• १२ असोज २०८१, शनिबार

विद्यालयको जग्गा व्यक्तिको नाममा

blog

खोटाङ समाचारदाता

खोटाङ, भदौ १९ गते । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछिपोखरीस्थित रोसाभञ्ज्याङ प्राविको जग्गा व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गा धनीले अर्कै ठाउँको जग्गा विद्यालयलाई पास गरिदिएपछि विद्यालयको जग्गा चाहिँ व्यक्तिकै नाममा रहेको पाइएको हो । रोसाभञ्ज्याङ प्रावि वि.सं. २०४५ मा स्थापना भएको हो । स्थानीय ओमबहादुर थापा (राजन) ले निःशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको थियो । २०७२ जेठ २८ गते जग्गा पास गरियो तर कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।

दिइएको जग्गा एकातिर, पास अर्कैतिर भएपछि हाल विद्यालय अप्ठ्यारोमा परेको छ । कतिपयले जग्गादाताले नियतबस अर्को ठाउँको जग्गा पास गरिदिएको आरोप लगाइरहेका छन् । जग्गादाता परिवारले भने भुलबस अर्को कित्ताको जग्गा पास भएकाले सो जग्गा फिर्ता गर्न र विद्यालय रहेको जग्गा पास गरिदिने बताइरहेका छन् । विद्यालयको नाममा पास भइसकेको जग्गा फिर्ता गर्न मन्त्री परिषद्को निर्णय चाहिने भएकाले समस्या सिर्जना भएको प्रधानाध्यापक जर्ण चाम्लिङले बताउनुभयो ।