• ११ असोज २०८१, शुक्रबार

एमालेका लागि झापा मक्का मदिना : अध्यक्ष ओली

blog

लीलाराज खड्का

बिर्तामोड, भदौ ४ गते ।  पूर्व प्रधानमन्त्री तथा  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा  जिल्ला एमालेका लागि सधैं मक्का मदिना भएको   बताउनुभएको छ । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको शनिबार उदघाटन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताउनुभयो । झापाले देश निर्माणको लागि र राजनैतिक चेतका लागि भूमिका खेलिरहेको उहाँले बताउनुभयो । 

एमालेको उदगमस्थल झापा भएको भन्दै झापा सहिद भूमि र चेतनाको भूमि समेत भएको उहाँले दावी गर्नुभयो । आगामी निर्वाचनमा महिलालाई झापा विद्रोहको जिल्ला भएको पार्टीको सन्देश लिएर मतदाताको घरमा जान अनुरोध गर्नुभयो । 

नारी शक्ति उठेर सबैखाले गठबन्धनलाई परास्त गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो । महिला दिदीबहिनी बिचारमा स्पष्ट हुने भन्दै एमाले मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी भएको जिकिर गर्नुभयो । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही असर गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ छ । एमालेलाई  जोगाएर अहिलेको अवस्थासम्म पुर्‍याउनमा युवा र महिलाको भुमिका रहेको उहाँले बताउनुभयो । 

निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही असर गर्न नसक्ने अध्यक्ष ओलीको भनाइ छ ।

एमाले पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने र पार्टी बचाउने खास भुमिका महिलाको रहेको अध्यक्ष ओलीले बताउनुभयो । “केन्द्रदेखि तल्लो तहसम्म पनि  पार्टीमा पुरुषहरू धेरै लरबराए तर महिला बहुत कम मात्रै लरबराए” अध्यक्ष ओलीले बताउनुभयो ।  

अध्यक्ष  ओलीले अहिलेको एक मात्र लक्ष मङ्सिरमा चुनाव जित्ने हुनुपर्ने भन्दै  झापा जिल्लाले देशभरिलाई दृष्टान्त दिने गरी भूमिका खेल्नुपर्नेमा समेत ओलीले   जोड दिनुभयो ।