• ८ मंसिर २०८१, शनिबार

सबल सामुदायिक स्कुल

blog

त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा २२२ जना विद्यार्थी सहभागी थिए। तीमध्ये एसईई नतिजाको सबैभन्दा उच्च ग्रेड अर्थात् ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी १७ जना छन्। एसईईको नतिजा सार्वजनिक भएसँगै यस विद्यालयमा कक्षा ११ मा भर्नाको आवेदन दिने विद्यार्थीको घुइँचो लाग्न थालेको छ। सस्तो शुल्कमा स्तरीय शिक्षा भएका कारण आफूहरूले थाम्नै नसक्ने गरी विद्यार्थी भर्ना हुन आउने गरेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल बताउनुहुन्छ। 

उहाँका अनुसार यस विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म चार हजार विद्यार्थी अध्ययन गरिरहेका छन्। जसमध्ये कक्षा ११ र १२ मा मात्रै विज्ञान र व्यवस्थापन विषयमा क्रमशः ४६० र छ सय जना विद्यार्थी अध्ययनरत छन्। मानविकीमा पनि ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। यस पटक पनि सोही सङ्ख्यामा विद्यार्थी भर्ना गराउने योजना रहेको छ। प्रवेश परीक्षाका लागि थाम्नै नसक्ने गरी विद्यार्थीले आवेदन फाराम भरेकाले समस्या परेको कडेलको भनाइ छ। राजधानीमै अब्बलमध्येमा पर्ने अर्को सामुदायिक विद्यालय हो बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय। यस विद्यालयबाट पनि एसईई परीक्षामा ३८३ जना सहभागी भएकामा ४९ जनाले ३.६–४ जीपीए ल्याएका छन्। कक्षा १० सम्मको राम्रो नतिजाका कारण कक्षा एघारमा भर्ना हुन चाहने विद्यार्थीको पनि यस विद्यालयमा उच्च आकर्षण रहेको छ। 

यतिखेर निजी क्षेत्रबाट सञ्चालित विद्यालय कक्षा ११ मा भर्नाका लागि विद्यार्थीलाई विविध प्रलोभन देखाइरहेका छन्। घरदैलो कार्यक्रम गरिरहेका छन्। ठूला–ठूला भवनको फोटोदेखि, स्विमिङ पुल, फुटसल ग्राउन्डलगायतका संरचना देखाएर विद्यार्थी लोभ्याइरहेका छन् तर सरकारी लगानीका सीमित सामुदायिक विद्यालयमा भने थामिनसक्नुको भीड देखिएको छ। उनीहरूले विद्यार्थी तान्न सञ्चारमाध्यमबाट विज्ञापन गर्नुपरेको छैन, भौतिक संरचना देखाएर लोभ्याउनुपरेको पनि छैन। तैपनि यी विद्यालयले भर्ना हुन चाहनेजति सबै विद्यार्थीलाई पढाउन सकेका छैनन्। सीमित भौतिक संरचना र कर्मचारीको अभावमा चाहना भएर पनि आउनेजति सबै विद्यार्थी पढाउन नसकिएको विद्यालयको भनाइ छ। सिकाइ उपलब्धि र नतिजा पनि राम्रो भएका कारण यस्ता विद्यालयमा विद्यार्थी आकर्षण बढिरहेको छ।

राजधानीकै पद्मोदय माध्यमिक विद्यालय, कन्या मन्दिर माध्यमिक विद्यालय, शान्ति निकुञ्ज माध्यमिक विद्यालय कङ्कालिनी माध्यमिक विद्यालय, ललितपुरको आदर्श शौल माध्यमिक विद्यालय, ललितपुरकै त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, बज्रवाराही माध्यमिक विद्यालय, प्रभाव माध्यमिक विद्यालय, प्रगति शिक्षा सदन तथा भक्तपुरको वागिश्वरी माध्यमिक विद्यालय तथा भक्तपुरको मेधा माध्यमिक विद्यालयसहित दर्जन बढी सामुदायिक विद्यालय विद्यार्थी आकर्षणको केन्द्र बनिरहेका छन्। यी विद्यालयमा कक्षा एकदेखि माध्यमिक तहसम्मै भर्ना पाउनसमेत मुस्किल छ। प्रधानाध्यापकको नेतृत्वदायी क्षमता, सबै शिक्षक तथा कर्मचारी समूहको सहकार्य तथा विद्यार्थीकेन्द्रित सिकाइ उपलब्धिका कारण यी विद्यालय सबैको आकर्षणको केन्द्र बनेका हुन्। यी विद्यालय सामूहिक प्रयत्नकै कारण विद्यार्थी र अभिभावकको मन जित्न सफल भएका हुन्। 

चुस्त व्यवस्थापन समिति र जाँगरिला शिक्षक भएका राजधानीका सामुदायिक विद्यालयले भर्खरै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई)मा राम्रो प्रदर्शन गरेका छन्। निजीसँगको तुलनामा सामुदायिकको केही कमजोर देखिए पनि केही विद्यालयको नतिजाले राम्रो गर्न सकिन्छ भन्ने सन्देश दिएको छ। कक्षा १२ को अध्ययनपश्चात् इन्जिनियरिङ, चिकित्सा, व्यवस्थापनलगायतका विषयका प्रवेश परीक्षामा पनि यी स्कुलबाट उत्पादन भएका विद्यार्थीले उच्च अङ्क ल्याइरहेका छन्।

नयाँ भर्नाको समयमा यी विद्यालयमा हरेक वर्ष जम्मा भएका विद्यार्थीको भीडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ। निजी विद्यालयले पढाउने सबैजसो विषयको पढाइ सामुदायिक विद्यालयमा भने हुने गरेको छ। सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याइहाल्ने अभिभावकलाई समेत यस्ता विद्यालयको सफलताको कथाले हौस्याएको छ। “विद्यार्थीको चाप थेगिनसक्नु छ। सीमित स्रोत र साधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौँ,” ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन भन्नुहुन्छ, “सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौँ। विद्यार्थी आकर्षण भए पनि सीमित विषयमा मात्र विद्यार्थी भर्ना लिने गरेका छौं।” उहाँका अनुसार ज्ञानोदयले कक्षा ११ र १२ मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ विषयको पढाइ सञ्चालन गरिरहेको छ। सामान्य धारतर्फ विज्ञान, व्यवस्थापन र कानुन विषयको पढाइ सञ्चालन गरिरहेको छ। एकातिर विद्यालय शिक्षा महँगो भयो भन्दै चिन्तित र अर्कोतर्फ सरकारी स्कुलमा राम्रो पढाइ भएन भन्दै गुनासो मात्र पोखिरहने विद्यार्थी र तिनका अभिभावकका लागि यी विद्यालय उत्कृष्ट शैक्षिक गन्तव्य बनेका छन्। 

भर्नाका लागि दबाब

हरेक वर्ष विद्यार्थी चापका कारण भर्नाका लागि प्रवेश परीक्षा लिनुपर्ने र प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण गराइदिन अनुरोध गर्दै सरकारी कर्मचारीको समेत दबाब खेप्नु यस विद्यालयका लागि सामान्यजस्तै बनिसकेको छ अहिले। विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयका सङ्ख्या दिनप्रतिदिन बढिरहँदा यस्ता विद्यालय अन्य सामुदायिक विद्यालयका लागि समेत उदाहरणीय बनिरहेका छन्।

“शिक्षकले आफ्नो जिम्मेवारी सम्झेर नियमित पढाउनुप-यो। टिमवर्क हुनुप-यो। व्यवस्थापन समितिलगायत विद्यालयसँग सरोकार राख्ने सबै पक्षले जिम्मेवारी राम्रोसँग बहन गरिदिनुप-यो। विद्यालय सुधार्न अन्य नयाँ केही काम गर्नुपर्दैन,” पद्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतम भन्नुहुन्छ, “शिक्षकले जागिरे मानसिकता त्यागेर अवसरका रूपमा लिनुपर्छ। आफू आबद्ध स्कुललाई कसरी सुधार्न सकिन्छ भन्ने भावना सबैमा हुनुपर्छ। यति गर्न सकियो भने समुदायले पनि पत्याउँछ।” तर राज्यले राम्रा गर्ने र नराम्रो गर्ने सबै विद्यालयलाई एकै व्यवहार गरेको छ। राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्न सकिए अझ सुधार गर्न सकिने शिक्षाविद्हरूको धारणा छ। अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएका केही सामुदायिक विद्यालयकै कारण अन्य सामुदायिक विद्यालयप्रति पनि विद्यार्थी अभिभावकको विश्वास बढिरहेको छ। स्वयं विद्यालय र शिक्षकलाई समेत हौसला प्रदान गरिदिएको छ। 

कति लाग्छ शुल्क ?

विद्यार्थी आकर्षण बढ्नुमा स्तरीय शिक्षासँगै सस्तो शुल्क पनि मुख्य कारण रहेको छ। विश्व निकेतनले विज्ञान विषयमा यस पटक कक्षा ११ मा चार सय विद्यार्थी भर्ना गर्ने योजना बनाएको छ तर यस विषयमा कक्षा ११ मा वार्षिक ३५ हजार र कक्षा १२ मा वार्षिक ३० हजार मात्रै तिरे पुग्छ। त्यस्तै यस स्कुलले व्यवस्थापनमा कक्षा ११ मा छ सय विद्यार्थी भर्ना गर्ने योजना बनाएको छ। यो विषय पढ्न कक्षा ११ मा वार्षिक १८ हजार र १२ मा वार्षिक १४ हजार रुपियाँ मात्रै तिरे पुग्ने स्कुलले जनाएको छ। त्यस्तै मानविकी र कानुन विषयमा भने ५० जनाको दरले नयाँ विद्यार्थी भर्ना गर्ने योजना यस स्कुलले लिएको छ। दुवै विषयमा कक्षा ११ र १२ मा वार्षिक रूपमा क्रमशः चौध हजार र १० हजार रुपियाँ तिरे पुग्छ। 

पद्मोदय माध्यमिक विद्यालयमा पनि निजीको तुलनामा निकै सस्तो शुल्क संरचना तोकिएको छ। प्रधानाध्यापक गौतमका अनुसार विज्ञान विषयमा वार्षिक २० हजार तथा व्यवस्थापन, मानविकी, शिक्षा, कानुनलगायतका विषयमा वार्षिक १५ हजार रुपियाँ तिरे पुग्छ। अन्य सामुदायिक विद्यालयको शुल्क संरचना पनि करिब–करिब उस्तै छ।