• १६ भदौ २०८१, आइतबार

पहिरोले मध्य पहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

blog

गणेश पौडेल

पर्वत, भदौ १५ गते । मङ्गलवार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण पर्वतको कुश्मा नगरपालिका ८ दोबिल्ला स्थित सुन्दरे खोलामा सडक अवरुद्ध बनेको हो ।  

सुन्दरे खोलामा आएको बाढी सहितको पहिरोले सडकमा ठुला ठुला ढुङ्गा ल्याउँदा सडक अवरुद्ध बनाएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन डोजर प्रयोग गरिएको र केही समयमा खुल्ने बताइएको छ । यस्तै पर्वतको मोदी गाउँपालिका वडा नं। ५ बाजुङ स्थित भ्याप्लेमा सडक माथिबाट झरेको पहिरोका कारण गएरातीदेखिनै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ठुला ढुङ्गाहरू सडकमा झरेका कारण तत्काल सडक खुलाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो । उहाँका अनुसार वर्षा नरोकिएकाले  सडक खुलाउन समस्या भएको छ । त्यस्तै सोहि स्थान भन्दा केही अगाडि मोदीखेतमा पनि सडकमा ढुङ्गा झरेर अवरुद्ध भएको छ । भ्याप्लेको पहिरो पन्छाएपछि उक्त ढुङ्गा पन्छाएर सडक खुलाइने बताइएको छ ।

सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङबाट अन्य छुटेका सवारीसाधनहरु आम्वोटमा र अन्यत्रबाट धौलागिरिका चार जिल्लाका लागि आएका सवारीसाधन र यात्रुहरू पाती चौरमा अलपत्र बनेका छन् ।