• १६ भदौ २०८१, आइतबार

तनहुँमा फेरि चितुवा आतंक

blog

चितुवाको आक्रमणमा घाइते बन्दीपुर गाउँपालिका-१ उपल्लो फाँटका सुवास परियारका तीन वर्षीय छोरा सुलभ। तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, भदौ ९ गते । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ र ४ का बासिन्दा चितुवाले घरमै आएर निरन्तर बालबालिकामाथि आक्रमण गर्न थालेपछि त्रसित भएका छन्। बुधबार साँझ नरभक्षी चितुवाले वडा नम्बर-१ को  उपल्लो फाँटमा सुवास परियारका तीन वर्षीया छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरेर सख्त घाइते भएपछि फेरि आएर आक्रमण गर्ने डरले आतङ्कित भएका हुन्।

 घाइते बालकको तनहुँको डुम्रेबजारस्थित मोती मेडिकल हलको प्राथमिक उपचारपछि चितवन मेडिकल कलेज भरतपुरमा थप उपचार भइरहेको छ। पटक पटक बस्तीमा डुलिरहने र बालबालिकाई आक्रमण गर्ने गरेकोले आतङ्कित भएको बन्दीपुर गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । गत जेठ १० गते दिउँसो सवा ४ बजे चितुवाको आक्रमणबाट वडा नम्बर-१ को बोडिश्वाँरा बस्ने सुकमाया रिमाली मगर र प्रेमबहादुर रिलामी मगरको ५ वर्षीय छोरा सुप्रिप रिलामी मगरको चितुवाको आक्रमणमा मृत्यु भएको थियो।  चितुवाले दिउँसै बस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय आतंकित बनेको प्रवक्ता श्रेष्ठ बताउनुहुन्छ। 

प्रवक्ता श्रेष्ठका अनुसार दुई महिना अघि वडा नम्बर १ कै बाघदलेमा बस्ने ३४ वर्षीय हिमलाल गरन्जा मगर आफ्नै घरको पिढीमा सुतिरहेको अवस्थामा आक्रमण गरेर घाइते बनाएको थियो। वडा नम्बर ४ को टावर बस्ने सन्तोष थापाकी ८ वर्षकी छोरी रियाना थापालाई घरमै आएर चितुवाले आक्रमण गरेर घाइते बनाएको थियो।  आसपासको बस्तीमा पुनः  चितुवा आउने गरेकाले नरभक्षी चितुवालाई नियन्त्रणमा लिनु पर्ने माग स्थानीय बासिन्दाको छ।   तनहुँमा तीन वर्षको अवधिमा  चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा १२ जना बालबालिकाको मृत्यु भइसकेको छ। हाल फेरि चितुवा आतङ्क बढेर एक बालकको मृत्यु तीन जना घाइते बनाइसकेकोले आतङ्कित भएको श्रेष्ठ बताउनुहुन्छ।  दिउँसै बस्तीमा पसेर मानिसलाई आक्रमण गर्नेक्रम नरोकिएपछि बन्दीपुरका बासिन्दा आतङकित बनेको  वडा नम्बर १ उपल्लोफाँट निवासी वासु पन्थले बताउनुभयो । 

‘बालबालिकालाई विद्यालय आउँदा जाँदा पनि आक्रमण पर्ने त्रास छ, चितुवा आतङ्कले दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएको छ’, पन्थले भन्नुभयो। वि. सं. २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका-३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। आहार जङ्लमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हुनसक्ने डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ। डिभिजन वन कार्यालयले सूचना जारी गर्दै बालबालिकालाई एक्लै नछाड्न, घर नजिक रहेको झाडी सफा गर्न र अध्यारोमा नहिँड्न अनुरोध गरेको छ। 

तनहुँका पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट १२ जना बालबालिकाको मृत्यु भइसकेको छ। आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने गरेकोले वन्यजन्तुको शिकार नर्गन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ। चितुवा पानीको खोजीमा समेत मानव वस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहान संरक्षण गर्दै पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ।  

चितुवा आतङ्क रोक्नका लागि अनेक प्रयास गरिए पनि सफल हुन सकेको छैन। बन्दीपुरमै गतवर्ष चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको थियो। केही समय रोकिएको चितुवा आतङ्क फेरि सुरु भएको हो। घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्। चितुवाको आक्रमणबाट २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दीपुरमा तीन र शुक्लागण्डकीमा दुई गरी १२ बालबालिकाले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जनाएको छन्। भानु नगरपालिकाको १, २, ३ र ४ वडा क्षेत्रमा चितुवाको आतंक बढी थियो।