• ८ मंसिर २०८१, शनिबार

पाटन नगरपालिकाको मनपरी कर, एउटा खसीमा दुई सय

blog

पाटन नगरपालिकाले खसी र आर्गनिक आलुमा लिएको निकासी कर । तस्बिरः गोकर्ण दयाल

बैतडी, भदौ १२ गते । स्थानीय तहको सरकारले बाटै पिच्छे ढाट राखेर खसी, आलु र तरकारी बेच्दा मनपरि कर लिन थालेका छन् । बैतडीको पाटन नगरपालिकाले अनारखोली सडकमा निकासी कर लिन ढाट राखेर एउटा खसीको दुईसय रुपियाँ र आर्गनिक आलुमा प्रति क्विन्टल एकसय रुपियाँ कर लिन थालेपछि किसान मर्कामा परेका छन् ।

बिहीबार ४० क्विन्टल आलु बेच्दा चार हजार रुपियाँ कर तिर्नु परेको पाटन नगरपालिका–९, का किसान मोहन बिजलेले पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “खसीको दुई सय रुपियाँ कर लिने गरेका छन् । आर्गनिक आलुको प्रति क्विन्टल एकसय रुपियाँ, मह र घ्यूमा बेच्दा प्रति किलो पाँच रुपियाँ कर लिने गरेको छ । 

बैतडीको पाटन नगरपालिकाले नगर क्षेत्रभित्रको मात्रै होईन, बझाङबाट बैतडीको अनारखोली हुँदै धनढी जादै गरेको ८० क्विन्टल आलुको आठ हजार रुपियाँ कर लिएको  तथ्य फेला परेको छ । त्यसै गरि दोगडाकेदार गाउँपालिकाले सिल्लेगडा सडकमा ढाट राखेर कृषि उपजमा कर लिदैं आईरहेको छ । यस अघि पञ्चेश्वर गाउँपालिकाले छिमेकी शिवनाथ गाउँपालिकामा बिक्रि भएको खसीको एस सय रुपियाँ कर लिएको किसानले गुनासो गरेका छन् । यसरी स्थानीय सरकारले कृषि उपजमा ढाड सेक्ने गरि निकासी कर लिएपछि  किसान असन्तुष्ट बनेका  छन् ।  

बझाङबाट धनगढी निकासी हुँदै गरेको ८० क्विन्टल आलुको पाटन नगरपलिकाले आठ हजार रुपियाँ कर लिएको सुन्दा अचम्म लागेको कृषि ज्ञानकेन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर बिष्टले बताउनुभयो । 

उहाँले भन्नुभयो,“ बझाङको ४० टन आलु काठमाडौं पठाउने तयारी गर्दै छौं । स्थानीय सरकारले यसरी नै कर लियो भने त चार लाख रुपियाँ बाटोमै सकिने भयो । यस्तो चर्को करको दर हेरफेर गर्नु पर्छ । तरकारीमा कर नलिएन पनि हुन्छ । योत सडेर जाने चिज हो नि ?”

नगरपालिकाले खसी, तरकारी लगायत कृषि उपजमा चर्को कर लिएको विषयमा पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले अघिल्लो स्थानीय सरकारले राजपत्रमै प्रकाशित गरेर करको दर निर्धारण गरेकाले तुरुन्तै हेरफेर गर्न सकिने सम्भावना नभएको बताउनुभयो । 

नगर प्रमुख रावलले भन्नुभयो,“ करको विषयमा किसानको  गुनासो आएको छ । म एक्लैले कर हेरफेर गर्न सक्दिन । कार्यपालिकाबाट पास गरेर राजपत्रमै करको दर घटाउने निर्णय भयो भने हुने कुरा हो । यो विषयमा कार्यपालिकामा छलफल हुने छ ।”

पाटन नगरपालिकाले अनारखोली बजारमा ढाट राखेर खसी, बोका र राँगा, दाल तरकारी, आर्गनिक आलु, मह, घ्यू, मकै, फलफूल र जडिबुटी लगायत ३० वटा शिर्षकमा निकासी कर लिदैं आईरहेको छ ।  कर सङ्कलन गर्न वार्षिक रुपमा बोलपत्र आह्वान गरेर ठेक्कामार्फत निकासी कर सङ्कलन हुने गरेको पाटन नगरपालिकाले जनाएको छ । 

Author

गोकर्ण दयाल