• १२ असोज २०८१, शनिबार

पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण

blog

सुकुम्वासीलाई जग्गाधनी लालपूर्जा प्रदान गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ १९ गते । कास्कीको पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ताप्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गर्नुभयो । 

लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले अहिलेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपुर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गर्नुभयो । उहाँले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी रहने बताउनुभयो ।

मन्त्री श्रेष्ठले अबको २ वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने गरी सरकार योजना बनाएर अगाडी बढेका र यस अभियानका कोही पनि वास्तविक भूमिहीन सुकुम्वासी भूमि पाउनबाट वञ्चित हुन नहुने बताउनुभयो ।

उहाँले भूमिको उचित प्रयोगका लागि भूउपयोग नियमावली कार्यान्वयनमा ल्याइएको  भूमि र भूमिको समुचित प्रयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व बढाएर स्वाधीन अर्थतन्त्रको निर्माण गर्ने दिशामा मुलुक अगाडी बढिसकेको भन्दै छिटो जग्गाको वर्गीकरण गर्न स्थानीय तहहरुलाई आग्रह समेत गर्नुभयो ।  

उहाँले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने गरी योजनाबद्ध रूपमा सरकार अगाडी बढेको पनि बताउनुभयो । 

मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न उनीहरूको पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडी बढीसकेको जानकारी पनि दिनुभयो ।

मन्त्री श्रेष्ठले भूमिसँग जोडिएका समस्या समाधान गर्न भूमिको क्षेत्रमा कार्यरत सबै सचेत बन्नु पर्नेमा जोड दिँदै संविधानमा लिपिबद्ध नागरिकका हक कार्यान्वयन गर्न कसैले पनि बाधा सिर्जना गर्न नहुने बताउनुभयो ।