• ७ पुस २०८१, आइतबार

भलिबल खेलमा योगदान गर्ने सम्मानित

blog

भलिबल संघ म्याग्दीद्वारा सम्मानित खेलाडीहरु । तस्बिर : गोरखापत्र

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ ४ गते । भलिबल खेलको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई जिल्ला भलिबल संघले एक कार्यक्रमबीच सम्मान गरेको छ । भलिबल संघ म्याग्दीले आफ्नो कार्यालय उद्घाटन एवं सम्मान कार्यक्रमको आयोजना गरेर सात जनालाई सम्मान गरेको हो ।

भलिबल खेल क्षेत्रमा योगदान पुर्‍याउँदै देशलाई पदक दिलाउन सफल राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही, भलिबल प्रशिक्षक एवं रेफ्री डीबी नेपाली, म्याग्दी जिल्लाका पूर्व कप्तान मुन्ना केसी, जिल्ला भलिबल संघको डेढ दशक सम्म अध्यक्ष रहनुभएका निवर्तमान अध्यक्ष रमेशकुमार श्रेष्ठ, निवर्तमान सचिव विनय श्रेष्ठ, खेलकुद विकास समिति म्याग्दीका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्मा र पूर्व खेलाडी गंगा केसीलाई सम्मान गरिएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले राष्ट्रिय खेलकुदका रुपमा रहेको भलिबलको माध्यमबाट राष्ट्रलाई स्वर्ण तथा रजट पदक दिलाउन सफल राष्ट्रिय भलिबल टिमका कप्तान अरुणा शाही, प्रमुख खेलाडी कमला पुन, पुरुष भलिबल तर्फ मिलन मल्ल, राजु शेचरन एवं पछिल्लो समयका सुजन चोखाल, पवित्रा विसी जस्ता प्रतिभाशाली खेलाडीहरु म्याग्दीमै जन्मेको बताउनुभयो ।

म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगीतामा महिला भलिबल खेल म्याग्दीमा संचालन गर्न माग समेत गरिएको पनि बताउनुभयो ।