• १३ असार २०८१, बिहिबार

एक सय दिनका एक सय काम

blog

पोखरा समाचारदाता 

पोखरा, भदौ १९ गते। पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएको सय दिन पूरा भएको छ। पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी महानगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको छ।

प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिनमा विभिन्न जातका ३७५ वटा फूलका बिरुवा रोपी आफ्नो कामको सुरुवात गर्नुभएको थियो। सोही कामलाई आचार्यले पहिलो उपलब्धिका रूपमा समावेश गर्नुभएको छ। प्रमुख आचार्यले उज्यालो पोखरा अभियानको सुरुवातदेखि महागनरको सेवा प्रवाहमा एकद्वार प्रणाली, जनगुनासो सुन्न तथा सुनुवाइका लागि हेल्लो मेयर कार्यक्रम, निजी संस्थासँगको साझेदारीमा सार्वजनिक ७२ वटा शौचालय सर्वसाधारणका लागि खुला गरिएको बताउनुभयो। 

उज्यालो पोखरा कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरण र पोखरा महागनरको (५०/५० प्रतिशत) १३ करोडको लगानीमा २३ वटा चोकका हाइमास्ट पोलमा १५ सय चारवटा सडकबत्ती जडन सुरु गरिएको आचार्यले बताउनुभयो।

महत्वपूर्ण स्थानका सार्वजनिक जग्गाहरूको विवाद समाधान तथा स्वामित्व फिर्ता, कृषि एम्बुलेन्स सञ्चालन, छात्रवृत्ति प्रदान तथा राहत र उपचार सहयोगलगायत कामहरू यस अवधिमा सम्पन्न गरिएको उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। साथै विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका दातृ निकायको साझेदारीमा दीर्घकालीन महत्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डीपीआर निर्माण तथा निर्माण सम्झौतासमेत गरिएको उहाँले बताउनुभयो।

युवा तथा बेरोजगार वर्गलाई लक्षित गरी ३० करोड पुँजी भएको व्यवसाय प्रवद्र्धन केन्द्र स्थापना गरिएको महानगरले जनाएको छ। आगामी असोज मसान्तसम्म बेरोजगारको लगत सङ्कलन गरिसक्ने गरी काम भइरहेको महानगरको भनाइ छ। भौतिक पूर्वाधारतर्फ बहुतले पार्किङ स्थल तथा सिटी बसपार्क निर्माणको अध्ययन एवं डीपीआर तयार पार्न महानगर र नगर विकास कोषबीचमा सम्झौता भएको प्रमुख आचार्यले बताउनुभयो। साबिक लेखनाथ नगरपालिकाको तालचोकदेखि बेगनास ताल बसपार्कसम्मको सडक चार लेनको बनाउन ७५ करोडमा ठेक्का सम्झौता भइसकेको सो क्रममा जानकारी दिइयो।

आगामी अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी रहेकाले त्यस पहिले नै अन्यन्त्र फोहोर व्यवस्थापन हुने आचार्यले प्रतिबद्धता जनाउनुभयो।

एक सयभन्दा बढी बाख्रा पाल्ने किसानलाई विशेष सम्मानसहित २० लाख बराबरको अनुदान वितरण र किसानलाई राहत प्रदान गर्न चिस्यानसहितको कृषि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाइएको, सुन्तला कृषकलाई किसान डिजिटल कार्ड वितरण गरी २० लाख अनुदान प्रदान गरिएको आचार्यले बताउनुभयो।