• ७ मंसिर २०८१, शुक्रबार

भक्तपुरमा गाईजात्रा (सापारु) पर्व

blog

यलु जोशी

भक्तपुर, साउन २९ गते । भक्तपुरका नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई नगर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने गाईजात्रा (सापारु) पर्व शुक्रबारबाट सुरु भएको छ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको श्रावण शुक्ल प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि सुरु भएको हो। गाईलाई विधिवत् रूपमा नगर परिक्रमा गराएमा दिवंगत आत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।

भक्तपुरको गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच भएकाले जात्रा हेर्न यहाँ भीड लाग्ने गरेको छ। सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा रहेको भक्तपुर महाकाली नाचका मूल नाइके तुल्सी दण्दख्वाले जानकारी दिनुभयो। आठ रात नौ दिनसम्म चल्ने गाईजात्रा प्रत्येक वर्ष जनैपूर्णिमाको साँझ तलेजु मन्दिरबाट घिन्ताङकिसी नाचको प्रदर्शनसँगै सुरु हुने संस्कृतविद् ओम धौभडेलले जानकारी दिनुभयो। वर्षभरिमा मृत्यु भएका परिवारको तर्फबाट गरिने घिन्ताङकिसी नाचमा हजारौँ टोलीले नगरभरि लट्ठी जुधाएर यसको प्रदर्शनी गर्ने गदर्छन्। 

हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालिएपछि यमलोकको ढोका खुल्ने र मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने उल्लेख गरिएको धौभडेलले जानकारी दिनुभयो। नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् डा.चुन्दा बज्राचार्यले जानकारी दिनुभयो। 

आमाको निधन भएकाले दूध दान दिनुपर्छ भने बुवाको निधन भएको छ भने रोटी केराउ दान दिनुपर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ। राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई संसारले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।