• १३ साउन २०८१, आइतबार

राजधानीका लागि जग्गा एकीकरण

blog

दिवाकर पोख्रेल

देउखुरी, भदौ १२ गते । लुम्बिनी प्रदेश राजधानी निर्माणका लागि जग्गा एकीकरण आयोजना सञ्चालन थालिएको छ। प्रदेश पूर्वाधार विकास प्राधिकरणले दाङको भालुवाङमा जग्गा एकीकरण मुख्य आयोजनाको कार्यालय नै स्थापना गरेको छ। 

प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीले उक्त आयोजनाको कार्यालयको उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री केसीले राजधानीसँग जोडिएको जग्गाको काम मुख्य कार्यालयबाट हुने बताउनुभयो।

राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं. १, २ र ३, शीतगङ्गा नगरपालिका वडा नंं. ८ र ९ गरी जम्मा १४ वडाको जग्गा एकीकरण हुन थालेको हो। चालू आर्थिक वर्षमा सात सयदेखि एक हजार बिघा जग्गा एकीकरण गरिनेछ। 

जग्गा एकीकरणका लागि पालिका र वडास्तरमा १४ वटा विभिन्न समिति गठन गरिएका छन्। समितिले वडास्तरमा आइपर्ने समस्या र समाधानका विकल्पहरू निकाल्नेछन्। जग्गा विकास कार्यक्रम सञ्चालन गर्न सहजीकरण समितिको अवधारणा ल्याइएको छ। 

जसमा वडाध्यक्ष संयोजक हुने, स्थानीय क्रियाशील राजनीतिक दलका प्रतिनिधि र उपभोक्ताहरूबाट सहजीकरण समिति बन्नेछ। गाउँपालिका अध्यक्ष संयोजक रहने गरी मूल समिति गठन गरिएको छ। 

त्यस्तै मुख्यमन्त्री अध्यक्ष रहने गरी उच्चस्तरीय निर्देशक समिति रहेको छ। राजधानी क्षेत्रको पुरानो नक्सा खारेज गरेर नयाँ नक्सा निर्माणको काम भएकाले यसलाई सावधानीका साथ अघि बढाउन थालिएको छ।