• १२ असार २०८१, बुधबार

भीर छिचोलेर विद्यालय धाउँदै

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, भदौ १० गते । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७, खुर्कोटस्थित जनज्योति माविका विद्यार्थीहरू जोखिमपूर्ण अक्करेभिरको पहिरो छिचोल्दै पढ्न जान आउन बाध्य छन्।

गाउँपालिकाको वडा नं. ६ स्थित हैबार, सुँगुरे, बलेनीलगायतका ठाउँबाट आउने विद्यार्थी उक्त पहिरोको जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका हुन्।

कक्षा ५ मा अध्ययनरत हैवारी निवासी छात्रा दिलमाया श्रेष्ठ वर्षाको बेलामा अक्करेभीरको पहिरोले जहिले पनि सास्ती दिने गरेको गुनासो गर्नुहुन्छ। “अक्करे भीरको पहिरोले पानी परेको बेलामा जहिले पनि पिरलो दिने गरेको छ, कतिखेर पहिरो बसेर यातायात थुनिने ठेगान हुँदैन,” उहाँले भन्नुभयो, “पानी परेको बेला विद्यालयको बस पहिरोबाट वारपार नहुँदा कहिले कहिले त पढाइ पनि छुट्छ।”

“अक्करे भीरमा पहिरो झरेपछि बस चल्दैन,” उहाँले भन्नुभयो, “अनि पढ्न जान पाइँदैन। यो पहिरो नखस्ने बनाइदिए पनि त हुने थियो।” जनज्योति माविलाई बागमती प्रदेश सरकारले सहयोग गरेको बसले पहिरो छिचोल्दै हैबारलगायतका गाउँबाट दैनिक विद्यार्थी बोकेर ल्याउने र पु-याउने गरेको छ। 

दिलमायाका पिता सुमन श्रेष्ठ पनि गाउँमा नै विद्यालय भए पनि अङ्ग्रेजी पढ्न र बस चढ्न पाइने छोरीको हुटहुटीले विद्यालय परिवर्तन गरी खुर्कोटको विद्यालयमा गत वर्ष भर्ना गरिदिएको सुनाउनुहुन्छ। “यताको भन्दा उता (खुर्कोट) कै पढाइ ठीक छ तर सधैँ अक्करे भीरको सास्ती छ,” उहाँले भन्नुभयो।

मध्यपहाडी लोकमार्गको हैबार नजिकैको अक्करे भीरमा वर्षाको समयमा सधैँजसो पहिरो खस्ने भएकाले विद्यार्थीहरूका लागि पहिरो बाधक बन्ने गरेको अर्का स्थानीय अभिभावक शरद आचार्य बताउनुहुन्छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमुल कार्कीका अनुसार यतिखेर विद्यालयमा बालविकासदेखि १२ कक्षासम्म नै पढाइ हुने गरेको छ। विद्यालयमा अध्ययनरत छात्रालाई छुट्टै शौचालय र निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको उहाँले बताउनुभयो।