• १३ साउन २०८१, आइतबार

भोटे चौरमा पर्यटकीय पूर्वाधार: काठमाडौँ महानगरको लागत सहभागिता

blog

काठमाडौँ, भदौ १८ गते । मेलम्ची नगरपालिकाको भोटे चौरमा पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास भएको छ । भदौ १७ गते काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल र मेलम्ची नगरका प्रमुख आइतमान तामाङले संयुक्त रूपमा भोटे चौर एकीकृत पर्यटकीय पूर्वाधार निर्माणको शिलान्यास गर्नुभएको हो । भगिनी सम्बन्ध भएका नगरसँग सार्वजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्धन गर्न साझेदारी कार्यक्रम सञ्चालन गर्ने क्रममा यस पूर्वाधार निर्माणका लागि महानगरको लागत सहभागिता छ । 

मेलम्ची, काठमाडौँ महानगरको भगिनी सम्बन्ध भएको नगर हो । २०७७ पुस २१ गते दुई नगर बिच भगिनी सम्बन्ध स्थापना सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । महानगरले सम्बन्ध स्थापनापछि मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग सम्झौता गरेको थियो । २०७८ असार १ गते नदीमा आएको बाढीले बजार क्षेत्रमा क्षति पुराएपछि त्यो दुःख व्यवस्थापन गर्न दुई करोड रुपैयाँ उपलब्ध गराएको थियो । 

शिलान्यासपछि प्रमुख अतिथि एवं महानगरकी उपप्रमुख डङ्गोलले, भगिनी सम्बन्ध आर्थिक लेनदेनका लागि मात्र नभई, सांस्कृतिक आर्थिक विकासका पक्षमा अनुभव तथा सिकाइ आदान प्रदान गर्ने थलो भएको उल्लेख गर्नुभयो । ‘मेलम्चीले काठमाडौँलाई पानी दिएको छ । कृषिजन्य उत्पादनबाट काठमाडौँलाई टेवा पुर्याएको छ । यसरी काठमाडौँलाई सहयोग दिइरहेको मेलम्चीसँग भगिनी सम्बन्ध गाँसिएकोमा हामी हर्षित छौँ ।’ आपसी सम्बन्ध पछि पर्यटन पूर्वाधारका विषयमा कुरा गर्दै उहाँले, प्राकृतिक र मानवीय कुनै पनि कारणले आयोजना निर्माण सम्पन्नतामा ढिलाइ हुनु नहुने बताउनुभयो । 

उपप्रमुख डङ्गोलले, काठमाडौँमा मनाइने इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय नगरबाट प्रमुख, उपप्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा दिइएको प्रसङ्ग उल्लेख भन्नुभयो, ‘मेलम्चीको आँगनबाट हामी तपाईँहरूलाई पर्व अवलोकनका लागि पाल्नुहुन निमन्त्रणा गर्दछौँ ।’

कार्यक्रममा मेलम्ची नगरका प्रमुख आइतमान तामाङले, भोटे चौर पर्यटकीय पूर्वाधारले काठमाडौँ र मेलम्चीबिचको सम्बन्धलाई पछिल्लो पुस्ताले हेर्न पाउने बताउनुभयो । ‘यो परियोजना १८ करोड ३५ लाख लागतको हो । यसमध्ये पहिलो चरणमा दुई करोड २० लाख लागत बराबरको काम गर्दै छौँ ।’ प्रमुख तामाङले अनुमान गरिएको लागतमा बोलपत्रबाट २ करोड ४ लाख ५६ हजारमा काम हुने जानकारी गराउनुभयो । 

विस्तृत परियोजना प्रतिवेदनको प्रसङ्ग उल्लेख गर्दै उहाँले, यसको निर्माण सम्पन्नताका लागि काठमाडौँ महानगरबाट नियमित सहयोगको अपेक्षा गर्नुभयो । हामी सङ्घ र प्रदेश सरकारसँग पनि सहयोग माग्छौँ । प्रमुख तामाङको भनाइ थियो । 

कार्यक्रममा मेलम्ची नगरकी उपप्रमुख उमा प्रधानले पर्यटन पूर्वाधारबाट स्थानीय जीवनस्तरमा सुधार आउने अपेक्षा गर्नुभयो । त्यस्तै निवर्तमान प्रमुख डम्बरबहादुर अर्यालले, पर्यटन पूर्वाधारसँगै यस क्षेत्रमा घुम्न आउने पर्यटकले खरिद गरेर लैजाने सामग्री उत्पादनमा पनि जोड दिनुपर्ने बताउनुभयो । 

नगर साझेदारी कार्यक्रमअन्तर्गत यस अघि मेलम्ची सिटी पार्क निर्माण कार्य थालिएको थियो । मेलम्चीका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले २०७८ असार १ गते मेलम्ची नदीमा आएको बाढीले सिटी पार्कलाई पुनर्स्थापना गर्न नसकिने गरी क्षति पुराएपछि भोटे चौर पर्यटकीय पूर्वाधारमा योजना सारिएको जानकारी दिनुभयो । 

मेलम्चीले साझेदारी कार्यक्रमअन्तर्गत अगाडि बढाएको परियोजनामा प्राविधिक सहयोग आवश्यक भए काठमाडौँ महानगरपालिकाले उपलब्ध गराउने छ । कार्यक्रममा महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख राम थापाको भनाइ थियो ।     

मेलम्ची नगरको वडा १ र २ को खाल्टे, पाताल गुफा, तपो चुली डाँडा र चिया बगानसम्मको क्षेत्रलाई समेटेर पार्क निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको छ । यो भोटे चौर केदारेश्वर मन्दिर पछाडिपट्टिको भूभागमा पर्छ । साढे ४ किलोमिटर क्षेत्रको व्यवस्थित पद मार्ग योजनाको मुख्य विशेषता हो । यसका लागि भिरालो जमिनमा बनाइने १ हजार ६ सय सिँढीसहितको ७ हजार ५२ फिट (२ हजार १५० मिटर) लामो यात्रा मार्ग बनाइनेछ । 

यात्राका क्रममा यात्रुलाई आवश्यक पर्ने आराम गर्ने पाटी, दृश्यावलोकनका लागि भ्यु टावर निर्माण गरिनेछन् । भ्यु टावर भूकम्प प्रतिरोधी हुनेछ । बन क्षेत्र भएकोले यस ठाउँमा वनभोज स्थल बनाइनेछ । त्यस्तै शिव र बुद्धको मूर्ति, मेलम्चीको कृषि उपज देखाउन किवी र चियाका विम्बहरू, रक क्लाइम्बिङ् पर्खाल बनाइनेछन् ।