अजय साह
गौशाला (महोत्तरी), साउन ५ गते । गौशाला नगरपालिका –५ मा गोरु तथा खसीबजारको ठेक्काको विषयलाई लिएर उत्पन्न विवादमा झडप हुँदा चार जना घाइते भएका छन् । झडपमा परी वडा २ का वडा अध्यक्ष श्यामकुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
स्थानीयहरूका अनुसार गोरु तथा खसीबजारमा दुई पक्ष गौशाला नगरपालिका र निगौल गाई गौशाला दुबैले ठेक्का लगाएको कारण ठेक्का वापतको राजस्व सङ्कलनको विषयमा विवाद उत्पन्न हुँदैआएको छ ।
गौशाला नगरपालिका र निगौल गाई गौशालाबिच पशुबजार ठेक्का तथा राजस्व सङ्कलन गर्ने विषयमा विवाद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । निगौल गाई गौशालाले कर्मचारी खटाएर राजस्व सङ्कलन प्रक्रिया अगाडि बढाउँदा नगर प्रहरीले अवरोध गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालयबिच २०७० मा गोरु र खसीबजार ठेक्काबापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरेको छ ।
तर गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशुबजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताउनुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वडा नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दैआएको छ । पशुहाट लगाइने ठेक्काबाट २५ प्रतिशत रकम नगरपालिकाले गाई गौशालालाई दिने सहमति गरेको छ ।
निगौल गाई गौशालाले नगरपालिकाले बाँकी रकम समेत उपलब्ध नगराई जबर्जस्ती वजार ठेक्का लगाएर राजस्व असुल्दै आएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आदेशअनुसार सो बजारको रकम उठाउन खोजेपछि विवाद सिर्जना भएको स्थानीयको भनाइ छ ।