• १३ साउन २०८१, आइतबार

आम्दानी बढाउन बाख्रा पालन

blog

रमेश विश्वकर्मा 

गुल्मी, साउन १३ गते। गुल्मीमा कृषकको आम्दानी वृद्धि ल्याउनका लागि बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको छ। बालीवस्तु विशेष सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रम अन्तर्गत पशुपालन व्यवसायतर्फ बाख्रा पालनको प्रवर्द्धन र व्यावसायिक उत्पादन गरी कृषकको आयस्तरमा वृद्धि गर्ने उद्देश्यसहित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बाख्रा पालन कार्यक्रमलाई तीव्रता दिइएको हो। 

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर–५, बरडाँडास्थित लाखुरी रुख पशुपन्छी पालन समूहमार्फत बाख्रा पालन कार्यक्रम सुरु गरिएको छ। गत आर्थिक वर्ष २०८०/०८१ मा लुम्बिनी प्रदेश सरकार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट बाख्रा पालन कार्यक्रम सञ्चालनमा ल्याइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका कार्यालय प्रमुख हुमकान्त पाण्डेयले बताउनुभयो। 

यसका लागि २५ लाख रुपियाँ बजेट विनियोजन गरी कृषकहरूलाई बाख्रा पालनको लागि खोर निर्माणदेखि बीउ बाख्रा समेत उपलब्ध गराइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले भौतिक पूर्वाधार र मेसिनरी औजार खरिदमा ७५ प्रतिशत अनुदान सहयोग गरेको छ। बाख्रा पालन कार्यक्रममा नस्ल सुधार, पोषण आहार, क्षमता विकास र पशु स्वास्थ्य उपचार लगायतको कामका लागि शतप्रतिशत अनुदान सहयोग गरिएको उहाँले बताउनुभयो। 

समूह मार्फत २४ वटा नयाँ बाख्राको खोर निर्माण, दुई वटा प्रजननको लागि उन्नत बोका खरिद, छ वटा च्यापकटर खरिद तथा ढुवानी, छ वटा कम्बाइन मिल खरिद तथा ढुवानी, घाँसको बिउ तथा चार हजार सेट बेर्ना समेत खरिद गरिएको छ। औषधि खरिद तथा बाख्रापालन सम्बन्धी कृषकहरूलाई एक दिने तालिम उपलब्ध गराइएको छ। 

यस समूहमा हाल ३६० वटा बाख्रा रहेका छन्। बाख्रा पालन कार्यक्रमबाट बरडाँडाका ४० घरपरिवार लाभान्वित भएका छन्। समूह मार्फत वार्षिक करिब १०० खसीबोका बिक्री गरी कृषकको आम्दानी बढाउने लक्ष्य राखिएको छ। समूहमा आबद्ध किसान खुसी भएका छन्। कृषकले आगामी दिनमा थप कार्यक्रमको माग गर्दै विद्युतको समस्याका कारण चाँपकटर मेसिन चलाउन समस्या परेको लाखुरी रुख पशुपन्छी पालन समूहकी उपाध्यक्ष शान्ता बुचाले बताउनुभयो।