लक्ष्मण पौडेल
भैरहवा, भदौ २० गते । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजना सम्पन्न भएको छ । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सम्पन्न भएको हो । यो आयोजनाको औपचारिक उद्घाटन सोमबार हुने कार्यक्रम छ ।
नेपाल विद्युत् प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर लामो बुटवल–लुम्बिनी प्रसारण लाइनमा विद्युत् प्रवाह (चार्ज) गरी यसअघि नै सञ्चालनमा ल्याएको छ ।
प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै करिब दुई सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ । मैनहियामा १३२/३३/११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३/११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहेका छन् । यो प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने र उद्योगलाई मागेजति विद्युत् दिन सकिने आयोजनाका प्रमुख हरिप्रसाद पाण्डेले बताउनुभयो ।
स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिनेछ । त्यसमध्ये चारवटा फिडरको लाइन तानिएको पाण्डेले बताउनुभयो ।
आयोजनाका अनुसार हाल भैरहवा क्षेत्रमा औद्योगिक र गार्हस्थ्य प्रयोगमा करिब ६० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । जब कि उद्योग क्षेत्रको मात्रै ९० मेगावाटको माग छ । आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत् तत्कालै आपूर्ति गर्ने योजनामा आयोजना छ । पछि माग थप भएमा दुई सय मेगावाट विद्युत् मैनहिया सबस्टेसनबाट उपलब्ध गराउन सकिनेछ ।
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा–लुम्बिनी औद्योगिक कोरिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रमा पर्याप्त विद्युत् पुग्नेछ ।
१८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई दुई किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आव २०७०/७१ मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९ को महामारीलगायतका कारण आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।
मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशसँग विद्युत् प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पतिया (न्यु नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ ।
अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकामा मैनहिया–सम्पतिया बनेपछि नेपाल–भारतबीचको अन्तरदेशीय विद्युत् व्यापार अझ सहज बन्नेछ ।
मैनहिया–सम्पतिया १३२ केभी प्रसारण लाइनको ठेक्का सम्झौता भएको दुई वर्षमा ९६ टावरको फाउन्डेसन, ९० वटा टावर जडान र पाँच किलोमिटर तार तान्ने काम सम्पन्न भएको छ भने पाँचवटा टावर र २२ किलोमिटर तार तान्ने काम मात्र बाँकी रहेको आयोजना प्रमुख पाण्डेले बताउनुभयो ।