• १४ असार २०८१, शुक्रबार

दार्चुला एमालेबाट ठगुन्ना सर्वसम्मत सिफारिस

blog

दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस नेता गणेशसिंह ठगुन्ना । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, भदौ १९ गते । नेकपा (एमाले) दार्चुलाबाट प्रतिनिधिसभा उम्मेदवारमा गणेशसिंह ठगुन्नाको नाम सर्वसम्मत सिफारिस भएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ठगुन्नाको नाम एकल सिफारिस गरिएको एमाले दार्चुलाका उपसचिव एबम् प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

२०७० मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू र २०७४ सालमा कांग्रेसका बिक्रमसिंह धामीलाई हराउँदै एमाले नेता ठगुन्ना लगातार दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसपटक पाँच दलिय गठबन्धनका उम्मेदवारलाई कम्तिमा पाँच हजार मतान्तरले पराजित गर्ने दावी गर्नुभयो ।

यस्तै एमाले दार्चुलाबाट प्रतिनिधिसभामा समानुपातिकतर्फ जेहेन्द्रसिंह ऐतवाल, दुर्गा धामी, विमला दमाई, ज्ञानेन्द्र घर्ती र नगेन्द्र तिंकरी सिफारिस हुनुभएको छ । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को हुने भन्ने अहिलेसम्म टुङ्गो लाग्न नसकेको नेताहरुले बताउनुभयो । दार्चुलामा गठबन्धनबाट कांग्रेस र माओबादी दुबैको प्रतिनिधिसभामा दाबी रहेको छ । 

दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य, प्रदेश सहइन्चार्ज ठगुन्नाले भन्नुभयो, “प्रतिनिधिसभामा कम्तिमा पाँच हजार र प्रदेशसभातर्फ क र ख दुबै निर्वाचन क्षेत्रमा कम्तिमा दुईदेखि अढाइ हजार मतान्तरले दुबै क्षेत्रमा एमालेको विजय हुन्छ ।”