काठमाडौं, भदौ १० गते । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको मागपुरा गर्न सकेको छैन ।
दैनिक एउटा रेल दुईपटक आउने र जाने गर्दा धेरै यात्रु चाहेर पनि रेल चढ्न पाइरहेका छैनन् । झण्डै तीन सय सिट क्षमता रहेकामा खाँदिएरसमेत झण्डै सात सय यात्रु चढिरहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । दुई रेल भए पनि नियमितरुपमा एउटा मात्रै सञ्चालन गर्न सकिएको कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । उहाँका अनुसार नियमित मर्मतका लागि र एउटा रेल बिग्रँदा अर्कोले सहायता गर्नुपर्दा एउटा मात्रै नियमित सञ्चालन हुँदै आएको छ । यहाँ बसलगायतका सवारीसाधन नियमित नभएको र भाडादर पनि बढी हुँदा यात्रु रेलप्रति नै आकर्षित रहेका छन् । उहाँले भन्नुभयो, “अबका महिनामा यात्रु अझै बढ्ने भए पनि रेलको क्षमता नै कम छ ।”
यो खण्डमा रेलको पूर्वाधार विसं २०७८ चैत १९ शुभारम्भ भएर त्यसको भोलिपल्टबाट नियमित सञ्चालन भएको थियो । ट्याक निर्माण सकिएको र रेल सेट खरिद गरेर पनि लामो समयसम्म त्यसै रहेकाले पनि तत्काल सञ्चालन गर्नु चुनौती रहेको प्रमुख झाले बताउनुभयो । उहाँले भन्नुभयो, “झण्डै १० वर्षदेखि त्यहाँ रेल चल्न सकेको थिएन र नेपाल भारत सीमामा रेल त्यसै छोपेर राखिएको थियो ।”
रेल खरिद पहिले नै संरचनागत सुधार गर्नुपर्ने भए पनि त्यो नगरी हतारिएर खरिद भएको प्रमुख झाले बताउनुभयो । ट्याक बनिसकेको र रेल खरिद भएकाले जनस्तरबाट दबाब रहेको र तत्काल सुरु गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन, रेलको वास सेन्टर, फ्युल स्टेशन, वासिङ सेन्टर बनाउनुपर्नेलगायतका संरचना विकास गर्नुपर्ने थियो । तर संरचना नबन्दै रेल चलाउन थाल्नुपर्ने भयो ।”
आजसम्म पनि रेलका विभिन्न संरचना बन्न बाँकी छ । यसअघिको व्यवस्थापनबाट भारतको कोनकोन रेल्वे कर्पोरेशन लिमिटेडसँग करार सम्झौता भएको भए पनि रकम अभावका कारण खरिद हुन नसकेको प्रमुख झाले बताउनुभयो । आवश्यक संरचना निर्माणका लागि प्रक्रिया सुरु गर्दा रेल चलाउन झण्डै चार/पाँच महिना ढिलाइ हुनसक्ने र रेल कहिले चल्छ भनी धेरैको उत्सुकता रहेको थियो । उहाँले भन्नुभयो, “त्यतिबेला रेल तत्काल चलाएर आवश्यक सुधार गर्ने सोच बनाइएको थियो ।”
अहिले धनुषा जिल्लामा पर्ने कुर्थाबाट ३४ दशमलव नौ किमी ट्याक सञ्चालनमा छ । बर्दिवासको बिजुलपुरासम्म १७ किमीमा ट्याक निर्माण सकिएर सञ्चालन गर्न हुने भएको छ । बिजुलपुराबाट बर्दिवाससम्म १८ किमीमा पनि रेलमार्ग निर्माण हुने र अबको केही वर्षपछि ७० किमी रेल चलाउनुपर्नेछ । उहाँले भन्नुभयो, “त्यहाँ आवश्यकता र मागका आधारमा रेल पनि सानो रहेको छ ।”
अहिले एउटा रेलमा उभिएर र बसेर गरी झण्डै ६५० जनासम्म अटाउँछन् । अहिले कम्पनीसँग दुई थान रेल सेट रहेको छ । दुवै रेल सातामा एकएक दिन गरी दुई दिन नियमित मर्मतका लागि पठाइन्छ । आइतबार एउटा र एउटा सोमबार पठाइने गरिन्छ । मर्मतको दिनमा रेल दिनभर ‘सर्भिस सेन्टर’ हुने र चलाउन नसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नियमितरुपमा दुई रेल चलाउन हामीसँग तीन वटा हुनुपर्छ ।”
रेल सञ्चालन गर्दा यात्रुबाहक रेलसँगै मालबाहक रेल आवश्यकपर्ने प्रमुख झाले बताउनुभयो । अहिले एउटा रेल दुई पटक आउने र जाने गरेकामा टिकटबाट झण्डै रु सात करोड आम्दानी हुन्छ । तीन पटक चलाउँदा बढीमा रु १० करोडसम्म आम्दानी हुनसक्ने र मालबाहक चल्दा थप रकम आम्दानी हुनसक्ने उहाँले बताउनुभयो ।
अहिले रेल सञ्चालनका प्राविधिक कामका लागि भारतीय जनशक्ति करारमा काममा लगाइएको छ । आगामी दिनमा नेपाली जनशक्तिलाई तालिम दिएर दक्ष बनाउँदा महँगो तिरेर अरु देशबाट ल्याउनु ल्याउनु नपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै आफ्नै फ्युलिङ सेन्टर बनाउँदा थप २८ प्रतिशत कर तिर्नु पर्दैन भने वर्कसप बनाउँदा वार्षिक रु १० करोड जोगिन्छ । वासिङ सेन्टर झण्डै एक करोड जोगिन्छ । सरकारले त्यसका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसका लागि हामीले रेल विभागमार्फत मन्त्रालयमा लिखित माग गरिएको छ ।”
विसं २०७७ को फागुन ४ गते मन्त्रिपरिषद्ले भारतीय कम्पनीसँग सम्झौताअनुसार संरचनाका लागि आवश्यक रकम अर्थ मन्त्रालयले निकासा दिने निर्णय गरेको थियो । कम्पनीले अझैसम्म रकम नपाएको र अर्थ मन्त्रालय धाइरहेको उहाँले बताउनुभयो । अघिल्लो व्यवस्थापनले गरेको सम्झौताका लागि सरकारले रकम छुटयाएको थियो । उहाँले भन्नुभयो, “त्यही सम्झौताअनुसार नै पाउनुपर्ने रकम पनि म आएपछि आएको छैन ।”
कुनै पनि संस्थालाई जुनसुकै काम गर्न सरकारले बीउ पुँजी दिने र संस्थालाई आफ्नो खुट्टामा हिँड्ने बनाउने प्रमुख झाले बताउनुभयो । यात्रुको चाप धेरै भए पनि कम्पनीसँग किन्ने पैसा नभएको उहाँले बताउनुभयो । दुई थान हुँदा एक थान मात्रै नियमितरुपमा चलाउन सकिएको हुँदा थप एक हुँदा नियमित दुई चलाउन सकिनेछ । थप एक थान यात्रुबाहक र एक थान मालबाहक रेल चाहिने कम्पनीले माग गर्दै आएको छ । उहाँले भन्नुभयो, “पैसा नभएपछि योजनाले मात्रै गर्न सकिँदैन । यति भए पनि नाफामा लैजान सकिन्छ ।”
रकम निकासको माग गर्दै अर्थ मन्त्रालयमा फेरि पनि फाइल पठाइएको कम्पनीले जनाएको छ । पैसा आएपछि वर्कसप बनाउन नसकिए पनि फ्युलिङ सेन्टर र वासिङ सेन्टर बनाइने उहाँले बताउनुभयो । ती संरचना बनेपछि रु पाँच/सात करोड जोगिन्छ । नेपाली जनशक्ति नियुक्त गर्नका लागि सङ्गठन र व्यवस्थापन ९ओएण्डएम० गर्न टिम बनाएको र त्यसको फाइल मन्त्रालयमा रहेको छ । मन्त्रालयबाट स्वीकृत भएपछि काम गरेर १५/२० दिनमै लोकसेवालाई दिइनेछ । उहाँले भन्नुभयो, “जनशक्तिलाई तालिम गरेपछि आफैँले गर्न सक्छ ।”
घाटा कम गर्न आवश्यक संरचना निर्माण गर्नुपर्ने, कर्मचारी नेपाली नियुक्त गरेर तालिम दिनुपर्ने र व्यवसाय योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । अहिले टिकटबाट उठाइएको पैसा नेपाली कामदार र पेट्रोलियम पदार्थलाई पुग्ने गरेको छ ।
विसं २०७० सम्म जयनगर–जनकपुर न्यारो गेजमा रेल सञ्चालन भएको थियो । न्यारो गेजलाई ब्रोड गेजमा स्तरोन्नति गर्न भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगर–वर्दिबास ७० किमी खण्डमा निर्माण सुरु भएको थियो । सो मध्ये आधा सम्पन्न भइसकेको छ ।