• १३ साउन २०८१, आइतबार

नदी कटानले बस्ती जोखिममा

blog

नारद कोहार

तौलिहवा, भदौ ४ गते ।  कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बेल र गुडरुङ नदीको कटानका कारण दरखसवा गाउँका ७५ घरपरिवार उच्च जोखिममा रहेका छन्। दुइटै नदीले पूर्व र पश्चिमबाट वर्षौंदेखि कटान गर्दा गाउँबस्ती नै विस्थापित हुनुपरेको छ। 

कपिलवस्तु हरिहरपुरका ६० वर्षीय बुदई नाउँ नदीको कटनाका कारण बर्सातको समयमा रातभर जागाराम बस्न बाध्य भएको गुनासो गर्नुहुन्छ। नदी कटानलाई समयमा नियन्त्रण गर्न सकिएन भने गाउँ नै विस्थापित हुने भनाइ नाउँको छ। 

अर्का स्थानीय विष्णु मल्लाहको पनि नदी कटानको कम पीडा छैन। उहाँले भन्नुभयो, जनप्रतिनिधिलाई कति गुहा-यौँ। कहीँ कतैबाट सुनुवाइ भएन। स्थानीय तहसँग थोरै बजेट भएकाले नदी नियन्त्रण गर्न निकै नै समस्या परेको स्थानीय जनप्रतिनिधि बताउँछन्। 

नदी कटान नियन्त्रण गर्न ठूलो समस्या रहेको उहाँको भनाइ छ। बेल र गुडरुङ नदी नियन्त्रण गर्न सरकारी तवरबाट खासै पहल नहुँदा दरखसवा गाउँ उच्च जोखिममा परेको हो।  

दुइटै नदीको कटान नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारले तत्काल ध्यान दिनुपर्ने स्थानीय दिनेश तिवारीले बताउनुभयो। हरिहरपुरको दरखसवा मात्र होइन राजमार्ग दक्षिणका धनकौली, कजरहवा, पर्सोहिया, वसन्तपुर, सिहखोरलगायतका गाउँसमेत बर्सेनि जोखिममा पर्दै आएका छन्। 

बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ भन्नुहुन्छ, नदी नियन्त्रणका लागि सम्बन्धित निकायले समयमै प्रभावकारी कदम नचाले कुनै दिन ठूलै विपत्ति नआउला भन्न सकिन्न। 

नगरपालिकाले बेलनदीमा काटन नियन्त्रण गर्न तार जाली, ढुङ्गासहितको बाँध निर्माणको प्रयास गर्दै आएको छ तर यो पर्याप्त छैन, उहाँले थप्नुभयो, कटान नियन्त्रण गर्न नगरपालिकाको बजेटले सम्भव नभएको कारणले प्रदेश र सङ्घ सरकारसँग आग्रह गर्नुपरेको हो।