• १३ साउन २०८१, आइतबार

प्रदेश सभाको अधिवेशन अन्त्य

blog

अविनाश चौधरी

धनगढी, भदौ १८ गते । सुदूरपश्चिम प्रदेश सभाको १०औँ अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिस र प्रदेशप्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो । प्रदेश सभाको १०औँ अधिवेशन जेठ १६ गतेबाट सुरु भएको थियो । यो अधिवेशन अवधिभरि २७ वटा बैठक बसेको सभामुख थापाले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाका सदस्यको पाँचवर्षे कार्यकालको यो नै अन्तिम अधिवेशन हो । आगामी मङ्सिरमा प्रदेश सभा सदस्यको पाँचवर्षे कार्यकाल पूरा हुँदै छ । प्रदेश सभाका सदस्यको पाँचवर्षे कार्यकालमा प्रदेश सभाबाट ६७ वटा विधेयक पारित भएका सभामुख थापाले जानकारी दिनुभयो । उहाँले प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सफल भएको उल्लेख गर्नुभयो । प्रदेश सभाबाट समयमै प्रदेशको स्थायी राजधानी तोकिनुका साथै नामकरण गर्ने कार्य पनि भएको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई सरकारले कार्यान्वयन भने गर्न नसकेको बताउनुभयो । 

यसैबीच प्रदेश सभा सचिवालयको आयोजनामा प्रदेश सभाको पाँचवर्षे कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम गरिएको छ । प्रदेशप्रमुख देवराज जोशीको प्रमुख आथित्यमा कार्यक्रम भएको हो । सो कार्यक्रममा सम्पूर्ण प्रदेश सभा सदस्यलाई प्रदेश सभाका तर्फबाट सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिएको छ । सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्रीहरू, प्रदेश सभा सदस्यलगायतको उपस्थिति रहेको थियो । 

‘जति हुन सक्थ्यो, त्यति काम गरेका छौँ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साढे चार वर्षमा जे जति हुन सक्थ्यो, त्यति काम प्रदेश सरकारले गरेको बताउनुभएको छ । प्रदेश सभा अधिवेशन समापनको अवसरमा पत्रकारसँग कुराकानी गर्नुहुँदै उहाँले प्रदेश सरकारले सङ्घीयताप्रति जनताको आशा, भरोसा र विश्वास बढाउने काम गरेको बताउनुभयो । उहाँले पाँच वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको समग्र विकासको आधारशीला कायम गरेको जिकिर गर्नुभयो । 

“सङ्घीयता नै हाम्रो देशका लागि उपयुक्त व्यवस्था भएकाले यसको सही व्यवस्थापनले परिवर्तन आउँछ,” उहाँले भन्नुभयो, “सङ्घीयताको मर्म र त्यसले ल्याएको परिवर्तन सहरमा होइन, गाउँमा देखिन्छ ।” 

सङ्घीयता आएपछि जादुको छडीजस्तै विकास हुने र सङ्घीयताले सबै चिज सकिन्छ कि भन्ने बुझाइले समस्या सिर्जना भएको मुख्यमन्त्रीको भनाइ थियो । यसैगरी संविधानले एकल र साझा अधिकार दिएको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, “एकल अधिकारको काम त हामीले ग¥यौँ । कानुन बनायौँ तर केन्द्रले साझा अधिकारका कानुन नबनाउँदा हामीलाई काम गर्न समस्या भएकै हो ।” यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारले कानुन निर्माणको सवालमा राम्रो काम गरेको बताउनुभयो । “तर, जनताको जनजीविकाको सवालमा प्रत्यक्ष रूपमा जुन काम गर्नुपर्दथ्यो, त्यसमा हामी चुकेका छौँ,” उहाँले भन्नुभयो, “आगामी सरकारले त्यसतर्फ ध्यान दिएर काम गर्नुपर्दछ ।”

यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता एवं पूर्वमन्त्री प्रकाश शाहले पाँचवर्षे कार्यकालमा प्रदेश सरकारले गरेका काम सन्तोषजनक रहेको बताउनुभयो । उहाँले बजेट परिचालनको सवालमा सङ्घ र स्थानीय सरकारभन्दा प्रदेश सरकार बढी गतिशील रहेको बताउनुभयो । “प्रदेशकै कारण आज दूरदराजका जनताले विकासको अनुभूति गर्न पाइरहेका छन्,” उहाँले भन्नुभयो । 

यसैबीच सुदूरपश्चिम प्रदेशको सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभा बैठकबाट पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभा बैठकले सर्वसम्मतले सो विधेयक पारित गरेको हो । यसअघि सो विधेयकमाथिको छलफलमा प्रदेश सभा सदस्य हर्कबहादुर कुँवर, बलबहादुर सोडारी, शान्ति नेपाली र मालामती रानाथारूले भाग लिनुभएको थियो ।  

सुदूरपश्चिम प्रदेश सभाबाट ६७ वटा विधेयक पास भएको छ । पास भएकामध्ये ६४ विधेयक प्रमाणीकरण भएका र पछिल्लो समय पास भएका तीनवटा विधेयक प्रमाणीकरण हुन बाँकी रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो ।