• ८ मंसिर २०८१, शनिबार

मानवको अभिन्न अवयव सञ्चार

blog

व्यावहारिक जीवनमा हाम्रो सञ्चार क्रियाकलाप जति स्वतःस्फूर्त देखिए तापनि हाम्रो मस्तिष्कले यसका लागि अत्यन्त जटिल प्रक्रिया पार गरेको हुन्छ, जसलाई बुझ्नका लागि सङ्केत प्रणाली (साइन सिस्टम) तथा सङ्केत संयोजन (सिग्निफिकेसन) बारे ज्ञान आवश्यक पर्छ । सङ्केत प्रणालीकै आधारमा भाषा निर्मित हुन्छ । हरेक भाषाका आफ्नै खालका सङ्केत प्रणाली हुन्छन् । अथवा यसो पनि भन्न सकिन्छ, सङ्केत प्रणालीमा फरक रहेकैले फरक फरक समुदायले फरक फरक भाषा विकास गरेका हुन्। मानवले मातृभाषा वा अन्य भाषा सिक्ने भनेको वास्तवमा एक विशेष खालको सङ्केत प्रणाली सिक्ने हो।

सङ्केत प्रणालीले मानिसलाई सङ्केत संयोजनका लागि मार्गनिर्देश गर्दछ। सङ्केत संयोजन भनेको वस्तु, अनुभूति, विचार, घटना आदिका लागि उपयुक्त सङ्केतको चयन प्रक्रिया हो। कतिपय अवस्थामा यो नामकरण कार्य हो। जस्तैः एक तरल–पदार्थ– विशेषको ‘पानी’ नामकरण, जुन ‘दूध’ वा ‘तेल’ जस्ता अन्य तरल–पदार्थभन्दा फरक हो। नामकरण प्रक्रियामा सङ्केत प्रणाली, सङ्केत संयोजन, सङ्केत, संस्कृतिलगायतका धेरै आयामको प्रत्यक्ष प्रभाव पर्छ।

बारम्बारको अभ्यास एवं अन्तर्निहित प्रतिभा दुवैको कारणले गर्दा मानिस यसमा अभ्यस्त बन्छ र चेतन मस्तिष्कलाई कुनै भार नपरिकनै सहजै आफ्ना अनुभूति, विचार आदिलाई वाञ्छित सङ्केतक (कोड) मा अभिव्यक्त गर्छ। जस्तै : नेपाली भाषामा ‘पानी’ भनिएको तरल पदार्थ अङ्ग्रेजी भाषामा ‘वाटर’ शब्दले जनाइने गरिएको छ। एउटै तरल–पदार्थ–विशेषलाई सम्झँदा कसैको मस्तिष्कमा ‘पानी’ शब्द आउँछ भने अन्य कसैको मस्तिष्कमा ‘वाटर’ शब्द आउँछ। वक्ताले आफू कुन भाषा प्रयोग गरिरहेको छु भन्ने सचेतताका आधारमा उक्त तरल पदार्थका लागि उपयुक्त शब्द चयन गरिरहेको हुन्छ।

सञ्चार (कम्युनिकेसन) को भूमिका तथा महत्वलाई हामी विभिन्न आयामबाट चर्चा गर्न सक्छौँ। साझेदारीको समग्र प्रक्रियाको रूपमा सञ्चारको भूमिका तथा महत्व हेर्ने हो भने सञ्चार मानव समाजको सबै आर्थिक– सामाजिक, राजनीतिक तथा सांस्कृतिक गतिविधिको जगमा निहित देखिन्छ। सञ्चार ती सबै कुराको केन्द्र हो जसबाट मानिसले सामाजिक यथार्थको सिर्जना र व्यवस्थापन गर्दछ।

सामाजिक यथार्थले व्यक्ति स्वयम्, समुदाय, संस्थापन, संस्कृति सबैलाई समेट्छ। सञ्चार माध्यमबाट हामी आफ्नो बारेमा अवधारणा निर्माण गर्छौं– हामी को हौँ ? हामी समुदायभित्र सम्बन्धहरू बनाउँछौँ। हामी सञ्चार गर्छौं र सामुदायिक सम्बन्धको निर्माण–पुनर्निर्माण हेतु कार्य गर्छौं। मानवका सामाजिक सम्बन्धहरू सञ्चारका कारणले नै अस्तित्वमान् र व्यवस्थित हुन्छन्। यदि सञ्चार प्रक्रियाबाट आपसी साझापनको भावना महसुस गर्न नसकेको भए मान्छे सामाजिक प्राणी बन्न सक्ने नै थिएन। मानव समाजको जग नै सञ्चारमा अडेको छ। 

मानव क्रियाकलापको रूपमा सञ्चार कति सर्वव्यापी छ भने यसको अनुपस्थितिमा जीवित मानवको कल्पना गर्न सकिँदैन। सञ्चार मानिसका दैनिक गतिविधिमा अभिन्न रहेको छ। आफूले कति धेरै सञ्चार गरिरहेछु भन्नेमा प्रायः सचेत नरहे पनि मानिस हरपल सञ्चारमा संलग्न हुन्छ। चाहेर होस् वा नचाहेर, थाहा पाएर होस् वा नपाएरै, मानिस सदैव सञ्चाररत हुन्छ। कुनै पनि क्षण यस्तो हुँदैन, जुन बेला मानवले सञ्चार नगरिरहेको होस्। कुनै पनि व्यक्तिले गर्ने झन्डै झन्डै सबै कुराको सञ्चारीय सार्थकता हुन्छ। यसरी मानव जीवनमा सञ्चार हरेक क्षण निहित छ।

मान्छेलाई आफू एक्लै भएर पुग्दैन, ऊ सामाजिक प्राणी भएकोले अन्य व्यक्तिसँग सम्पर्क, सम्बन्ध कायम राख्न चाहन्छ। आफ्नो गाउँघर मात्र होइन, त्यसभन्दा पर देश–विदेश तथा अन्तरिक्षका कुरासमेत जान्ने जिज्ञासा मान्छेमा रहेको हुन्छ। त्यसैले आदिम कालदेखि नै मानव कुनै न कुनै रूपको सञ्चारमा अभ्यस्त हुँदै आएको छ। मान्छे यति धेरै जिज्ञासु नभएको भए, अनि ऊसँग सञ्चार कार्यको क्षमता नभएको भए मानव समाजमा सभ्यताको विकास यो हदसम्म हुन सक्ने थिएन। अरू प्राणीभन्दा मानव उत्कृष्ट हुन सकेको सञ्चारको कारणले नै हो भन्ने भनाइ छ।

ज्ञानको एक विधाको रूपमा सञ्चारको भूमिका तथा महत्व यसैबाट पनि बुझ्न सकिन्छ कि ज्ञानको अरू कुनै विधा यो जत्तिको विस्तृत छैन। सञ्चार मानव समाजको सबै आर्थिक– सामाजिक, राजनीतिक तथा सांस्कृतिक गतिविधिको जगमा निहित भएकाले सञ्चारको यथेष्ट ज्ञानबिना ती क्षेत्रको पूर्ण ज्ञान सम्भव छैन। सञ्चारशास्त्रको अध्ययनले सञ्चार प्रक्रियाका साथै अन्ततोगत्वा मानवसमाजबारे नै समष्टि ज्ञानको अभिवृद्धि गराउने हो। 

सञ्चार जहिले पनि मानव जीवनको अभिन्न क्रियाकलाप भए तापनि सञ्चार प्रक्रिया सम्पन्न गर्नका लागि प्रयुक्त माध्यमहरू भने समयक्रममा परिवर्तित र विकसित हुँदै आएका छन्। आज हामीसँग जे जस्ता सञ्चारका साधनहरू छन्, ती हाम्रा पुर्खाका लागि उपलब्ध थिएनन्। त्यसैले सञ्चार मानव जीवनको अभिन्न अङ्ग हुँदाहुँदै पनि आजजस्तो बहुआयामिक बन्न सकेको थिएन। 

एक ठाउँको खबर अर्को ठाउँमा पु(याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचीन कालमा कुनै व्यक्ति विशेषलाई जिम्मा दिइने ‘कटुवालप्रथा’ थियो। साथै, मानिसहरूको ध्यानाकर्षण गर्नका लागि ढोल, नगरा, दमाहा, झ्याली बजाउने प्रचलन थियो। परेवा तथा घोडालाई तालिम दिई एक ठाउँको खबर अर्को ठाउँमा पु-याउने कार्यमा तिनीहरूको उपयोगसमेत गरिन्थ्यो। सूचना लेखी सार्वजनिक स्थलमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो। यी सबै सञ्चारका परम्परागत वा पुराना तरिका हुन्। प्राविधिक पूर्वाधार, सामाजिक–सांस्कृतिक पृष्ठभूमि, अर्थ–राजनीतिक परिवेश आदिमा परिवर्तन आउँदा सञ्चार गर्ने तरिका पनि परिवर्तन हुन्छ।

सञ्चारमा संलग्न सदस्य (मानव) जहिल्यै पनि सामाजिक–सांस्कृतिक पृष्ठभूमिसहितको हुन्छ। त्यस्तै, सञ्चार प्रक्रियामा प्रयुक्त भाषा वा अन्य सङ्केत पनि सांस्कृतिक पृष्ठभूमियुक्त नै हुने तथ्य पनि छँदैछ। वास्तवमा मानव–सञ्चार कहिल्यै पनि सांस्कृतिक सन्दर्भभन्दा बाहिर घटित हुँदैन। सञ्चारको जुनसुकै पक्ष परीक्षण गरियोस्, यसको जरो पूर्णतया सांस्कृतिक आधारमै हुन्छ। संस्कृति–निरपेक्ष वा समाज–निरपेक्ष सञ्चार प्रक्रिया हुनै सक्दैन।

सञ्चारको हरेक क्रिया समाजद्वारा नै निर्धारित हुन्छ तथा दुई व्यक्तिबीच हुने सामान्यभन्दा सामान्य सञ्चारलाई पनि पूर्णतया व्याख्या गर्ने हो भने हामीले सयौँ सामाजिक तथा सांस्कृतिक तìवहरूलाई ध्यानमा राख्नुपर्ने हुन्छ। दुई व्यक्तिबीच भेट हुँदा गरिने ‘नमस्कार’ को सामान्य अभिवादन पनि अनेकौँ जटिल सांस्कृतिक पृष्ठभूमिसहितको हुन्छ। सञ्चार र संस्कृति यसरी जोडिएका छन् कि मानवसम्बद्ध प्रायः सबै सञ्चार प्रक्रिया संस्कृतिसँग सम्बन्धित छन्।

आधुनिक मानव समाजमा नयाँ नयाँ प्रविधिसँगै सञ्चारका साधनहरू पनि विकसित हुँदै गए। आज हामीसँग सञ्चारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजनजस्ता साधन छन्। साथै, टेलिफोन, फ्याक्स, इमेल, इन्टरनेट आदि सुविधा उपलब्ध छन्। भू–उपग्रह, कम्प्युटर, अप्टिकल फाइबर आदिले गर्दा सञ्चार सुविधा पहिलेभन्दा अझ बढी छिटो–छरितो र सहज बनेको छ। वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ। सात समुद्र पारिका देशमा भएका घटनाको विवरण तत्कालै (‘लाइभ’) घरमै बसी–बसी हेर्न सकिने भएको छ। पहिलेको तुलनामा एक देश वा समाजका मानिसले अर्को देश वा समाजका मानिसका बारेमा बढी भरपर्दो जानकारी प्राप्त गर्न सक्ने अवसर पनि यी सञ्चारमाध्यमको विकासले प्रदान गरेको छ। यसरी आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले विश्वबन्धुत्वको भावनामा समेत वृद्धि भई विश्वग्रामको अवधारणालाई बल पुगेको छ। 

सञ्चार क्षेत्रमा भएका नयाँ नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ। सञ्चार साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ। आजभन्दा केही वर्षअघि र अहिलेको मात्र तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग दृष्टिगोचर हुन्छ। खबर पाउन र आपसी कुराकानीका लागि मात्र होइन कि फुर्सदको बेलामा मनोरञ्जन गर्नका लागि समेत सञ्चारमाध्यम सहायक भएका छन्। कतिपय देशमा त सञ्चार माध्यममार्फत नै बृहत् स्तरमा शिक्षा दिने कार्यसमेत सुरु भइसकेको छ। 

सञ्चार माध्यमको व्यावसायिक पक्षले पनि आधुनिक मानव समाजमा ठूलो महत्व पाएको छ। सञ्चारमाध्यमको प्रयोग गरी सूचनाको वितरण गर्ने कार्य अहिले एक ठूलो उद्योग बनिसकेको छ। यसबाट संसारमा लाखौँ मानिसले रोजगारी पाएका छन्। सञ्चारको क्षेत्रमा विकसित देश हरेक क्षेत्रमा अग्रणी भइरहेका छन्। सञ्चार प्रक्रियामा लिने वा दिने कार्य मात्र हुँदैन; प्रत्युत लिने–दिने दुवै कार्य एकैपल्टमा भइरहेको हुन्छ। उदाहरणका लागि, कृष्णसँग भएको फूल उनले राधालाई दिए भने अब कृष्णसँग त्यो फूल रहँदैन। पसलमा गएर रामले पसलेसँग पुस्तक किन्दा रामसँग अघि भएको पैसा अब पसलेकोमा पुगेको हुन्छ भने पसलेसँग अघि भएको पुस्तकचाहिँ अब रामसँग हुन्छ तर हरिले आफूलाई थाहा भएको कुनै समाचार विष्णुलाई सुनाए भने अब उक्त समाचार दुवै जनालाई थाहा हुन्छ। यसरी सूचना वा सन्देशको साझेदारी हुनु सञ्चार प्रक्रियाको विशेषता हो। वास्तवमा सञ्चारको हेतु नै सन्देश वा सूचनाको साझेदारी हो। 

सञ्चारको गुणात्मकता सधैँ उस्तै हुँदैन, यसमा संलग्न पक्ष तथा प्रक्रियामा प्रयुक्त साधनअनुसार गुणात्मकतामा फरक पर्न सक्दछ। सञ्चार प्रक्रियाको सफलता वा प्रभावकारिता प्रेषक र प्रापक दुवै पक्षमा निर्भर हुन्छ। प्रेषक र प्रापक दुवै पक्षको सक्रिय सहभागिता नभई सञ्चार प्रभावकारी बन्न सक्दैन। आधुनिक मानव समाजमा सञ्चार सबै सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिको केन्द्र बनेको देखिन्छ। वास्तवमा सञ्चार नै यस्तो क्षेत्र रहेको छ जहाँ असीमित अवसर प्राप्त छन्। अहिलेको युगमा सूचना नै वास्तविक सम्पत्ति हो र सूचना सम्पन्नताका लागि सञ्चारलाई जीवनपद्धति नबनाइ सुखै छैन।