• १९ असार २०८१, बुधबार

सानीभेरीमा र्‍याफ्टिङ सञ्चालन गरिने

blog

रुकुमपूर्व समाचारदाता

रुकुमपूर्व, साउन ३१ गते । रुकुमपूर्वको सानीभेरी नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । सिस्ने गाउँपालिकाले आउँदो मङ्सिर महिनासम्ममा सानीभेरी नदीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याउने भएको हो । 

अहिले र्‍याफ्टिङका लागि सिस्ने गाउँपालिका–६, धाउनेमा सानीभेरी नदीको किनारमा र्‍याफ्टिङका लागि टिकट घर निर्माण भइरहेको छ ।

पर्यटन क्षेत्रको विकासका लागि सानीभेरीमा र्‍याफ्टिङ सञ्चालनमा ल्याउन लागेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटन विभागको १५ लाख रुपियाँ सहयोगमा टिकट घर निर्माणको काम भइरहेको हो । 

आगामी दशैँअघि टिकट घर निर्माणको काम सकेर ढिलोमा मङ्सिरभित्रै र्‍याफ्टिङ सञ्चालनमा ल्याउने योजना रहेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । र्‍याफ्टिङका लागि आवश्यक सामग्री ल्याउन लागिएको पनि गाउँपालिकाले जनाएको छ । 

धाउनेदेखि रुकुमपश्चिमको कुनाखेतसम्मको करिब आठ किलोमिटरमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । र्‍याफ्टिङ सञ्चालनका लागि गाउँपालिकाले तीन जनालाई एकमहिने तालिमसमेत गराइसकेको छ । 

गएको वर्ष सानीभेरीमा र्‍याफ्टिङ सञ्चालनको परीक्षण गरिएको थियो । र्‍याफ्टिङ सञ्चालनका लागि परीक्षण पनि सफल भएको छ ।  चालू आर्थिक वर्षमा गाउँपालिकाको नीति तथा कार्यक्रममा पनि र्‍याफ्टिङ सञ्चालनलाई समेटिएको छ । साथै र्‍याफ्टिङ सञ्चालन व्यवस्थापनका लागि चार लाख रुपियाँ बजेट पनि विनियोजन गरिएको छ । 

पर्यटनको प्रचुर सम्भावना बोकेको यस जिल्लामा पहिलो पटक र्‍याफ्टिङ सञ्चालनमा ल्याउन लागिएको हो । यसबाट पर्यटन क्षेत्रको विकास हुनुका साथै आन्तरिक र बाह्य पर्यटकलाई भिœयाउने गाउँपालिकाको उद्देश्य रहेको छ ।