मुक्तिनाथ समाचारदाता
मुक्तिनाथ (मुस्ताङ), वैशाख ८ गते । मुस्ताङको ल्होमन्थाङ गाउँपालिकाको कोराला नाकाबाट सुरु भएको सफा मुस्ताङ अभियान शनिबार थासाङ गाउँपालिका–४, घाँसा काभ्रेभिरमा पुगेर समापन भएको छ । छिमेकी जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, दानासँग सिमाना जोडिएको स्थान हो ।
जिल्ला समन्वय समिति र पाँच वटै स्थानीय तहले बुधबारदेखि सुरु गरेको अभियान २५ वटाका विभिन्न क्षेत्रमा पुगेर फोहोर सङ्कलन, विसर्जन तथा सचेतनामूलक कार्यक्रम गरी समापन भएको हो । मुस्ताङमा घुम्न आउने पर्यटक र स्थानीयवासीले जथाभाबी फालेको फोहोरले वातावरण क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण तथा फोहोर व्यवस्थापनका लागि उचित स्थानको पहिचानसँगै घुम्न आएका पर्यटकलाई फोहोर नगरिदिन अनुरोधसमेत गरिएको जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङले बताउनुभयो ।
जिसस प्रमुख भन्नुहुन्छ, “धेरै फोहोर भएका क्षेत्रमा नियमित सरसफाइका लागि स्थानीय वडालाई अनुरोध गरेका छौँ, सुन्दर मुस्ताङलाई फोहोररहित बनाउने अभियानमा यो कोसेढुङ्गा साबित हुने छ ।” अभियानका क्रममा नकुहिने १० ट्याक्टर फोहोर सङ्कलन गरी मापदण्डको पालना गर्दै विसर्जन गरिएको जिसस प्रमुख गुरुङले बताउनुभयो ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोब्साङ छेम्बेलले यो सन्देशमूलक अभियान भए पनि नियमित फोहोर सङ्कलनका लागि वडास्तरमै संयन्त्र बनाइने बताउनुभयो । पछिल्लो समय कोरला नाकामा पुग्ने पर्यटकले बेनी–जोमसोम–कोरला सडकखण्डमै फोहोर गर्ने गरेको अवस्थामा अभियानले फोहोर फाल्ने काममा सचेतना जगाएको अध्यक्ष विष्टको भनाइ छ । अभियानमा पालिका तथा वडास्तरमा नियमित फोहोर सङ्कलन गर्ने सवारीसाधनको प्रयोग, पर्यटकीय स्थलमा फोहोर फाल्ने भाडासहित सन्देशमूलक सूचना तथा धेरै पर्यटकको जमघट हुने स्थानमा नियमित सरसफाइ गतिविधि सञ्चालन गरिने बताइएको छ ।
थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, लोघेकर दामोदरकुण्ड गाउँपालिका र ल्होमन्थाङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा समुदायस्तरमा रहेका सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
गएको कात्तिक १३ गते भएको अन्तरपालिका समन्वयात्मक बैठक र चैत २५ गतेको बैठकले सुन्दर मुस्ताङलाई सफा बनाउन एकै पटक अभियान सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको थियो । सोही अनुसार सफाइका कार्यक्रम गरिएको हो ।
.jpg) 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                