• ६ पुस २०८१, शनिबार

गाउँपालिकाको बजेट फिर्ता

blog

फाइल तस्बिर

राजन रावत

हुम्ला, साउन २६ गते । आर्थिक वर्ष २०७८/७९ मा सिमकोट गाउँपालिकाको बिकासे बजेट पौने आठ करोड रुपियाँ फिर्ता गएको छ । काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नगर्नु र गाउँपालिकाले मिलान कोष शिर्षकमा बजेट बिनियोजन नगरेपछि बजेट फिर्ता गएको बताइएको छ । 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत आर्थिक वर्षमा गाउँपालिकाको पुँजीगत तर्फको सात करोड ७९ लाख ७७ हजार ६७५ रुपियाँ फिर्ता गएको बताउनुुभयो । पुँजीगत बजेट २१ करोड ८९ लाख ८१ हजार १३७ रुपियाँ बिनियोजित भएकोमा सो रकम फिर्ता गएको उहाँको भनाइ छ । 

गाउँपालिका अध्यक्ष बिजय भण्डारीले बजेट फिर्ता जानुमा मुख्यगरी स्थानीयले काम सुुरु गर्न नसक्नु भएको बताउनुभयो । एक करोड पचास लाख रुपियाँ सिमकोट गाउँपालिका –४ को स्याम्ने बस्ती बिस्तारको बजेट फिर्ता गएको उहाँले बताउनुुभयो । त्यसैगरी निर्माण कम्पनीले काम पूर्ण नगरेका कारण मानसरोवर नमूना माविको भवन र सिमकोट रिङरोडको बजेट पनि फिर्ता गएको छ ।