• १३ साउन २०८१, आइतबार

मिटर ब्याजी अनुरुदको ससुरालीबाट ७१ लाख बढीको कपाली तमसुक बरामद

blog

काठमाडौं माइतीघर मण्डल क्षेत्रमा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान । तिस्बर : फाइल

जलेश्वर, भदौ ६ गते । महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जिल्लाको मिटर ब्याजी अनुरुद साहको ससुराली घरबाट ७१ लाखभन्दा बढीको कपाली तमसुक बरामद भएको छ । प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उहाँले १३ जनासँग मिटर ब्याज चलाएर रु बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढ वर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उहाँ फरार हुनुभएको थियो ।

शनिबार पक्राउ परेका उहाँ ससुराली घरबाट रु एकहत्तर लाख चौवालीस हजार ३५० रुपियाँको नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको हो । उहाँले रु ५० हजारका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए  ।

यसैगरी,  निज  साह उपर २०७७ माघ २९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले रु बयालिस लाख ९२ हजार १९० रुपियाँ बाराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उहाँलाई अदालतले रु एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सो मुद्दा अझै पनि अदालतमा बिचाराधीन छ । मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै, साहविरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताउनुभयो ।