• १६ भदौ २०८१, आइतबार

भेटी चढाइएका सुनचाँदी सार्वजनिक

blog

मन्दिरमा चढाइएको गरगहना । नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, भदौ ६ गते । कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ । 

गुठी व्यवस्थापन समितिमा नयाँ नेतृत्व आएपछि २०७७ कात्तिक २८ गतेदेखि यता मन्दिरमा भेटी स्वरुप चढेको सुन चाँदीको गरगहना सार्वजनिक गरेको हो । गुठीको इतिहासमा मन्दिरमा चढेको सुनचाँदी विरलै सार्वजनिक हुने गर्छ । 

हालको समिति आउनुपूर्व मन्दिरमा चढेको सुनचाँदी मालपोत कार्यालयमा बुझाउने चलन थियो । नयाँ समितिले बैंकको लकर भाडामा लिएर आफँै व्यवस्थापन गर्न थालेको छ । डेढ वर्षको अवधिमा  थप चाँदीको तिलहरी १० वटा, चाँदीको जलपवाला पाउजु एक वटा, सुनको तिलहरी आठवटा सानो, चन्द्रहार जन्तर माला एकवटा सुनको जलपवाला तिलहरी एकवटा चढेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाले जानकारी दिनुभयो । 


सानो सानो टुक्राको रुपमा चढेको सुनलाई एकीकृत गरी तौल गरे पनि माला वा तिलहरी बनाएको सुनलाई त्यही स्वरुपमा राखिएको छ । मन्दिरमा आधुनिक र व्यवस्थित संग्राहलय निर्माण भए पनि त्यसको व्यवस्थापन गरिको अध्यक्ष खडकको भनाइ छ । विगतमा चढेका सुनचाँदीको अपुरो विवरण मालपात कार्यालयसँग पनि छ । मालपोत कार्यालयमा रहेको सुनचाँदी सार्वजनिक गर्न माग गरे पनि सफल नभएको अध्यक्ष खडकाको भनाइ छ । 

मालपोत कार्यालयले मन्दिर सञ्चालनदेखि हालसम्म कुन मितिमा के कति सुनचाँदी भेटीको रुपमा चढ्यो भन्ने तथ्याङक अद्यवधि गर्न नसक्नु दुःख पक्ष भएको राजनीतिक अभियन्त महेन्द्र आचार्यले बताउनुभयो । डेढ वर्षको अवधिमा यति धेरै सुनचाँदी संकलन भएको रहेछ’ उहाँले भन्नुभयो–‘मन्दिर सञ्चालन भए यता कति भएको होला, त्यसको चित्तबुझदो जवाफ छैन ।’

२०७७ सालअघि मन्दिरमा चढेका गहना मालपोत कार्यालयमा बुझाउने नियम थियो । उक्त नियम अनुसार मालपोतमा दाखिला गरेको समेत अध्यक्ष खड्काले जानकारी दिनुभयो । 

‘केही सामग्री पूजाको बेला चाहिने भएर मन्दिरमा थिए, केही प्रभु बैंकको लकरमा राखिएको थियो’ खड्काले भन्नुभयोे, ‘सरोकारवालाको समन्वय र छलफलपछि ती गहनालाई के गर्ने भन्ने निर्णयमा पुगिन्छ ।’ कालिकाको पूजा गर्न आउने भक्तजनले फूल प्रसादबाहेक भाकलमा गहनासमेत चढाउने चलन छ । 

मन्दिरमा चढाइने भेटी रकम हरेक दिन र मासिक सार्वजनिक गर्ने चलन छ । गुठीका अनुसार साउन महिनामा मात्रै १३ लाख २९ हजार रुपैयाँ आर्थिक संकलन भएको  छ ।  उक्त कमाइबाट नौ लाख ४४ हजार खर्चेर तीन लाख ८५ हजार रुपियाँ बचत भएको गुठी व्यवस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माले बताउनुभयो ।