत्री
सर्लाही, भदौ २० गते । 
सर्लाहीको हरिवन नगरपालिका –२, चिसापानीबाट जुवा खेलिरहेका १२ जना जुवाडे पक्राउ परेका छन् ।

उत्तरी चुरेभेगमा पर्ने चिसापानीस्थित एक छाप्रोमा जुवा खेलिरहेका सर्लाही, महोत्तरी, धनुषा र पर्साका १२ जना जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका –२, का ३० वर्षीय भिम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङ्ग, ४९ वर्षीय टीकाप्रसाद घिमिरे, हरिवन नगरपालिका –१, का ३५ वर्षीय तेजबहादुर गोले र ५३ वर्षीय शङ्कर श्रेष्ठ रहेका छन् ।

त्यसैगरी, सर्लाहीकै लालबन्दी नगरपालिका –१, का ३४ वर्षीय चान्द खाँ, कौडेना गाउँपालिका –२, का ५४ वर्षीय चुनिलाल चौधरी, महोत्तरीको बर्दिबास नगरपालिका –८, का २९ वर्षीय हीराबहादुर श्रेष्ठ, औरही नगरपालिका –२, का ३८ वर्षीय हरिनारायण महतो, धनुषाको मिथिला बिहारी नगरपालिका–७, का ५९ वर्षीय ईश्वरी साह र पर्साको प्रसौनीभाठा नगरपालिका –२, का ५४ वर्षीय पानालालप्रसाद साह पक्राउ परेका प्रहरीले जनाएको छ ।

छाप्रोमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीको विशेष टोलीले आइतबार राति २ बजे जुवाडेहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखेर थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेलले जानकारी दिनुभयो । पक्राउ परेका सबै पेसेवर जुवाडे हुन् ।

करिब २०/२५ जनाको समूहले व्यवस्थित ढङ्गले जुवा खेलिरहेको भए पनि प्रहरी टोली पुग्दा अन्य भने भाग्न सफल भएका छन् । प्रारम्भिक अनुसन्धानमा केही व्यक्तिले सीमित लाभ लिएर जुवा खेलाउँदै आएको खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।

प्रहरी उपरीक्षक पोखरेलका अनुसार जुवाको खालबाट दुई लाख ७१ हजार छ सय नेपाली र २५० भारतीय रुपियाँसहित चार थान कौडा, चार थान तास, दुई बट्टा पाउडर, दुई थान ओछ्याउने कार्पेट, एक थान हुक्का, एक थान सानो इन्भर्टर र आठ थान मोबाइल बरामद भएको छ ।