• ८ वैशाख २०८२, सोमबार

अधिकांश व्यक्ति बिमाको पहुँचबाहिर

blog

काठेखोला समाचारदाता

बागलुङ, वैशाख ८ गते । बागलुङमा ४५ प्रतिशत व्यक्ति अहिले पनि स्वास्थ्य बिमाको पहुँचमा पुग्न सकेका छैनन् । स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङको तथ्याङ्क अनुसार एक लाख १४ हजार ५३८ जना व्यक्ति बिमाको पहुँचभन्दाबाहिर छन् । 

२०७८ को जनणनाको आधार मान्ने हो भने बिमा सुरु भएको आठ वर्षमा बागलुङमा ४५.९६ प्रतिशत व्यक्ति स्वास्थ्य बिमाको पहुँचबाहिर छन् । बागलुङमा २०७८ को जनगणना अनुसार दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको छ । 

स्वास्थ्य बिमा बोर्ड कार्यालय बागलुङका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ सम्म एक लाख ३४ हजार ६७३ जनाले स्वास्थ्य बिमा गरेका छन् । जुन ५४.३९ प्रतिशत हो । ६४ हजार १५३ घरधुरी रहेको बागलुङमा हालसम्म ५० हजार ९४५ परिवार बिमित छन् । पौडेलका अनुसार ७१ हजार ८६ महिला र ६३ हजार ५६७ जना पुरुष बिमित छन् । 

१० स्थानीय तह रहेको बागलुङमा सबैभन्दा बढी बागलुङ नगरपालिका र सबैभन्दा कम तमानखोलाका व्यक्ति बिमित छन् । प्रमुख पौडेलका अनुसार बागलुङ नगरपालिकामा ४१ हजार १२ जना, निसीखोला गाउँपालिकामा १७ हजार २१४ जना, गलकोट नगरपालिकामा १५ हजार ५८४ जना बिमित छन् । त्यसै गरी जैमिनी नगरपालिकामा १५ हजार ३२५ जना र काठेखोला गाउँपालिकामा १४ हजार ७६६ जना बिमित भएका छन् ।

त्यसै गरी बडीगाड गाउँपालिकामा १२ हजार २३९ जना, ढोरपाटन नगरपालिकामा १० हजार १८६ जना बिमित छन् । बरेङ गाउँपालिकामा तीन हजार ४६४ जना, ताराखोला गाउँपालिकामा दुई हजार ५७२ जना र तमानखोला गाउँपालिकामा दुई हजार ३११ जना बिमित छन् ।

जिल्लाका सबै नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउनका लागि जिल्लाको ८५ वडामा स्वास्थ्य बिमाका सामाजिक परिचालकलाई खटाइएको प्रमुख पौडेलको भनाइ छ । बागलुङका केही पालिकाले गरिब, विपन्न, दलित र जनजातिको निःशुल्क बिमा गरिदिएका छन् ।

नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे आवश्यकता अनुसार सूचित गराउन नसक्दा बिमाप्रति आकर्षण बढ्न नसकेको स्वास्थ्य बिमाको क्षेत्रमा काम गर्ने कर्मचारी बताउँछन् । नागरिकले बिमाबाट भने जति औषधी नपाउने र उपचारमा पनि समस्या हुने गरेको गुनासो गर्दै आएका छन् ।