निर्वाचनलाई लोकतन्त्रको मेरुदण्ड मानिन्छ। मताधिकार प्राप्त प्रत्येक नागरिकलाई आफूले चुनेका जनप्रतिनिधिमार्फत शासन व्यवस्थामा प्रत्यक्ष तथा परोक्ष सहभागिता जनाउने अधिकार रहन्छ । नागरिकले बिनाडर, गोप्य तरिकाले आफूले इच्छाएको व्यक्ति वा उम्मेदवार छान्न पाउँछन्। त्यसैले निर्वाचन हरेक नागरिकको मताधिकार प्राप्त गर्ने अवसर हो। नागरिकको चित्तबुझ्दो निर्वाचन सम्पन्न गराउनु निर्वाचन आयोगको कर्तव्य र दायित्व हो। निर्वाचन निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय हुन नसके नागरिकले रोजेका उम्मेदवार निर्वाचित हुन पाउँदैनन्। सही उम्मेदवार निर्वाचित हुन नपाए देश बनाउने काम ओझेलमा पर्छ। मतदाताको रोजाइका आधारमा जनप्रतिनिधि चयन गर्ने विधिसम्मत प्रक्रिया निर्वाचन हो। निर्वाचनले मतदाताको अभिमतलाई प्रतिनिधिका रूपमा रूपान्तरण गर्छ। त्यसैले जनताले रोजेको उम्मेदवार छान्ने औपचारिक विधि हो– निर्वाचन।
पहिलो निर्वाचन
नेपालमा निर्वाचनको सुरुवात स्थानीय निर्वाचनबाटै भएको थियो। वि.सं. २००४ जेठ २९ गते काठमाडौँ म्युनिसिपालिटीको निर्वाचन भएको थियो। त्यसैलाई नेपालको पहिलो निर्वाचन मानिन्छ । काठमाडौँवासीले आफ्नो प्रतिनिधि आफैँ छान्न मताधिकारको पहिलो पटक प्रयोग गरेका थिए। २१ वर्ष उमेर पूरा भएका पुरुषले मात्र मतदानमा सहभागी हुने मौका प्राप्त गरेका थिए। श्री ३ पद्म शमशेरसमक्ष महिलालाई पनि मताधिकार प्रदान गर्न आग्रह नागरिकले गरे पनि अवसर प्राप्त गर्न सकेनन्।
काठमाडौँ म्युनिसिपालिटीलाई त्यतिबेला पूर्वमा धोबीखोला, पश्चिममा विष्णुमती, उत्तरमा महाराजगञ्ज र दक्षिणमा बागमती रहेको चार किल्लाभित्र २१ वटा वडा कायम गरिएको थियो । प्रत्येक वडाबाट एक जनाका दरले २१ जना प्रतिनिधि निर्वाचित भएका थिए। सरकारले मनोनीत गर्ने १० जना गरी जम्मा ३१ जनाको नगरपालिका बोर्ड रहने व्यवस्था थियो। सरकारले गर्ने मनोनीत सदस्यबाट बोर्डको सभापति र निर्वाचित सदस्यबाट उपसभापति छनोट गर्ने व्यवस्थाअनुसार गेहेन्द्रशमशेर थापा सभापति र शङ्करदेव पन्त उपसभापति चयन हुनुभएको थियो।
महिलालाई मताधिकार
वि.सं. २००७ मा नेपालमा पहिलो पटक नगरपालिका कानुन तर्जुमा गरियो। सो कानुनले साबिकको काठमाडौँ म्युनिसिपालिटीलाई पुनर्संरचना गरी १८ वडा कायम गरेको थियो। त्यहीबेलादेखि काठमाडौँ म्युनिसिपालिटीलाई काठमाडौँ नगरपालिका नाम दिइयो। वि.सं. २०१० साल भदौ १७ गते अर्को निर्वाचन भयो। सोही निर्वाचनबाट २१ वर्ष उमेर पुगेका महिलालाई पनि मतदाताका रूपमा सूचीकृत गरियो। निर्वाचनबाट नेपालमा मतदाता र उम्मेदवार हुने अवसर महिलाले पहिलो पटक प्राप्त गरे। सो निर्वाचनबाट साधनादेवी प्रधान महिला जनप्रतिनिधिका रूपमा निर्वाचित हुनुभयो। उहाँ वडा ८ बाट उम्मेदवारी दिई निर्वाचित हुनुभएको थियो। सो वडामा कुल चार हजार ११३ मत खसेको थियो । सोमध्ये दुई हजार ४५५ अर्थात् खसेको मतको ५९.६८ प्रतिशत मत ल्याई उहाँ नेपालको इतिहासमा पहिलो महिला प्रतिनिधिका रूपमा निर्वाचित हुने अवसर प्राप्त गर्नुभयो।
पहिलो प्रतिनिधि सभा निर्वाचन
तत्कालीन नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम पहिलो पटक संसदीय व्यवस्था स्थापना भएको थियो। संविधानमा तत्कालीन श्री ५ महाराजधिराज र महासभा तथा प्रतिनिधि सभा नामका दुई सदनात्मक व्यवस्थाको सदन रहने व्यवस्था थियो। प्रतिनिधि सभामा १०९ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था थियो।
महासभामा प्रतिनिधि सभाबाट निर्वाचित भएर आउने १८ जना र श्री ५ बाट मनोनीत हुने १८ जना गरी कुल ३६ जना रहने व्यवस्था थियो। प्रतिनिधि सभाको पहिलो निर्वाचन २०१५ फागुन ७ बाट सुरु भएर २०१६ वैशाख २१ गते सम्पन्न भयो । नेपालको इतिहासमा पहिलो प्रतिनिधि सभा निर्वाचन यही थियो। सो निर्वाचनमा २१ वर्ष उमेर पूरा भएका मतदाता नामावलीमा नाम समावेश भएका ४२ लाख ४६ हजार ४६८ मतदातामध्ये १७ लाख ९१ हजार ३०१ जनाले मतदान गरेका थिए।
पहिलो आमनिर्वाचनमा विभिन्न नौवटा राजनीतिक दलले भाग लिएका थिए। दलको तर्फबाट ५१८ जना र स्वतन्त्रबाट २६८ जना उम्मेदवारले भाग लिए। तथापि दलको तर्फबाट १०५ र स्वतन्त्रबाट चार जना गरी १०९ जना निर्वाचित भए । सो निर्वाचनमा नेपाली कांग्रेसबाट ७४ जना, नेपाल राष्ट्रवादी गोरखा परिषद्बाट १९ जना, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालबाट पाँच जना, नेपाल कम्युनिस्ट पार्टीबाट चार जना, नेपाल प्रजा परिषद् आचार्य गुटबाट दुई जना, नेपाल प्रजापरिषद् मिश्र गुटबाट एक जना र स्वतन्त्रबाट चार जना निर्वाचित भए। तराई कांग्रेस, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक महासभा दलको तर्फबाट उम्मेदवारी दिएका कोही उम्मेदवार निर्वाचित हुन सकेनन्।
पहिलो महिला सांसद
वि.सं. २०१६ वैशाख २१ गते सम्पन्न पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट डडेल्धुरामा द्वारिकादेवी ठकुरानी निर्वाचित हुनुभयो। उहाँले तीन हजार ९०३ मत प्राप्त गरी निर्वाचित हुनुभयो । आमनिर्वाचनपछि गठन भएको मन्त्रिमण्डलमा उहाँलाई उपमन्त्रीको जिम्मेवारी दिइएको थियो। ठकुरानीले नै नेपालको इतिहासमा पहिलो निर्वाचित महिला सांसद र मन्त्रीमा आफ्नो नाम दर्ज गराउन सफल हुनुभयो।
दोस्रो प्रतिनिधि सभा निर्वाचन
तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ जारी भएपछि २०४८ वैशाख २९ गते दोस्रो प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो। यस निर्वाचनमा २० वटा राजनीतिक दलले भाग लिएका थिए तर आठ दलले मात्र विजय प्राप्त गर्न सफल भए। दलको तर्फबाट एक हजार १२६ र स्वतन्त्रबाट २१९ जनाले उम्मेदवारी दिएका थिए। दलको तर्फबाट २०२ र स्वतन्त्रबाट तीन जना गरी २०५ जना निर्वाचित भए। सो निर्वाचनमा नेपाली कांग्रेसबाट ११०, नेकपा (एमाले)बाट ६९, संयुक्त जनमोर्चाबाट नौ, नेपाल सद्भावना पार्टीबाट छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)बाट तीन, नेपाल मजदुर किसान पार्टीबाट दुई, नेकपा (प्रजातान्त्रिक)बाट दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)बाट एक र स्वतन्त्रबाट तीन जना निर्वाचित भएका थिए। सो निर्वाचनमा एक करोड ११ लाख ९१ हजार ७७७ मतदातामध्ये ७२ लाख ९१ हजार ८४ जनाले मात्र मतदान गरेका थिए। मतदानका लागि सात हजार ३९१ मतदान केन्द्र र छ हजार ६३० उपकेन्द्र निर्धारण गरिएको थियो।
तेस्रो प्रतिनिधि सभा निर्वाचन
२०४८ वैशाख २९ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यको पदावधि नसकिँदै २०५१ कात्तिक २९ गते अर्को निर्वाचन भएको थियो। नेपालमा यो तेस्रो प्रतिनिधि सभा निर्वाचन थियो । सो निर्वाचनमा ६५ वटा राजनीतिक दलले निर्वाचनका लागि दल दर्ता गराए तर २४ वटा दल निर्वाचनमा सहभागी भए। पाँच दलबाट मात्र उम्मेदवार निर्वाचित भए। दलको तर्फबाट एक हजार ५७ जना र स्वतन्त्रबाट ३८५ जनाले उम्मेदवारी दिए पनि दलको तर्फबाट १९८ र स्वतन्त्रबाट सात जना गरी २०५ जना निर्वाचित भए। सो निर्वाचनमा कुल मतदाता सङ्ख्या एक करोड २३ लाख २७ हजार ३२९ रहे पनि ७६ लाख २५ हजार ३४८ जनाले मतदान गरेका थिए। सो निर्वाचनमा नेकपा (एमाले)बाट ८८ जना, नेपाली कांग्रेसबाट ८३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २० जना, नेमकिपाबाट चार जना, नेपाल सद्भावना पार्टीबाट तीन जना र स्वतन्त्रबाट सात जना निर्वाचित भए।
चौथो प्रतिनिधि सभा निर्वाचन
चौथो प्रतिनिधि सभा निर्वाचन दुई चरणमा भएको थियो। २०५६ वैशाख २० र जेठ ३ गते निर्वाचन सम्पन्न भयो। निर्वाचनका लागि एक सयवटा राजनीतिक दलले दल दर्ता गरे पनि ४० दलले भाग लिए । दलको तर्फबाट एक हजार ६०५ र स्वतन्त्रबाट ६३३ जनाले उम्मेदवारी दिए पनि स्वतन्त्रबाट कोही निर्वाचित भएनन्। सो निर्वाचनमा नेपाली कांग्रेसबाट १११, नेकपा (एमाले)बाट ७१, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ११, नेपाल सद्भावना पार्टीबाट पाँच, राष्ट्रिय जनमोर्चाबाट पाँच, संयुक्त जनमोर्चाबाट एक र नेमकिपाबाट एक गरी २०५ जना निर्वाचित भए।
पाँचौँ प्रतिनिधि सभा निर्वाचन
२०७४ मङ्सिर १० र २१ गते दुई चरणमा पाँचौँ प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भयो। गणतन्त्र स्थापनापछिको पहिलो प्रतिनिधि सभाको निर्वाचन पनि यही थियो। यो निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ५५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ राजनीतिक दल सहभागी भए। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ नौवटा दल र समानुपातिक तर्फ पाँचवटा दलले प्रतिनिधि सभामा प्रतिनिधित्व गरे।
सो निर्वाचनमा नेकपा (एमाले)बाट पहिलो हुनेतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी १२१, नेपाली कांग्रेसबाट २३ र ४० गरी ६३, माओवादी केन्द्रबाट ३६ र १७ गरी ४३, राजपाबाट ११ र छ गरी १७, फोरम नेपालबाट १० र छ गरी १६, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पहिलो हुनेतर्फ एक, नेमकिपाबाट पहिलो हुनेतर्फ एक, जनमोर्चाबाट पहिलो हनेतर्फ एक, नयाँ शक्ति पार्टीबाट पहिलो हुनेतर्फ एक र स्वतन्त्र एक गरी १६५ जना पहिलो हुनेतर्फ र ११० जना समानुपातिकतर्फ गरी २७५ जना निर्वाचित भएका थिए।
छैटौँ प्रतिनिधि सभा निर्वाचन
सरकारले छैटौँ प्रतिनिधि सभा निर्वाचन २०७९ मङ्सिर ४ गतेका लागि एकै चरणमा गर्ने गरी तय गरेको छ। तयारी निर्वाचन आयोगले युद्धस्तरमा गरिरहेको छ। राजनीतिक दलका नेताहरू निर्वाचनमा विजयी हुन गठजोडको अभ्यासमा छन्।
अब हेर्न बाँकी छ, निर्वाचनमा कुन दलले विजयी निकाल्न सफल हुन्छन्। दलहरूले गठजोड गरे पनि निर्वाचनमा मतदाताले स्वतन्त्र र गोप्य रूपमा मतदान गर्छन्। त्यसैले निर्वाचनमा मतदाता नै निर्णायक हुन्छन्। कसलाई स्थापित गर्ने र विस्थापित गर्ने निर्णय जनताको हातमा हुन्छ। योग्य, सक्षम र इमानदार प्रतिनिधि छान्नु नागरिकको कर्तव्य हो।